८ वैशाख २०८१ शनिबार
समाज

पोखरामा रोपाइँ महोत्सव, विदेशीको हिलो छ्यापाछ्याप (फोटो फिचर)

तस्बिरः उमेश पुन/नागरिक

पोखरा– पोखरा महानगरपालिका–१७, महतगौडा विरुवा फाँटमा केहीवर्ष अघिसम्म बस्ती निकै नै पातलो थियो। बस्ती कम रहेको फाँटमा यो बेला धान रोप्ने किसानको चटारो मात्र देख्न पाइन्थ्यो। तर, अहिले बस्ती बाक्लिदो छ। बस्ती थपिँदै गएपछि विरुवा फाँटमा चहलपहल पनि निकै नै बढिरहेको छ।  

त्यही नियमित चहलपहलसँगै आइतबार आयोजित रोपाई महोत्सवले विरुवा फाँट दिनभर रमझममा झुम्यो। जब मध्यान्ह हुँदै गयो, फाँटमा बजारबाट झर्ने युवायुवती सहित पोखरा घुम्न आएका विदेशी पर्यटक पनि थपिँदै गए। अनि सुरु भयो, हिलो छ्यापाछ्यापको क्रम। मध्यान्हबाट सुरु भएको रमझम अबेरसम्म फरक फरक तरिकाले चलिरह्रयो। यो सन्दर्भ थियो, पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको असारे रोपाई महोत्सवको। 

वर्षेनी फरक ठाउँमा परिषद्ले असार १५ मा रोपाइँ महोत्सव गर्दै आएको छ। फरक ठाउँमा रोपाइँ महोत्सव चलाउने क्रममा यो पटक परिषदले महतगौडांको विरुवा फाँट रोजेको थियो। त्यही रोपाइँ महोत्सवलाई रौनक बनाउन बिहानैदेखि तयारी थियो। महोत्सवको यो १६ औं संस्करण हो। महोत्सवमा स्वदेशी र विदेशी पाहुनासहित स्थानीयको घुँइचो थियो। 

स्थानीय ऋषिराम भण्डारीको ४ रोपनीको क्षेत्रफलमा योपटक रोपाई महोत्सव आयोजना गरिएको थियो। महोत्सवमा पर्यटकीय सहर लेकसाइडसहित पोखरा आसपासबाट पनि सर्वसाधारण रमाउन आइपुगेका थिए। महोत्सवको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे।

महोत्सवको रौनक सुरु हुनु अघि नै फाँटमा हिलो छ्यापाछ्याप सुरु भइसकेको थियो। हिलोमा विदेशी पाहुना पनि मज्जैले रमाए। केहीबेर अघिसम्म चिरिच्याट्ट परेर घुमिरहेका पाहुना पनि के कम! अरु हिलोमा रमाएको देखेपनि मन थाम्न सकेनन। अनि हिलोमा लडिबुडी गर्दै पानी छ्यापाछ्याप गर्न थाले। त्यसपछि माहोल झनै रौनक बनेको थियो। स्वदेशी हुन् वा विदेशी सबै हिलोमा रमाए। कोही जोत्न, त कोही बाउसे बन्न विदेशी र स्वदेशी पाहुनाको तछाडमछाड नै चलेको थियो। आयोजकले मेलालाई मनोरम बनाउन हिलोमा रमाउन मात्र नभई विभिन्न मनोरञ्जनात्मक खेल पनि आयोजना गरेको थियो। 

स्वदेशी महिला, पुरुष तथा विदेशी पाहुना रस्साकस्सीमा सहभागी भएर सामथ्र्य देखाए। पालैपालो हिलोमा लडाउँदा उपस्थित दर्शकमा हाँसोको फोहरा छुटेको देखिन्थ्यो। माछा समाउने, दौड, असारे गीत प्रतियोगिता झनै रोमाञ्चक थियो। 

‘असार १५ लाई हिलोमा रमाउने दिनको रुपमा पनि चिनिँदै आइएको छ। त्यही भएर हामीले विदेशी पाहुनालाई सहभागी गराएका छौं’, परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘पोखराको पर्यटनमा नौलो प्रडक्टको रुपमा यो महोत्सव चिनिएको छ।’ खेतीयोग्य जमिनको संरक्षण गर्दै किसानलाई कृषि पेशाप्रति जागरुक बनाउन सन्देश दिनेगरि यहाँ महोत्सव गरिएको उनले बताए। 

तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App