८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इतिहास रच्दै अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली भूमिमा

दुई कोरियालाई छुट्याउने पानमुनजोमस्थित असैनिक क्षेत्रमा भेट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन। तस्बिरः एजेन्सी

सोल - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहास रच्दै पहिलो पटक उत्तर कोरियाली भूमिमा पाइला टेकेका छन्। दुई कोरियालाई विभाजित गर्ने क्षेत्रमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनलाई भेटेपछि ट्रम्पले उत्तर कोरियाली भूमिमा पाइला टेकेका थिए। यससँगै उत्तर कोरियाको भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो बहालवाला राष्ट्रपति बनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै आइतबार उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा दुई नेताको भेट भएको हो। जहाँ दुई नेताले आपसमा हात मिलाएको क्षणलाई ऐतिहासिक भनिएको छ।

जी–२० शिखर सम्मेलनको लागि जापानको ओसाका र त्यो सकेर दक्षिण कोरियाको राजधानी सोल पुगेका ट्रम्पले आइतबार उत्तर कोरियाली नेता किमलाई कोरियाली सिमाना पार गरेर नै भेट्न पुगेका हुन्। दुई नेताहरूबीचको एक वर्ष र केही बढीको समयको अन्तरालमा भएको यो तेस्रो आमनेसामने भेट हो। उनीहरुबीचको भेट सन् १९५३ को कोरियाली युद्धपछि विभाजित कोरियाली प्रायद्वीपको त्यस्तो क्षेत्रमा भएको छ जुन युद्धका कारण प्रायः तनावग्रस्त रहँदै आएको थियो। 

ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेखेपछि हतारहतार आयोजना गरिएको भेटका क्रममा दुई नेताले दुई कोरियाबीचको सिमा रेखामा आपसमा हात मिलाए। त्यसपछि ट्रम्प केही बेरका लागि उत्तर कोरियाली भूमिमा नेता किमसँगै उभिए जुन क्षणलाई दुई देशबीचको कूटनीतिको सांकेतिक कोसेढुंगो मानिएको छ।

सन् १९५३ मा दुई कोरियाबीच हतियार बिसाउने सम्झौता गरिएको रेखासम्म कैयौं अमेरिकी राष्ट्रपतिहरुले भ्रमण गरिसकेका छन्। ती सबै भ्रमणका बेला दक्षिण कोरियालाई अमेरिकाको समर्थनप्राप्त छ भन्ने स्पष्ट सन्देश गएको हुन्थ्यो। तर यसपटक ट्रम्पले त्यो सीमा क्षेत्रको भ्रमणलाई हेर्ने दृष्टिकोणमा नै केही फेरबदल ल्याइदिए। उनले दुरबिनहरु र बमप्रतिरोधक ज्याकेटको सट्टा आफूले सधैं पहिरिने जस्तो सुट लगाएर त्यहाँ पुगिदिए। किमसँगको उनको भेट र उत्तर कोरियाली भूमिमा उनले राखेको पाइलाले नयाँ इतिहास रचिदियो। लगभग एक घण्टाजति वार्ता गर्नु अघि ट्रम्प र नेता किमले अति नै धेरै हातहतियारले सुरक्षा प्रदान गरिएको क्षेत्रमा एकअर्कासँग हात मिलाएका थिए।

‘यो ठूलो सम्मान हो। विविध विषयमा प्रगति हासिल गरिएको छ। यो वास्तवमै ठूलो मित्रता भएको छ,’ उत्तर कोरियाली नेताका बारेमा ट्रम्पले भने, ‘यो विश्वकै लागि ठूलो दिन हो।’ भेटपछि मुस्कुराएका नेता किमले यस्तो प्रतिक्रिया दिए, ‘मलाई विश्वास छ कि यो विगतको दुर्भाग्यपूर्ण इतिहासलाई नष्ट गर्ने र नयाँ भविष्यका लागि प्रस्थान गर्ने अभिव्यक्ति हो।’
असैनिक क्षेत्रमा दुई नेताहरुले हात मिलाएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन पनि उनीहरू सँगै देखिएका थिए।

त्यसपछि किम दक्षिण कोरियाली भूमिमा आए र ट्रम्पसँगै उभिएर पत्रकार सामु विरलै प्रतिक्रिया दिँदै आफूहरूबीचको भेट उनी र ट्रम्पबीचको ‘गजब’को सम्बन्धको प्रतीक भएको बताए। ट्रम्पले भेट साँच्चै नै ऐतिहासिक क्षण भएको बताउँदै दुई कोरियाबीचको सीमा पार गर्न पाउँदा गौरवान्वित भएको बताए।

दुई नेताबीचको छलफलमा रोकिएको आणविक वार्तालाई सुचारु गर्ने सहमति पनि भएको बताइएको छ। यसअघि गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किमबीच भियतनामको हनोईमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। उत्तर कोरियाले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनुपर्ने भन्दै गरेको मागमाथि अमेरिकाले अस्वीकार गरेपछि दुई देशबीचको सो बैठक कुनै सम्झौताबिनै टुंगिएको थियो।

त्यसअघि सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किमबीच पहिलो पटक ऐतिहासिक शिखर बैठक भएको थियो। सो बैठकका बेला उत्तर कोरियाली नेता किमले कोरियाली  प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

किमलाई अमेरिका भ्रमणको निम्तो
पानमुनजोम – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन्। उत्तर र दक्षिण कोरिया छुट्याउने गैरसैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिएका हुन्। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस भ्रमणका लागि किमलाई आफूले निमन्त्रणा गरेको जानकारी दिए। दुवै नेताबीच यो तेस्रो भेटवार्ता हो।

साथै, अमेरिकी वहालबाला राष्ट्रपतिले उत्तर कोरियामा पाइला टेकेको पनि यो पहिलो अवसर हो। उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाली सीमा कार्यालयमा विशेष बैठकसमेत भएको छ। पानमुनजोन भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन पनि सहभागी भएका थिए।

प्रकाशित: १६ असार २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App