७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा हिले दौड

धादिङमा आयोजना गरिएको हिले दौड प्रतियोगिता। तस्बिरः नागरिक

धादिङ – धादिङमा हिलोमा दौड प्रतियोगिता भएको छ। नीलकण्ठ नगरपालिका ८ बिर्ताबेसीको फराकिलो फाँटमा युवाहरू रोमाञ्चक तथा साहसिकरूपमा दौडे। धान रोप्न सम्याइएका गह्राका कान्दा उक्लिँदै र और्लँदै चार सय मिटरको दौड पूरा गरेका छन्।

‘धान खेती प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराका साथ’ नेपालमा नै पहिलो पटक राष्ट्रव्यापीरूपमा आयोजना गरिएको खुला हिले दौड प्रतियोगितामा युवाहरूको उत्साहजनक सहभागिता थियो।

महिलातर्फ धादिङ नलाङकी सोनी गुरुङ प्रथम, धादिङ धुनीबेँसीकी रसिला तामाङ द्वितीय र काठमाडौँ पाटनकी निरजला ताम्राकार तृतीय भएकी छन्। पुरुषतर्फ संखुवासभाका विकास राई प्रथम कैलालीका किरण मल्ल द्वितीय र नेपालगन्जका खीमबहादुर खत्री तृतीय भए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइयो। साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा १८ वर्ष उमेर समूहदेखि ४० वर्षसम्मका महिला पुरुष सहभागी थिए।

राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा भएको खेलमा नेपालभरबाट महिलातर्फ २६ जना र पुरुषतर्फ ८७ जनाले भाग लिएका थिए। लोक खेलअन्तर्गत हिले दौडको संरक्षण र लोप हुन नदिन प्रतियोगिताको आयोजना गरिएको संघका उपाध्यक्ष किरणकुमार श्रेष्ठले बताए।

आइतबार १६ औँ धान दिवसको अवसर पारेर देशभर रोपाइँ गरेर धान दिवस मनाइएको छ। जिल्लाको थाक्रे, सिद्धलेक गाउँपालिकाले पनि रोपाइँ गरेर दिवस मनाएका छन्।

प्रकाशित: १५ असार २०७६ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App