८ वैशाख २०८१ शनिबार
समाज

बिपीमा चार दिनपछि ताला खुल्यो, नेपाली विद्यार्थीलाई तीन सिट थप

चार दिनपछि ताला खोल्दै जुनियर रेसिडेन्ट डाक्टरहरू । तस्बिर : नागरिक

धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा लागेको ताला चार दिनपछि खुलेको छ । आइतबार बिहान आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच सहमति जुटेपछि तालाबन्दी खुलेको हो । एमडी÷एमएसको कोटामा विदेशी विद्यार्थीलाई ग्राहयता दिएको भन्दै सोसाइटीले बिहीबार उपकुलपति डा. राजकुमार रौनियार र शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यालय प्रवेश गर्ने मूलगेटमा तालाबन्दी गरेका थिए । सोसाइटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएबमोजिम एक तिहाइ सिट मात्र विदेशी विद्यार्थीहरूलाई छुट्याउनुपर्ने माग गरेको थियो । ताला खुलाउन प्रतिष्ठान सिनियर चिकित्सकहरूले शुक्रबार र शनिबार आन्दोलनरत जुनियर रेसिडेन्टहरूसँग पहल गरेका थिए ।

आइतबार भएको सहमतिअनुसार एमडी÷एमएसतर्फ नेपाली विद्यार्थीका लागि तीन सिट वृद्धि भएको छ । सर्जरी, पेडियाट्रिक र इन्टरनल मेडिसिनमा विदेशी कोटाबाट एक–एक सिट कम गरी नेपाली विद्यार्थीलाई दिने (समायोजन) गर्ने सहमति भएको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले बताए । ‘मेडिसिन, पोडियाट्रिक र सर्जरी विषयमा एक–एक सिट नेपाली विद्यार्थीतर्फ थप गरिएको छ,’ डा. पौडेलले भने, ‘आगामी शैक्षिक वर्षदेखि स्नातकोत्तर तहमा सिट निर्धारण गर्दा नेपाली विद्यार्थीलाई हरेक विधामा कम्तीमा ५० प्रतिशत दिइने सहमति छ ।’

यो सहमतिपछि इन्टरनल मेडिसिनको पाँचमध्ये नेपालीलाई तीन र विदेशीलाई दुई सिट दिइने भएको छ भने पेडियाट्रिकका पाँच मध्ये नेपालीलाई तीन र विदेशीलाई दुई सिट दिइने भएको छ । यस्तै, इन्टरनल मेडिसिनको ६ मध्ये नेपालीलाई तीन र विदेशीलाई तीन सिट दिइनेछ । यसअघि, सर्जरीका चार विदेशी र दुई नेपालीलाईछुट्याइएको थियो भने पेडियाट्रिकमा नेपालीलाई दुई र विदेशीलाई तीन र इन्टरनल मेडिसिनमा विदेशीलाई चार र नेपालीलाई दुई सिट छुट्याइएको थियो ।

सोसाइटीले हालको चिकित्सा शिक्षा ऐनमा भएको प्रावधान पनि सच्याउन माग गरेको छ । ऐनमा कूल सिट संख्याको एक तिहाइ नभएर स्नातकोत्तर तहको हरेक विषयमा एक तिहाइ मात्र सिट विदेशीलाई दिन मिल्ने गरी ऐन संशोधन गर्नुपर्ने सोसाइटीको माग छ । ‘कूल सिटको एक तिहाइ भन्ने प्रावधानले मेडिकल कलेजहरूले पढ्न आकर्षक र स्कोप भएको विषय विदेशीलाई दिने र नेपालीलाई अरू विषयमा धेरै सिट दिएर मिलान गर्ने गरेको देखियो, यसको अन्त्य गर्न ऐनलाई नै सच्याउनुपर्छ,’ पौडेलले भने ।

सहमति पछि समायोजन भएको सिट संख्याको क्याटेगोरीअनुसारको विभाजनसम्बन्धी सूचना आइतबार नै प्रतिष्ठानले निकालिसकेको छ । प्रतिष्ठानमा एमडी÷एमएसको एक सय २४ सिटमा दुई हजार एक ससय ९० जनाले प्रवेश परीक्षा दिएका थिए भने एमडीएसको १८ सिटमा एक सय ८४ जनाले परीक्षा दिएका थिए । तीमध्ये एमडी÷एमएसतर्फ एक हजार दुई सय ४९ जना उतीर्ण भएका छन् भने एमडीएसतर्फ  ६७ जना उत्र्तीण भएका छन् । आन्दोलनरत पक्षसँग सहमति जुटेपछि उत्तीर्ण विद्यार्थीको काउन्सिलिङ सोमबार हुने प्रतिष्ठानले जनाएको छ । ‘सहमति भएर ताला खुलिसक्यो, सोमबार काउन्सिलिङ सुरु हुन्छ,’ उपकुलपति डा. रौनियारले भने, ‘विदेशी विद्यार्थी भर्ना गर्नु हाम्रो बाध्यता हो । सरकारले तलब खुवाउन बजेट नदिने भएकाले आयस्रोत आफैंले बढाउनुपर्ने हुन्छ ।’

बिपी प्रतिष्ठानलाई नेपाल सरकारले भौतिक पूर्वाधार तथा संरचना बनाउन मात्र बजेट दिने गरेको छ । प्रतिष्ठान आफैं आत्मनिर्भर हुनुपर्ने भएकोले विरामीको शुल्क र विदेशी विद्यार्थी प्रमुख आम्दानीको स्रोत हो ।

प्रकाशित: १६ असार २०७६ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App