coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

एसइईको अनावश्यक उत्साह

एसइई परीक्षाफल प्रकाशन भयो। यो परीक्षाको परिणाम सहर बजारमा पढ्नेहरूमा ‘ए प्लस’ आउँछ कि आउँदैन भन्ने चिन्तन देखिन्छ। ए आउनु अब सामान्य हो रे ! त्यसभन्दा तलकाले धेरै फूर्ति लगाउने ठाउँ रहेनछ। यो नजिताबारे लेख्ने सोचेर किबोर्ड हेर्दै गर्दा एसइईको पूरा रूप के हो ?  सम्झन खोजेँ। आएन। कोसिस गरेँ– स्कुल एक्जामिनेसन इभ्यालुएसन हुनुपर्ला भन्ने लाग्यो। विश्वास लागेन। गुगलको सहारा लिएँ– सेकेन्डरी एडुकेसन एक्जामिनेसन रहेछ। नेपाली अर्थ लगाउन खोजेँ– माध्यमिक शिक्षा परीक्षा। कक्षा ११ र १२ लाई उच्च माध्यमिक भनेपछि माध्यमिक परीक्षा ठीकै होला भन्ने लाग्यो। मेरो दिमागमा आज पनि यो एसएलसी परीक्षा नै हो।

नाम फेरिए पनि परीक्षाको प्रवृत्ति फेरिएको छैन। कुन स्कुलका कति विद्यार्थी पास भए ? यो नै आजका सामुदायिक विद्यालयको चासो हो। अर्थात् विद्यालयको गुणस्तर मापन आज पनि यही परीक्षा हुने गरेको छ। आफ्ना विद्यार्थीले ए र ए प्लस ल्याएका बोर्डहरू हरेक स्कुलमा झुन्डिन थालेका छन्। मानौँ, यो प्रदर्शनी गरिएन भने अर्को साल कुनै विद्यार्थी भर्नाका लागि आउने छैनन्। व्यापार व्यवसाय सबै चौपट हुनेछ। अर्थात् एसइई व्यवसाय सञ्चालनका लागि पनि सरकारले गराउनैपर्छ। यसैमा शिक्षाको व्यापार फस्टाउन सक्छ।

आज पनि मेरो लागि यस अर्थमा यो एसएलसी नै हो– कक्षा १० पुगेका विद्यार्थीलाई थप कक्षा सञ्चालन गरिएकै छन्। यसका नाममा स्कुलले अतिरिक्त शुल्क लिएकै छन्। त्यो शुल्क तिर्न सक्दिनँ, म मेरो सन्तानलाई नियमित कक्षा मात्र पढाउँछु भन्ने छुट अभिभावकलाई छैन। कतिपय आवासीय स्कुलमा त होस्टलमै राखेर पढाउनुपर्छ। यो फेसन अभिभावकका लागि बाध्यता बनेको छ। मानौँ, विद्यार्थीको गुणस्तरको अन्तिम मापन नै यही परीक्षा मात्र हो। यसबाहेक अरू कक्षामा विद्यार्थी राम्रो हुनुपर्छ भन्ने छैन।

मेरो आफन्तका छोराले अघिल्लो साल यही परीक्षा पास ग¥यो। परीक्षा परिणाम पर्खेर बसेका बेला उसको व्यग्रता कम्तीमा ए ग्रेड आउनैपर्छ भन्ने थियो। त्यसका लागि उसले बिहानको खाना कहिल्यै घरमा खान पाएको थिएन। साँझ बेलैमा घर पुग्ने अधिकारबाट ऊ वञ्चित थियो। अझ गणितमा कमजोर छ भनेर हेडसरले भनिदिएका कारण ऊ घर पुग्दा उसको ट्युसन मास्टर उसलाई कुरिरहेका हुन्थे। राति कति बज्थ्यो सुत्दा ? उसैलाई थाहा हुन छाडेको थियो। उसले अपेक्षा गरेको परिणाम पनि आयो। ऊ दंग मात्रै भएन, आफन्तलाई लड्डु पनि बाँड्यो। इष्टमित्रले उसका नाममा पार्टी पनि दिए। खाना खान घरमा पनि बोलाए। आज ऊ ११ मा साइन्सको परीक्षा दिएर बसेको छ र कुन ग्रेड आउला भन्ने कुनै चिन्ता छैन। किनभने यो अब उसको निजी मामिला मात्रै हो। घरपरिवारमा केही हदसम्म चासो होला, नत्र छरछिमेक र आफन्तले कुन ग्रेड आयो भनेर सोध्नेवाला छैनन्। यस वर्षको एसइई परीक्षा परिणाम निस्केको दिन ऊसँग मेरो भेट भयो। छिमेकका भाइबैनीले ए र ए प्लस ल्याएको थाहा पाएको उसको यसपटकको प्रतिक्रिया थियो– ‘अहिले जे जे ल्याए नि के गर्नु ? ११ र १२ मा त्यो ग्रेड ल्याउन् न ! अनि थाहा हुन्छ, ए ग्रेड भनेको के रे’छ !’

एसएलसी पास गरेको ३८ वर्षपछि पनि म सम्झिरहेको छु– यसलाई ‘फलामे ढोका’ भनिन्थ्यो। आज यो त्यस्तो ढोका होइन भनेर हामी विद्यार्थीलाई बुझाउने कोसिस गरिरहेका छौँ। त्यसका लागि कोही फेल नहुने व्यवस्था पनि गरिसक्यौँ। तिमी जाँचमा बस, राम्रोसँग लेख वा नलेख, तिमीलाई फेल गर्ने अब कुनै माइकालाल छैन। त्यसैले आज धेरै आमा परीक्षाका दिन उत्साहित भएका छन्। आमाछोरा वा छोरी एकैसाथ पास भएको खबर छापिन थालेका छन्। नायिकाहरूले राम्रो ग्रेड ल्याएको खबरका साथ सुन्दर तस्बिर मिडियामा देख्न पाइन थालेको छ। यसको कारण के रहेछ भने गणितबाहेक सबै विषयमा २५ प्रतिशत अंक स्कुलले पठाउने रहेछ। वास्तविक परीक्षा ७५ अंकको हुने रहेछ। २५ अंकमा २५ नल्याउने विद्यार्थी यसकारण हँुदैनन्, यसमा स्कुलको इज्जतको सवाल जोडिएको हुन्छ। नत्र कसरी विद्यार्थीले ए ग्रेड ल्याउन् ! फलामे ढोका  पार गरेको होइन, सामान्य माध्यमिक परीक्षा पास गरेको हो भने यति धेरै उत्साहित हुनु पर्ने कारण के हो त ?

मैले नबुझेको अर्को कुरा– कोही फेल हँुदैन तर केही विद्यार्थी कक्षा ११ पढ्न योग्य हँुदैनन्। यो भनेको के हो ? ५ कक्षामा फेल हुन मिल्छ। त्यसको अर्थ कक्षा ६ पढ्न पाइँदैन। ९ कक्षामा पनि फेल हुन पाइन्छ र फेल भएका कारण उसले १० मा पढ्न पाउँदैन। तर १० कक्षामा फेल हुनै पाइँदैन, टेस्टमा होस् वा एसइईमा। तर १६ भन्दा कम जिपिए ल्याउनेले ११ पढ्न पाउँदैन। के त्यसो भए ऊ फेल भएको हो ? यदि होइन र पास भएको हो भने ११ का लागि ऊ किन अयोग्य भयो ? नेपालको शिक्षाको अन्तिम मापन १० पास हो, त्यसभन्दा माथि नपढे पनि हुन्छ ?

एउटा मिडियाकर्मीका नाताले यति सामान्य ज्ञान घुस्न नसकेको मैले नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराईलाई म र मेरा स्रोतालाई केही ज्ञान भरिदिन आग्रह गरेँ। उहाँ सुरुमै तर्किनुभयो। उहाँले अहिलेको परीक्षा प्रणाली आफैँले नै नबुझेको बताउनुभयो र केही स्वनामधन्य शिक्षाविद्हरूको नाम लिएर उनीहरूलाई सोध्न सुझाव दिनुभयो। अब अर्को विकल्प खोज्नु मेरो बाध्यता बन्यो। धेरै ठूला विज्ञसँग आफूले नजानेका कुरा सोध्न धेरै हिम्मत पनि छैन। आफूले मझौला खालका ठानेका ज्ञाताहरूलाई सोध्दा उनीहरू पनि पन्छिए। त्यसपछि म ढुक्क भएँ– नबुझेको त मैले मात्रै होइन रहेछ।

तैपनि केही ज्ञान पाइएला कि भनेर शिक्षा क्षेत्रमा लागिपरेका पत्रकारहरूको खोजीमा लागेँ। कुनै बेलाका सहकर्मी श्रीधर पौडेलसँग सम्पर्क गरेँ। उनले आफ्नो अनलाइन हेर्न सुझाव दिए। बाइलाइनबिना उनले यस्तो लेखेका रहेछन्– ‘देशको संरचना र व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्ने सवालमा कर्मचारीतन्त्र र राजनीतिज्ञहरू कतिसम्म निकम्मा छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ– कक्षा १० को परीक्षादेखि नतिजा सार्वजनिक गर्नेसम्मका क्रिययाकलाप। यो अवस्थाबाट के बुझ्न सकिन्छ भने शिक्षाको संरचना परिवर्तनलाई शिक्षाका हाकिमहरूले सजिलै आत्मसात् गर्नेवाला छैनन् र त्यसमा साथ दिइरहेको छ, राजनीतिक नेतृत्वले। ...यसपटक कक्षा १० को परीक्षामा प्रदेश २ मा भएको प्रश्नपत्र आउट प्रकरण केन्द्रीकृत मानसिकताको कर्मचारीतन्त्रलार्ई सञ्जिवनी बुटि भएको छ। उनीहरू भन्दै छन्– देख्यौ, तल दियो भने कस्तो बर्बाद हुँदो रहेछ !’

उनको यो लेखनले एउटा ज्ञानचाहिँ दियो– संविधानले नै यो खालको परीक्षा चिन्न छाडेको रहेछ। १० कक्षाको परीक्षा अब राष्ट्रिय परीक्षा होइन रहेछ। जसरी ८ कक्षाको परीक्षा जिल्ला स्तरीय हुन्छ, त्यसैगरी १० कक्षाको परीक्षा प्रदेश स्तरले गर्नुपर्ने रहेछ। संविधानको अनुसूची ८ मा माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा हालेको छ। सायद यो ११ कक्षा जाने परीक्षा भएकाले अनुसूची ६ को ८ नम्बरअनुसार प्रदेशको अधिकारक्षेत्र देखियो। अन्यथा, स्थानीय तहमै १० कक्षाको परीक्षा टुंग्याए हुने देखिन्छ। संघ  र प्रदेशको अधिकारको साझा सूचीमा शिक्षाको विषय उल्लेखै छैन। तर अहिले प्रदेश तहमा अलग प्रश्न बनाएर त्यसलाई नै प्रदेशले लिएको परीक्षा भनेर देखाउन खोजिएको रहेछ। त्यसो भए त परीक्षा परिणाम पनि प्रदेशबाटै हुनु पर्ने होइन र ? यो राष्ट्रिय परीक्षा बोर्डचाहिँ केका लागि ? प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका संरचना विद्यालय शिक्षाभित्र आइसकेपछि पनि परीक्षा र परिणामको यो तामझाम किन ? यस विषयका उपरवाला विज्ञले यसको जानकारी गराएर पक्कै कृतार्थ गर्नुहुनेछ।

प्रकाशित: १६ असार २०७६ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App