coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जामको मौका छोपेर यात्रु ठग्नेको लर्को

पृथ्वी राजमार्गमा लाम लागेका सवारीसाधन।तस्बिर ः नागरिक

धादिङ - वर्षा सुरु भएसँगै पृथ्वी राजमार्गको यात्रा पनि कठिन हुन थालेको छ।पानी पर्नासाथ पहिरो, लेदो बग्ने समस्याले काम विशेषले यात्रामा हिँडेकाहरू समयमा गन्तव्यमा पुग्न पाउँदैनन्, घण्टौं जाम खेपेर आजित बन्नुपर्छ। एकातिर बालुवासहितको लेदो सडकमा थुप्रिँदा गन्तव्यमा हिँडेकाहरू घण्टौं जाममा बस्नुपर्छ भने अर्कोतिर लामो जामको मौका छोपेर यात्रुहरूलाई ठग्नेहरूको लर्को लाग्ने गरेकोे छ ।

पहिरो, लेदो खस्ने, दुर्घटनालगायत समस्या हुनेबित्तिकै पृथ्वी राजमार्गमा जाम हुने गर्छ।घण्टौं जाममा बस्नुपर्दा यात्रुहरू ठगिने गरेको काठमाडौंबाट धादिङ आउँदै गरेकी रस्मिता अधिकारीले बताइन्। ‘चर्को घाममा एकातिर घण्टौं जाममा बस्नुपर्छ, अर्कोतिर ठगिनु पर्छ,’ उनले आक्रोशित हुँदै भनिन् ‘मिनिरल वाटरलाई ४० रुपैयाँ, चाउचाउलाई ५० रुपैयाँ तिर्नुपर्छ ।’

जामको मौका छोपेर यात्रु ठग्नेहरूको लर्को लाग्ने गर्छ । मिनरल वाटरलाई ४० र चाउचाउलाई ५० रुपैयाँ तिर्नुपर्छ ।

चाडपर्वका बेला अनुगमनको बहाना बनाई होटलहरूमा कडाइ गर्ने गरे पनि अन्य समयमा भने महँगीले यात्रुको ढाड सेकिँदासमेत स्थानीय प्रशासन बेखबर बन्ने गरेका छन्।सवारीसाधनको लाम देखेर होटलहरूले खाना तथा खाजाको मनपरी मूल्य लिने गरेका छन्।विभिन्न कारणले घण्टौं जाम पर्नासाथ स्थानीय व्यापारीहरू सवारीसाधनमै खानेकुरा बोकेर हिँह्ने गर्छ।अनि बजारमा २५ मा पाइने मिनिरल वाटर ४० रुपैयाँ, १५ मा पाइने चाउचाउ ४० रुपैयाँ, कुरकुरे र लेज ९० रुपैयाँ, ७० मा पाइने कोक सय रुपैयाँमा बेच्ने गर्छन्।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनी, बेनीघाट रोराङ गाउँपालिका–१० को जोगिमारा क्षेत्रमा सञ्चालनमा रहेका बालुवा खानीबाट बगेर आएको लेदो थुप्रिँदा पानी पर्नेबित्तिकै राजमार्ग बन्द हुने गर्छ।बालुवाखानीकै लागि मुख्य राजमार्गबाट बिनामापदण्ड बनाइएका कच्ची शाखा बाटोले राजमार्गको यात्रासमेत कष्टपूर्ण हुन थालेको छ।अर्कोतिर ग्रामीण क्षेत्रमा जाने सडकको छेउछाउमा कुलेसो नबनाउनाले पनि पानी पर्नेबित्तिकै राजमार्गमा धमिलो लेदो बग्ने गर्छ ।

पूर्वपश्चिमबाट दिनभरको यात्रा गरेर राजधानी काठमाडौं प्रवेश गर्न केही घण्टा बाँकी रहँदा जामका कारण बाटोमा नै ठगिने गर्छन्।राजमार्गका केही ठाउँमा यात्रुलाई खाना खुवाउने सामान्य होटलहरूसमेत नहुँदा जाम हुन थालेपछि बजार मूल्यभन्दा चार गुणा बढी तिरेर भए पनि पानी र चाउचाउ किन्न यात्रुहरू बाध्य हुने गरेका छन्।होटल भएका ठाउँहरूमा पनि खाना र खाजाको मूल्यमा दोब्बर, तेब्बर वृद्धि हुने गरेको यात्रुहरूको गुनासो छ।सीमित खर्च लिएर हिँडेकाहरूलाई त झनै समस्या हुने गरेको छ।

पृथ्वी राजमार्गमा एकातिर हरेक बर्खायाममा राजमार्गमा लेदो बग्ने, पहिरो खस्नेलगायत समस्याका कारण सवारी जाम हुने गर्छ भने अर्कोतिर मुग्लिनदेखि नागढुंगा खण्डमा साँधुरा मोड, धेरै घुम्ती र सवारीसाधनको चापका कारण छिनछिनमा जाम हुने गर्छ।साँघुरो सडकमा सामान बोकेर हिँडेको सवारीसाधन बिग्रिँदा पनि जाम हुने गर्छ।

देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने एकमात्र स्थलमार्गको रूपमा चिनिने पृथ्वी राजमार्गमा यस्ता विपद्हरू आइपर्दा तत्काल समाधानतर्फ सरकार गम्भीर भएको देखिँदैन।हरेक वर्ष चाडपर्वको समयमा नौबिसे नागढुंगा सडकमा जाम हुने गरेको खबर सञ्चारमाध्यममा आउने गरे पनि सरकारको ध्यान यसतर्फ गएको पाइँदैन।सवारीसाधन जाम हुँदा खुलाउने सामग्रीसमेत नहुँदा झनै समस्या हुने गर्छ।

प्रकाशित: १६ असार २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App