८ वैशाख २०८१ शनिबार
समाज

सरकारी कार्यालयमा खुल्मखुला घुस

बारा - असार १२ गते बिहीबार प्रसौनी गाउँपालिकाको योजना शाखा प्रमुख खरिदार विनोद यादवले सेवाग्राहीसँग घुस रकम असुल्न पठाएका आसपुरन कुशवाहालाई अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले रकम लिइरहेकै ठाउँबाट नियन्त्रणमा लिएको छ ।
उपभोक्ता समितिका पदाधिकारीसँग घुस रकम लिइरहेको अवस्थामा पक्राउ परेका कुशवाहाले आफूलाई रकम लिन योजना शाखा प्रमुख यादवले पठाएको बताएका छन् । कुशवाहाको बयानपछि अख्तियारको टोलीले खोज्दा खरिदार यादव फरार भएका छन् ।
प्रसौनी–६ बेलहिया टोलमा निर्माण भइरहेको नालाको रकम नियमअनुसार भुक्तानी हुनुपर्ने प्रक्रिया योजना शाखाबाट अगाडि बढाउन खरिदार यादवले घुस मागेको र रकम नदिँदा काम रोकी राखेको उपभोक्ता समितिका एक सदस्यले बताए ।
योगेन्द्र कुशवाहा अध्यक्ष रहेको उपभोक्ता समितिले आठ लाखको लागतमा नाला निर्माणपछि भुक्तानीका लागि योजना शाखाबाट प्रक्रिया पूरा गरी फाइल लेखा शाखामा पठाउनुपर्ने हुन्छ । तर यादवले योजनाबाट फाइल लेखामा पठाउन आलटाल गर्देै घुस माग्न थालेपछि बाध्य भएर अख्तियारलाई खबर गर्नुपरेको ती सदस्यले बताए ।
यादवले मागेको घुुस रकम लिनका लागि बोलाउँदा यादवले आफैं नआई कार्यालयमा काम गराउन पुगेका कुशवाहालाई रकम लिन पठाएपछि कुशवाहा पक्राउ परेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी देवकुमार राईका अनुसार उपभोक्ता समितिसँग घुस माग्ने भनिएका प्रसौनी गाउँपालिकाका खरिदार विनोद यादव फरार रहेको र उनले रकम लिन पठाएको भनिएका कुशवाहालाई घुस रकमसहित पक्राउ गरिएको छ । फरार रहेका यादवलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइएको राईले बताए ।
त्यसैगरी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले बारा जिल्ला अदालत कलैयामा कार्यरत तामेलदार सुनील चौधरीलाई घुस रकमसहित पक्राउ गरेको छ । तामेलदार चौधरीलाई एक सेवाग्राहीसँग घुसबापत लिएको भनिएको १८ हजार रुपैयाँसहित अदालतअगाडिको चिया पसलबाट पक्राउ परेका थिए  ।
पक्राउ परेका चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्नेमा सो नगरी सेवाग्राहीसँग पटकपटक घुस मागेको सूचनाका आधारमा अख्तियार हेटौंडाका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराई नेतृत्वको टोलीले रकमसहित नियन्त्रणमा लिएको हो ।
चैत १५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले डिभिजन वन कार्यालय सिमरा, बाराका प्रमुख शिवशंकर ठाकुरसहित तीन जनालाई घुस रकमसहित पक्राउ गरेको थियो ।
प्रहरी नायब उपरीक्षक भट्टराई नेतृत्वको टोलीले डिभिजन प्रमुख ठाकुर, सहायक वन अधिकृत गौरीशंकर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई एक लाख १५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । वन कार्यालयले आह्वान गरेको कबाडी ठेक्का स्वीकृत गर्न उनीहरूले सो रकम मागेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।
बारामा तीन महिनायता सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा स्थानीय तह, अदालत र वन कार्यालयका कर्मचारीहरू पक्राउ परेको वा मुछिएको यो उदाहरणमात्रै हो । स्थानीय तह, मालपोत, नापी, आन्तरिक राजश्व, अदालतलगायत कार्यालयमा सेवाग्राहीलाई बाध्य पारेर कर्मचारीहरूले घुस लिँदै आएको पीडितहरू बताउँछन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी राईले अहिले बारामा घुस रकम लिने सरकारी कर्मचारीलाई नियन्त्रण गर्नकै लागि अख्तियार र प्रहरी दुवै सक्रिय भएको दाबी गरेका छन् ।
एकजना सरकारी कर्मचारीले छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेको तर कुनै कारबाही नभएको देखेर अन्य सरकारी कर्मचारीहरू पनि घुसखोरीतर्फ आकर्षित भएको स्थानीय बताउँछन् ।

प्रकाशित: १६ असार २०७६ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App