८ वैशाख २०८१ शनिबार
समाज

‘स्मार्ट लाइसेन्स’ स्पष्ट नबुझिने भएपछि पुनः छपाइ हुँदै

काठमाडौं – निजी कम्पनीले छपाइ गर्दा स्पष्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ। निजी कम्पनीले रंगीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ सुरु भएको हो।

निजी कम्पनीले झण्डै तीन लाख रंगीन कार्ड छापिएकामा १३ हजार कार्ड अस्पष्ट रहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताए। उनका अनुसार यी कार्डमध्ये कुनैमा फोटो त कुनैमा नाम, रक्त समूह, ठेगानालगायतका विवरण स्पष्ट थिएनन्। तीमध्ये अधिकांश कार्ड सेवाग्राहीलाई वितरण भइसकेको छ।

वितरण भएका कार्ड पुनः छपाइको माग गर्दै निवेदन आइरहेको उनले बताए। चार वर्ष पहिलेदेखि हस्तलिखित कार्डका सट्टा ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि विभाग आफैँले छपाइ गर्दा श्यामस्वेत कार्ड छापिरहेको उनले बताए।  ती कार्डमा स्पष्ट नभएको भन्ने गुनासो छैन। उनले भने, ‘कार्डका विवरण नबुझिएको भन्ने गुनासो रंगीन कार्डमा मात्रै छ।’

अहिले विभाग आफैँले ‘स्मार्ट’ चालक अनुमतिपत्र श्यामश्वेत छपाइ गरिरहेको प्रवक्ता खनालले बताए। पछिल्लो समयमा छपाइ भएका कार्डमा समस्या छैन। रंगीन कार्ड नबुझिने हुँदा पुनः छपाइ गर्नु परेको र सेवाग्राहीले राजस्व तिर्नुपर्नेमा त्यो अहिले हटाइएको उनले बताए।

‘हाम्रै गल्तीले गर्दा पुनः छपाइमा सेवाग्राहीसँग राजस्व लिनु हुँदैन भनेर हटाइएको छ,’ उनले भने। ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि उपकरण अपर्याप्त भएपछि विभागले साढे ९ लाख बढी कार्ड वितरण गर्न बाँकी छ। रासस

प्रकाशित: १५ असार २०७६ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App