७ वैशाख २०८१ शुक्रबार
समाज

सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीको बाँके जङ्गल खण्डमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ।  पूर्व–पश्चिम राजमार्गमा अवरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको र अर्का एक घाईते भएको स्थानीयले दाबी गरेका छन्। टाउकोमा गोली लागेर ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका करिब २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको स्थानीयको दाबी छ। प्रहरीले भने घाईते मात्र भएको र मृत्युको पुष्टि गरेको छैन।

सुरक्षाकर्मी तर्फ पनि डेढ दर्जन घाईते भएको नेपाल प्रहरी सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए। प्रदर्शनकारीले हानेको ढुंगाले लागेर प्रहरी जवान कृष्णप्रसाद काफ्नको ४ वटा दाँत झरेको तथा अन्य प्रहरीको पनि चिउँडो, हात, खुट्टा लगायतमा चोट लागेको डिएसपी राठौरले जानकारी दिए।

मध्यान्ह १२ बजे देखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्न बसिरहेका प्रदर्शनकारीले ढुंगामुढा गर्दै जंगलतर्फ खियारेपछि बाध्य भएर दिउँसो २ बजे १३ राउण्ड हवाई फायर एवं अश्रुग्याँस प्रहार गर्दा समेत लगातार आक्रमण भएपछि गोली चलाईएको प्रनाउ राठौरले बताए। दिउँसो २ बजे प्रहरीले गोली चलाउँदा र प्रहरीबीच आज दिउँसो भएको झडपमा परी एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

सर्लाही र महोत्तरी भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए। बालकको मृत्युपछि स्थानीयवासीले आज दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चौकमा शव ल्याएर प्रदर्शन गरेका थिए।

प्रहरीले राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। झडपमा परी टाउकोमा गोली लागेका देवन महतोको घटनास्थलमै मृत्यु भएको प्रदर्शनकारीले बताएका छन्। स्थानीयको दाबी अनुसार घटनामा परी अर्का एक जना प्रदर्शनकारी पनि घाईते छन्। उनको परिचय खुलेको छैन।

गोली लागी मृत्यु भएका देवनको तथा खाडलमा डुबेर मृत्यु भएका अमितको शव सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा राखिएको प्रहरी स्रोतले जनायो।

अहिले बाँके स्थित पूर्व–पश्चिम राजमार्गमा बाक्लै सुरक्षाकर्मी खटाईएको छ। गोली चले लगतै प्रदर्शनकारीहरु गाउँतर्फ भागेका छन्। सवारी आगामन सूचारु भईसकेको छ।

 

प्रकाशित: १५ असार २०७६ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App