coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिलोमा दौड प्रतियोगिता

धादिङ – हामी हिलोमा एकछिन उभियौं भने लड्छौं, कसैको आड लिनुपर्छ। तर, धादिङमा हिलोमा दौड प्रतियोगिता भएको छ। नीलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेसीको फराकिलो फाँटमा युवा रोमान्चक तथा साहसिक रुपमा दौडेका छन्।

सहभागीले धान रोप्न सम्याइएका गह्राका कान्दा उक्लिदै र और्लदै चार सय मिटरको दौड पूरा गरेका छन्। ‘धानखेती प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराका साथ’ नेपालमा नै पहिलो पटक राष्ट्रव्यापी रुपमा आयोजना गरिएको खुल्ला हिले दौड प्रतियोगितामा युवाको उत्साहजन सहभागिता रहेको थियो।

महिलातर्फ धादिङ नलाङकी सोनी गुरुङ प्रथम धादिङ धुनीबेसीकी रसिला तामाङ द्वितीय र काठमाडौं पाटनकी निरजला ताम्राकार तृतीय भएकी छिन्। पुरुषतर्फ संखुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगन्जका खिम बहादुर खत्री तृतीय भएका छन्।

प्रतियोगितामा महिला र पुरुषतर्फ नै प्रथम, द्वितीय, र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, ३० हजार, २० हजार ट्रफी मेडल र प्रमाणपत्रका साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा १८ वर्ष उमेर समूहदेखि ४० वर्षसम्मका महिला पुरुष सहभागी थिए।

राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा भएको खेलमा नेपालभरबाट महिलातर्फ २६ र पुरुषतर्फ ८७ जनाले भाग लिएका थिए। लोक खेलअन्तर्गत हिले दौड संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको संघका उपाध्यक्ष किरणकुमार श्रेष्ठले बताए।

‘लोप हुँदै गइरहेको नेपाली लोकखेल परापूर्व कालदेखि चल्दै आइरहेको नियम सिकाउन प्रतियोगिता आयोजना गरिएको हो,’ श्रेष्ठले भने ‘ती खेलका नियम तथा खेल विधिलाई वैज्ञानिक गर्दै लोकखेल संरक्षण र यसको महत्वको प्रचार–प्रसार गर्न टेवा पुग्नेछ।’ आइतबार १६औं धान दिवसको अवसरमा देशभर रोपाइँ गरेर धान दिवस मनाइएको छ। जिल्लाको थाक्रे, सिद्धलेक गाउँपालिकाले पनि रोपाइँ गरेर दिवस मनाएका छन्।

प्रकाशित: १६ असार २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App