७ वैशाख २०८१ शुक्रबार
खेल

पेनाल्टीबाट पेरूलाई सफलता

 साल्भाडोर – स्ट्राइकर लुइस स्वारेजको पेनाल्टी प्रहारलाई पेरूका गोलकिपर पेड्रो गालेजले उत्कृष्ट बचाउ गर्दा शनिबार उरुग्वे कोपा अमेरिकाको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि लिइएको पेनाल्टी निर्णयमा पेरू सफल भएको हो। उत्कृष्ट तेस्रो टोलीका रूपमा अन्तिम आठमा स्थान बनाएको पेरू पेनाल्टीमा सफल हुँदा सेमिफाइनलको ढोका खुलेको हो।

निर्णायक पेनाल्टी प्रहार गर्न आएका पेरूका एडिसन फ्लोरेसले पाँचाैं पेनाल्टीलाई सदुपयोग गर्दा पेरूको सेमिफाइनल ढोका उघ्रेको हो। सुरुआतमा नै पेनाल्टी प्रहारमा आएका उरुग्वेका लुइस स्वारेजको पेनाल्टीलाई पेरूका गोलकिपरले उत्कृष्ट बचाउ गर्दा अन्य चार खेलाडी पेनाल्टी अवसरलाई सदुपयोग गर्न सफल भएका थिए। पेरूका सबै खेलाडीले पेनाल्टीलाई जाली चुमाउँदा उरुग्वे ५–४ ले स्तब्ध हुँदै क्वार्टरफाइनल यात्राबाट बाहिरिएको हो।

‘म मेरो टिमसँग सन्तुष्ट छु, उनीहरूको उत्कृष्ट खेललाई बयान गर्ने मसँग कुनै शब्द छैन,’ पेरूका कप्तान पाओलो गुइरेरोले भने, ‘हामीलाई धेरैले कमजोर आकलन गरिरहेका छन्। उच्च मनोबलका साथ उपाधि उचाल्ने उद्देश्यमा पेरू निकै आतुर छ। सबै खेलाडी उपाधिक भोका छन् र पेरू सफल हुनेमा पूरै विश्वस्त छु।’

शनिबार पेरूले पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्दा जारी कोपा अमेरिकामा यो तेस्रो पेनाल्टी सुटआउटबाट निर्णय भएको हो। खेलअवधिभर उरुग्वेले गोलका लागि निकै प्रयास गरे पनि तीन अवसर अफसाइड भएका थिए।

जिर्योजियन डे एरेसक्इटा, इडिसन काभानी र स्वारेज तीनै निर्धारित समयमा गोल गरे पनि लाइन्सम्यानले अफसाइडको इसारा गरेका थिए। ‘तीतो र निकै दुखको महसुस गरिरहेका छौं। सेमिफाइनल पुग्नेमा हामी निकै आशावादी थियौं। तर नतिजा निकाल्नमा चुक्यौं,’ उरुग्वेका कप्तान डिएगो गोडिनले भने, ‘हामीले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेनौं। सदुपयोग गरेका केही अवसर अफसाइड भए।’

यसअघि बिहीबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पनि पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो। यस्तै साबिक विजेता चिलीले पनि कोलम्बियालाई पनि पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो। चिलीले कोलम्बियालाई ५–४ ले स्तब्ध बनाएको थियो। क्वार्टरफाइनलमा भेनेजुएलामाथि २–० को स्पष्ट जित निकाल्दै अर्जेन्टिनाले मात्र निर्धारित समयमा जित निकाल्दै अन्तिम चारको बाटो कोरेको थियो।

उरुग्वेलाई स्तब्ध पारेको पेरूले फाइनल प्रवेशका लागि बुधबार चिलीको सामना गर्नेछ भने अर्को सेमिफाइनल खेल आयोजक ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ। १९३९ र १९७५ को कोपा अमेरिका विजेता पेरू चार वर्षअगाडि भएको कोपा अमेरिकाको सेमिफाइलनमा चिलीसँग पराजित भएको थियो।

प्रकाशित: १६ असार २०७६ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App