coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पोखरामा ‘योनिका कथाहरू’

पोखरा - पोखरामा गत शुक्रबारबाट कथा घेरोको प्रस्तुतीमा नयाँ नाटक ‘योनिका कथाहरू’ मञ्चन शुरु भएको छ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चित नाटक असार १५ गते आइतबारसम्म मञ्चन हुनेछ। प्रत्येक दिन दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन दुई सो नाटक मञ्चन भएको हो।

नाटकमा लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, विनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुष्मान प्याकुरेलको अभिनय छ।  नाटकको अवधारणा, परिकल्पना र निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्।

‘यो नाटक केवल नाटक मात्र नभएर एउटा अभियान हो। जुन घरका बन्द कोठाहरूबाट सुरु भएर यहाँसम्म आएको छ’, निर्देशक आकांक्षाले भनिन्, ‘नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरूको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरूको भोगाइमार्फत पितृसत्तात्मक सोचलाई चित्रण गर्न खोजिएको छ।’ नाटकले ‘मी टु’ अभियानलाई पनि टेवा पुग्ने उनको भनाई छ।

विगत चार वर्षदेखि काठमाडौंमा हरेक वर्ष ‘योनिका कथाहरू’ नाटक मञ्चन हुँदै आएको छ। करिब ३० वर्ष अघि अमेरिकाबाट सुरु भएको यो अभियान हाल विश्वका धेरै देशहरूमा अभ्यास गरेको पाइन्छ। यसलाई अनुवाद गरेर मञ्चन गरिँदै आएको छ। यो प्रक्रियाले महिलाहरूलाई गोप्य रूपमा कुराकानी गर्ने एउटा सुरक्षित माहोलको सिर्जना गरिदिएको छ ।

नाटकले महिला यौनिकताका विभिन्न पाटोहरू हाँसो, खुशी अनि पीडाका कथालाई बाहिर ल्याउने प्रयास गरेको छ। ‘नेपथ्यमा आ–आफ्नो वास्तविक भोगाइहरू साटासाट गर्दै  सँगै रुन्थ्यौं, हाँस्थ्यौं, एकअर्काका कुराहरू सुन्थ्यौं अनि हौसला बाँड्थ्यौं’, कार्कीले भनिन्, ‘हाम्रा कार्यशालामा अभिव्यक्त भएका कयौं कथाहरू, भावनाहरू थुप्रै पटक मलाई इभ एन्सलरले लेख्नुभएको स्क्रिप्टभन्दा नजिक भएको महशुस हुन्थ्यो। यि हाम्रा कुराहरू पनि कुनै दिन मञ्चमा लिएर आउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।’

नाटकमा कयौं निर्मलाको कथा समेटिएको छ। गतवर्ष भएको निर्मलाको निर्मम बलात्कार र हत्या, मानिसहरूले उनको न्यायको लागि लडेको लडाइँ, अझै न्याय नपाउदा यस नाटकले केही हदसम्म न्यायका निमित्त आवाज उठाउने प्रयास गरेको पाइन्छ।

‘यौन दुव्र्यवहार र महिला हिंसाविरुद्ध यो हाम्रो आवाज अन्तिमसम्म डगमगाउँदैन। यसको लागि दृढ ऐक्यवद्धताको आवश्यकता छ’, उनले भनिन्, ‘यस कथाका हरेक पात्र जो कोहीसँग मेल खान गएकै छ। समाज परिवर्तनमा यस नाटकले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।’

प्रकाशित: १६ असार २०७६ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App