८ वैशाख २०८१ शनिबार
विचार

जि–२० का जटिलता

श्रवण सिंह
जापानको ओसाकामा हालै जि–२० मुलुकको शिखर सम्मेलन सम्पन्न भयो। तर सम्मेलन चालु रहँदा संसारको ध्यान भने जि–२० तिरभन्दा त्यहीँ भएका अन्य साइडलाइन बैठकमा बढी केन्द्रित देखियो। चीन र संयुक्त राज्य अमेरिकाबीच चर्किंदो व्यापार युद्धका कारण ओसाकामा भएको डोनाल्ड ट्रम्प र सी चिनफिङबीचको साइडलाइन बैठक सबभन्दा चासोका विषय बन्यो।

जापानको ओसाकामै ब्रिक्स देशहरू (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) का नेताहरूबीच ‘लघु–ब्रिक्स’ बैठक पनि भयो। साथै साइडलाइनमै जापान–अमेरिका–भारतको बैठक बस्यो। गत वर्षदेखि यी तीन देशका सरकार प्रमुखबीच बैठक बस्ने परिपाटी थालनी भएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार रुस–भारत–चीन(रिक)को ‘लघु सम्मेलन’ पनि ओसाकामै भयो।

    अमेरिकाले लगातार अरू धेरै विश्वव्यापी मान्यता र संरचनालाई उपेक्षा गर्दै गएको छ। यो अवस्थामा जि–२० मा आबद्ध अरू १९ देश एकजुट भई ‘क्षेत्रीय विस्तृत आर्थिक साझेदारी’ जस्ता अन्य संरचना बलियो बनाउनुपर्ने परिस्थिति बन्दै छ।

‘रणनीतिक त्रिभुज’ मानिएको रिक देशहरूबीच सन् १९९९ मा सहकार्य सुरु भएको थियो। विश्वव्यापी कोणबाट हेर्दा रिकको ओसाका बैठक अमेरिका नेतृत्वको पश्चिमा मोर्चाका लागि ठूलै चासो बनेको छ। रिक बैठकले दशकौँ पहिलेदेखि हुँदै आएको त्रिदेशीय विदेशमन्त्री स्तरीय बैठकको उन्नत अवस्था संकेत गरेको छ। ओसाकामा अरू पनि महŒवपूर्ण दुईपक्षीय बैठक र कुराकानी भए। भिन्न–भिन्न महŒवका यी सबै बैठकमा अमेरिकाले लगाएका आर्थिक नाकाबन्दी र भन्सार वृद्धि साझा विषय बन्यो। अमेरिकाको यो कदमले विश्व अर्थतन्त्रलाई ओरालोतिर धकेलेको छ। अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिएसँगै यो अवस्था अझ भयावह बन्दै जाने खतरा देखिएको छ।

बहुरंगी द्वन्द्व र उथलपुथलका कारण जि–२० सम्मेलनको मुल मुद्दा छायामा परेको छ। पहिलो कुरा, बितेका दुई दशकमा जि–७ देशहरूले मन नलागी–नलागी पनि एकपछि अर्को उदीयमान अर्थतन्त्रलाई आत्मसात् गर्दै जानुपरेको छ। जि–७ बाट जि–८ अनि जि–८ प्लस ५ र अहिले जि–२०।

दोस्रो कुरा, सन् २००८ यता भएको विश्वव्यापी आर्थिक मन्दी र जि–७ देशबीच भएका पछिल्लो गहिरो फाटो (उदाहरणका लागि ब्रेक्सिट र अमेरिकाको एक्लो बन्दै जाने नीति) का कारण पश्चिमा विश्व एसियाली देशहरूलाई तत्कालीन जि–७ संगठनमा समावेश गर्न बाध्य भयो। विश्व व्यवस्थामा एसियाली देशहरूलाई अझ विस्तारित भूमिका दिन उनीहरू बाध्य छन्। चीनको नेतृत्वमा पछिल्लो समय भारत, रुस, जापान र दक्षिण कोरिया यस किसिमका एसियाली शक्ति बनेका छन्। तर यी देशले पनि एउटा सामूहिक आवाज वा दृष्टिकोण बनाउन  अझै बाँकी छ।

तीव्र गतिमा बदलिँदो जि–२० को परिस्थितिमा अमेरिका र चीनबीच भएको व्यापार विवादले जन्मिन लागेको नयाँ व्यवस्थाको गर्भबाट निस्केको पहिलो चिच्याहट सुनिएको छ। ओसाका सम्मेलनले प्रमुख रूपमा तीन विषय उठान गरेको छः स्वतन्त्र व्यापार र विश्वव्यापीकरण, देशहरूबीच डाटाको खुला प्रसारणमा रोक हटाउने र जलवायु परिवर्तनका नकारात्मक प्रभाव कम गर्न साझा अनुसन्धान विकासका साथै विश्व व्यापार संगठन सुधारबारे चालु बहसलाई प्राथमिकता दिने। यी मुद्दातिर धेरैको ध्यान गएको छैन।

अमेरिकाले चीनविरुद्ध पेचिलो बनाउँदै लगेको व्यापार युद्धको गम्भीर प्रभाव संसारभर पारेको हुनाले ओसाका सम्मेलनले यसलाई रोक्ने विश्वको अपेक्षा छ।
गत साल अर्जेन्टिनाको व्यनर्स आयर्समा भएको जि–२० सम्मेलनक्रममा ट्रम्प र सीबीच भएको साइडलाइन बैठकले ९० दिन युद्धविराम घोषणा गरेको थियो। चिनियाँ सामानमा ५० अर्ब अमेरिकी डलर बराबरको थप भन्सार लगाएर अमेरिकाले नै यो विराम तोडेको थियो। गएको महिना मात्र अमेरिकाले चिनियाँ वस्तुमा २ खर्ब बराबरको भन्सार थोपरेर व्यापार द्वन्द्व चर्काएको थियो। मे महिनामा चीन र अमेरिकाबीचको एघारौँ व्यापार वार्ता असफल भयो। किनभने वासिङ्टनले बेइजिङले स्वीकार्न नसक्ने ठूलठूला बुँदा अघि सारेको थियो।

आज अमेरिकाको निसाना चीन मात्र होइन, घटी बढी होला तर जि–२० का सबै देश उसको निसानामा परेका छन्। सन् २०१७ मा जर्मनीको हमबर्गमा भएको सम्मेलनदेखि नै जि–२० मा धाँजा फाटेको थियो। त्यो सम्मेलनमा अमेरिकी राष्ट्रपतिले पेरिस जलवायु सम्झौताबाट फिर्ता हुने घोषणा गरेका थिए। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले आश्चर्य प्रकट गर्दैै भनेका थिए– ‘हाम्रो संसार यति विभाजित त कहिल्यै भएको थिएन।’

अमेरिकाले लगातार अरू धेरै विश्वव्यापी मान्यता र संरचनालाई उपेक्षा गर्दै गएको छ। यो अवस्थामा जि–२० मा आबद्ध अरू १९ देश एकजुट भई ‘क्षेत्रीय विस्तृत आर्थिक साझेदारी’ जस्ता अन्य संरचना बलियो बनाउनुपर्ने परिस्थिति बन्दै छ। ‘क्षेत्रीय विस्तृत आर्थिक साझेदारी’ अमेरिकाबाहेक अन्य ठूला व्यापारिक देशको प्रस्तावित मोर्चा हो। जि–२० देशका आपसी शक्ति र सीमितता बुझेर नयाँ परिस्थितिमा कसरी अघि बढ्ने हो, निक्र्योल गर्नुपर्छ।   (लेखक जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक हुन्।)स्रोतः चाइना डेली/ अनुवादः नीरज लवजू

 

प्रकाशित: १६ असार २०७६ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App