coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण

साना – यमनका हुथी विद्रोहीले साउदी अरबको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन विमान (ड्रोन) बाट आक्रमण गरेका छन्। विद्रोहीले जिजान प्रान्तको जिजान विमानस्थलमा समेत ड्रोनमार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन्।

दुवै ड्रोन आक्रमणबाट आभा र जिजान विमानस्थलका विमान ह्याङ्गरमा आक्रमण गरिएको विद्रोहीद्वारा सञ्चालित मासिराह टेलिभिजनले जनाएको छ। विद्रोही समूहका सैनिक प्रवक्ता याह्या सारियाले जारी गरेको विज्ञप्तिमा ड्रोनमार्फत बम आक्रमण गरिएको उल्लेख छ।

विद्रोहीले पछिल्ला दिनमा साउदी अरबका क्षेत्रीय विमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीब्र बनाएका छन्। साउदी अरबले भने सो आक्रमणका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन। साउदी समाचार संस्थाले जनाएअनुसार हुथी विद्रोहीद्वारा आभा विमानस्थलमा गरिएको ड्रोन आक्रमणबाट गत साता एक जना सिरियाली नागरिकको ज्यान जानुका साथै अन्य आठ जना घाइते भएका थिए।  यस्तै, अर्को ड्रोन आक्रमणबाट आभा विमानस्थलमा २६ जना घाइते भएका थिए।

इरानको समर्थन रहेको भनिएको हुथी विद्रोही र यमनमा मध्यपूर्वको अन्तर्राष्ट्रिय सैनिक गठबन्धनको नेतृत्व गरिरहेको साउदी अरबबीच केही समयदेखि तनाब जारी रहेको छ। साउदी अरबले विशेष गरेर यमनको सरकारको नेतृत्व गरिरहेका राष्ट्रपतिलाई समर्थन गर्दै आइरहेको छ भने इरानले विद्रोही हुथी विद्रोहीलाई समर्थन गरिरहेको छ। सन् २०१५ देखि चलेको गृहयुद्धका कारण हालसम्म हजारौं यमनी नागरिकको ज्यान गइसकेको छ भने युद्धकै कारण मानव इतिहासकै सबैभन्दा ठूलो मानवीय संक्टबाट पनि यमन गुज्रिरहेको छ।

प्रकाशित: १६ असार २०७६ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App