वानप्रस्थाश्रमको विकल्प वृद्धाश्रम

आइतबार, १५ असार २०७६, १५ : १८ रोशन दाहाल

समाजमा धेरै धार्मिक विकृतिहरु छन्। जुन अत्यन्तै गहिरोसँग गढेर बसेका छन्। यस्ता विकृतिले समाजलाई भित्रभित्रै धमिराले काठ खाएजसरी खाइरहेका छन्। यस्ता प्रायः सबै विकृतिको दोष शास्त्रहरुमाथि लगेर थुपार्ने गरिन्छ। जबकि शास्त्रहरुको गहिरोसँग अध्ययन गर्ने हो भने तिनले यस्ता विकृति सिकाउँदैनन्। बरु विकृति हटाउनका लागि रचिएका हुन् शास्त्र।

जस्तै–समाजमा गहिरोसँग जरा गाडेर बसेको एउटा विकृति हो, जातीय विभेद। यस विकृतिको दोष शास्त्रलाई दिइन्छ, तर शास्त्रमा जातीय विभेदको कुरा कतै छैन।

त्योबेलामा सात्विक भोजन गर्ने, राजकाजका काममा सल्लाह दिने र जनतालाई शिक्षित गर्ने वर्गलाई ब्राह्मण भनिन्थ्यो। शासन चलाउने, परिआएमा युद्ध गर्ने तथा देशको सुरक्षामा सधैँ तत्पर रहने वर्गलाई क्षत्रीय भनिन्थ्यो। व्यापार गरेर देशको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग गर्ने व्यक्तिलाई वैश्य भनिन्थ्यो। सेवा गर्ने वर्गलाई शुद्र भनिन्थ्यो।

बस्, यत्ति त हो। यसमा जातीय विभेदको कुरा कहाँ छ? कसैले कसैलाई जातीय आधारमा हेप्नुपर्छ भनेर कहाँ लेखिएको छ? देश विकासका लागि यी चार तत्त्व अति आवश्यक थिए त्योबेला। सबैको आ–आफ्ना ठाउँमा महत्त्व थियो।

शास्त्रहरुमा भनिएकै पनि छ, जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्रीय, वैश्य या शुद्र हुँदैन। काम र जीवनशैलीका आधारमा हुन्छ। यदि कुनै पनि व्यक्तिको जीवनशैली सात्विक छ र उसको काम अरुलाई शिक्षित गराउने हुन्छ भने ऊ स्वतः ब्राह्मण हो। यदि कोही देशको सुरक्षाका लागि युद्ध गर्नसमेत तयार अवस्थामा छ भने ऊ स्वतः क्षत्रीय हो। यदि कोही व्यापार पेशामा संलग्न छ भने ऊ स्वतः वैश्य हो। यदि कोही सेवाको क्षेत्रमा छ भने ऊ स्वतः शुद्र हो।

ब्राह्मणको सन्तानलाई ऊ जति नै पतीत भए पनि ब्राह्मण नै मान्नु या वैश्यको सन्तानलाई जति नै सात्विक जीवन बाँचे पनि र शिक्षित भए पनि वैश्य नै मान्नु भनेर शास्त्रमा कहाँ भनिएको छ?

यदि कसैले आफूलाई ब्राह्मण हुँ भनेर भन्छ तर शास्त्रले उसका लागि छुट्याएको जस्तो जीवनयापन गर्दैन भने त्यो उसैको दोष हो। यसमा शास्त्रलाई किन दोष दिइन्छ? यदि कोही व्यापार पेशामा संलग्न छ, उसको जीवन सात्विक छैन तर ब्राह्मण हुँ भन्छ या आफूलाई हेला गरियो भनेर भन्छ भने यसमा शास्त्रको के दोष? शास्त्रलाई आफ्नो समस्याको बीचमा किन ल्याउने?

मान्छेहरुको आफ्नो विकृत जीवनशैलीको पुष्टि गर्ने माध्यम बनिदियो शास्त्र। आफ्नो गल्ती लुकाउन या आफूलाई ठूलो देखाउन शास्त्रको सहयोग लिने परम्पराजस्तै बन्यो। यसले गर्दा शास्त्रहरुमा भएका वास्तविक कुराहरु समयक्रममा ओझेल पर्दै गए।

हो, त्योबेला केही समयसम्म ब्राह्मणको सन्तान ब्राह्मण नै बन्यो या शुद्रको सन्तान शुद्र नै बन्यो, किनभने उसले आफ्ना बुबा–हजुरबुबाबाट त्यही संस्कार सिक्यो। सबैले आ–आफूलाई छुट्याइएको काम इमान्दारिताका साथ पूरा गर्थे, तर त्यहाँ कुनै भेदभाव थिएन। कालान्तरमा सबै कुरा गडबड हुँदै गयो। त्यही गडबडीलाई हामीले शास्त्रको आधार दियौँ र गडबड अझै बढायौँ। जबकि शास्त्रले भनेको कुरा अर्कै थियो।

यस्तो विकृतिको सबै दोष शास्त्रमाथि थुपारिनु अत्यन्तै दुःखद् कुरा हो। अर्को पनि एउटा विकृति छ, जुन हेर्दा विकृतिजस्तो लाग्दैन तर यसकै कारण देश विकासमा धेरै नै असर परेको छ। त्यो हो, उमेर पुगेपछि वृद्धाश्रम नजानु।

आफ्ना बुबाआमालाई वृद्धाश्रम जाने वातावरण सिर्जना गरिदिनु त कता हो कता, कोही गइहाल्यो भने पनि उसका सन्तानलाई समेत तल्लोस्तरको दृष्टिले हेर्ने गरिन्छ।

वानप्रस्थाश्रमको विकल्प हो वृद्धाश्रम। अहिलेको समय वनमा गएर बस्न मिल्दैन या सकिँदैन। तर वृद्धाश्रमलाई वानप्रस्थाश्रमको रुप दिन सकिन्छ। यदि साँच्चैको शास्त्रीय कुरालाई मान्ने हो या आफू धार्मिक व्यक्ति हुँ भन्ने लाग्छ भने वृद्धाश्रममै गएर आफ्नो बूढेसकाल बिताउने वातावरण तयार हुनुपर्छ।

यदि हामी ‘मातृदेवो भवः,’ ‘पितृदेवो भवः’ भन्दै शास्त्रका वाक्यहरु फलाक्छौँ तर शास्त्रले नै भनेअनुसार वृद्धवृद्धालाई वृद्धाश्रममा बस्ने वातावरण बनाउँदैनौँ भने हामी पूरै गलत छौँ। यसको अर्थ हो, हामी आफूलाई धार्मिक भन्छौँ तर पालना गनैपर्ने कुरा पालना चाहिँ गर्दैनौँ।

बूढाबूढीलाई वृद्धाश्रम पठाउनुका बेफाइदाभन्दा फाइदाहरु धेरै छन्।

६० वर्षको उमेर कटेपछि वृद्धाश्रममा जाने व्यवस्था गर्ने हो आज हामीले बूढाबूढा राजनेताहरुको पुरानो शैलीलाई मानेर बस्नुपर्ने अवस्था आउने थिएन। युवाहरुले नेतृत्व पाउन बूढो नै हुनुपर्ने अवस्था पनि आउने थिएन। देशले सधैँ नयाँनयाँ सोच भएका व्यक्तिहरु पाउने थियो र त्यो सोच लागू भएर देश साँच्चै नै स्वर्ग बन्ने थियो।

भ्रष्टाचारले देशको विकास प्रक्रियालाई तहसनहस बनाउने थिएन, किनभने यदि बूढेसकालमा आफू वृद्धाश्रममा गएर बस्नुपर्छ भने कसका लागि भ्रष्टाचार गर्ने?

बूढेसकालमा किन आफ्ना सन्तानको बोझ बनेर बस्ने? यो बेला न बूढाबूढीले छोराछोरीका कुरा बुझ्न सक्छन्, न छोराछोरीले बूढाबूढीको मनोभाव। धेरैजस्तो बूढाबूढी बाध्य हुँदै सन्तानसँग बसिरहेका हुन्छन् भने छोराछोरीले पनि बाध्यताकै कारण बूढाबूढीको हेरचाह गरिरहेका हुन्छन्। यही बाध्यताले गर्दा उनीहरुको भावनात्मक सम्बन्धमा धेरै अन्तराल आइसकेको हुन्छ।

यदि बूढाबूढी भएपछि वृद्धाश्रम जाने व्यवस्था हुने हो भने धेरै तरिकाबाट धेरैलाई फाइदा हुन्छ।

बूढाबूढीले आफ्नै उमेरका मानिसहरुको सङ्गत पाउँछन्। यसले गर्दा आज भइरहेको बूढाबूढीको एक्लोपन आदिले निम्त्याउने मानसिक समस्या धेरै कम भएर जान्छ।

आफ्नो परिवारप्रतिको जिम्मेवारी नभएपछि भजन–कीर्तन या कुनै पनि साधना गरेर बस्न सक्छन्। यस्तो गर्दा मानव भएर जन्मिनुको उद्देश्य धेरथोर पूरा हुन्छ। छोराछोरीलाई मैले पहिला यसरी र उसरी हुर्काएँ, उसले मलाई केही पनि गरेन भन्ने गुनासो रहँदैन।

अर्कातिर उसका सन्तानले पनि आफ्नै दिमागले, आफ्नै हिसाबले गृहस्थाश्रम निर्वाह गर्न सक्छन्। बूढाबूढीको ध्यान नदिनुप¥यो भने पनि उनीहरुलाई ठूलो बोझ हल्का हुन्छ।

आजको आवश्यकता हो, प्रत्येक प्रदेशमा व्यवस्थित वृद्धाश्रम होस्। उनीहरुलाई सरकारका तर्फबाट सुविधापूर्वक हेरचाह हुने व्यवस्था होस्। उनीहरुले आफ्नो युवाकालमा आफूले सकेको देशभित्रै र देशकै लागि गरेका हुन्छन्। त्यसैले उनीहरु बिरामी हुँदा उनीहरुको सम्पूर्ण खर्च पनि सरकारले नै गरिदिने व्यवस्था हुनुपर्छ।

कतिपय अवस्थामा सन्तानहरुले आफ्ना वृद्ध आमाबुबाको उपचार गर्दागर्दै आफ्नो अमूल्य समय र धनार्जन गर्ने समय गुमाइसकेका हुन्छन्। यस्तो हुनु वृद्धवृद्धा र उनीहरुका सन्तान दुवैका लागि राम्रो होइन। यो अवस्था बढ्नु भनेको देशका लागि पनि घाटा नै हो।

वृद्धाश्रममा बेलाबेलामा ठूलाठूला कार्यक्रमहरु होऊन्। उनीहरुले जीवनभर सिकेका अनुभवहरु नयाँ पुस्तालाई सिकाऊन्। विविध चाडपर्वहरुमा सबै छोराछोरीहरुले सबै बुबाआमाहरुलाई भेटून्, रमाइलो गरुन्। यदि यस्तो हुन सक्यो भने एक–आपसमा माया र सद्भाव पनि बढ्छ। 

यो कुरा कत्ति पनि शास्त्रविपरीत छैन। शास्त्रहरुमा चार वर्णाश्रमका बारेमा स्पष्टसँग उल्लेख गरिएको छ। जसअनुसार –

पहिलो आश्रम हो, ब्रह्मचर्य। यो विद्यार्थीकाल हो। सामान्यतः २० वर्षसम्मको उमेरलाई यस आश्रममा गनिन्छ। बाँकी जीवन कसरी सजिलै यापन गर्ने भनेर सिकाउने उमेर हो यो। आगामी जीवनको तयारी हो। जति पनि सिक्नुपर्ने विद्याहरु छन् यही उमेरमा सिकिसक्नुपर्छ। यही विद्याकै बलमा उसले अर्को आश्रम सुरु गर्छ।

अर्को आश्रम हो, गृहस्थ। यस आश्रममा उसले विवाह गर्छ। परिवारको भरणपोषण गर्छ। आमाबुबालाई सहयोग गर्छ। उनीहरुबाट परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएर उनीहरुलाई वानप्रस्थानाश्रममा जाने वातावरण तयार गरिदिन्छ। इमान्दारिताका साथ धन कमाउँछ र परिवारको हेरचाह गर्छ। अरु गृहस्थाश्रमको जिम्मेवारी पूरा गर्न गाह्रो भइरहेकाहरुलाई सहयोग गर्छ।

तेस्रो आश्रम हो, वानप्रस्थ। यस आश्रममा उसले साधुत्वको जीवन बाँच्छ। उसका सन्तान गृहस्थाश्रममा प्रवेश गरिसकेका हुन्छन्। अब आफ्ना सन्तानका पनि सन्तान भनेर बस्नु उसका लागि मूर्खतापूर्ण कुरा हो। यो मोह हटाउन र आफूभित्रको बाँकी विकार हटाउन ऊ जङ्गलतर्फ प्रस्थान गर्छ। त्यहाँ संयमित जीवन बिताउँदै आध्यात्मिक प्रगति गर्ने प्रयास गर्छ र आफ्नो अन्तिम आश्रमका लागि आफूलाई तयार गर्छ।

चौथो आश्रम हो, संन्यास। यस उमेरसम्म बाँचियो भने यो पूर्णतया त्यागको जीवन हो। उसले भिक्षा मागेर भोजन ग्रहण गर्छ। उसमा कुनै पनि जिम्मेवारी हुँदैन। आफैँभित्र सक्दो डुबेर मर्ने तयारीका साथ बस्छ। मृत्युलाई सहज स्वीकार गरिसकेको हुन्छ।

अहिलेको समयमा यसरी जीवन बिताउने मान्छे लगभग छँदै छैनन् भन्दा फरक नपर्ला। यदि तपाईंले शास्त्रले भनेको मान्नुहुन्न भने भगवान् नमान्नेहरु या शास्त्रको विरोध गर्नेहरुको विरोध गर्ने अधिकार पनि तपाईंलाई छैन?

शास्त्रमा केही यस्ता पात्रहरु छन्, जो वनबास गएका छन्। कतिपयको जीवन त यस्तो छ, उनीहरुले त्योबेला भरपुर माया पाउनुपथ्र्यो। तर यस आश्रममा प्रवेश गर्दा मायामोहको कुनै स्थान छैन। मायामोह हटाउनकै लागि यस आश्रममा प्रवेश गर्न जरुरी भएको हो।

सत्यवती, अम्बिका र अम्बालिका
आफ्नो सन्तान भविष्यका राजा बन्न पाउनुपर्छ भन्ने शर्तअनुसार शान्तनुसँग विवाह गरेकी हुन्छिन् माझीकी छोरी सत्यवतीले। उनीहरुबाट दुई सन्तान जन्मिन्छन्, चित्राङ्गद र विचित्रवीर्य। शान्तनुपछि चित्राङ्गद हस्तिनापुरका राजा बन्छन्। एकपटक आफ्नै नाम गरेको गन्धर्वसँग युद्ध गर्ने क्रममा उनको मृत्यु हुन्छ। उनको सन्तान नभएका कारण उनका भाइ विचित्रवीर्य राजा बन्छन्। उनको काशी नरेशका छोरीहरु अम्बिका र अम्बालिकासँग बिहे हुन्छ। धेरै कामभोग गरेका कारण उनको पनि मृत्यु हुन्छ।

अब हस्तिनापुरमा कसलाई राजा बनाउने भन्ने समस्या सिर्जना हुन्छ। सत्यवतीले बिहे नगर्दै जन्माएको छोरो वेदव्यास र अम्बिका तथा अम्बिकाको नियोगबाट दुई सन्तान जन्मिन्छन्, धृतराष्ट्र र पाण्डु।

वेदव्यासको सल्लाहमा सत्यवती, अम्बिका र अम्बालिका वानप्रस्थानमा जान्छन् र त्यहीँ देहत्याग गर्छन्।

धृतराष्ट र गान्धारी
महाभारतयुद्धमा आफ्ना सबै सन्तान मरिसकेपछि उनीहरु अत्यन्तै विरक्तिएका हुन्छन्। केही वर्ष युधिष्ठिरको शासनकालमा हस्तिनापुरमा बसेपछि उनीहरु विरक्तिएकै अवस्थामा वानप्रस्थाश्रमका लागि जान्छन् र कठोर तपस्या गरेर आफूभित्रको पीडा भुल्ने अवस्थामा पुग्छन्।

एकदिन उनीहरु बसिरहेको वनमा आगलागी हुन्छ। त्यही आगलागीमा परेर उनीहरुको मृत्यु हुन्छ।

कुन्ती
आफ्ना श्रीमान् र आफ्नी सौताको मृत्युपश्चात् पनि आफ्ना सन्तानका लागि भनेर उनी बाँचिरहन्छिन्। महाभारतयुद्ध सकिएपछि जब धृतराष्ट्र र गान्धारी वन जान्छन्, उनी पनि पछि लाग्छिन्। वनमा आगलागी भएपछि उनीहरुसँगै उनको पनि त्यही मृत्यु हुन्छ।

सञ्जय
धृतराष्ट्रसँगै वनबास गएका उनलाई जङ्गलमा आगलागी भएपछि धृतराष्ट्रले त्यहाँबाट भगाइदिन्छन्। आफू दृष्टिविहीन र कमजोर भएका कारण भाग्न सक्दैनन् या भाग्न चाहँदैनन्। गान्धारी र कुन्तीले पनि धृतराष्ट्रलाई छाड्दैनन्।

सञ्जय त्यस वनबाट निस्केर हिमालतिर लाग्छन्।

विदुर
आफ्ना सन्तान, सम्पत्ति सबै छाडेर उनी पनि धृतराष्ट्रसँगै वन जान्छन्। त्यहाँ उनी अत्यन्तै कठोर साधना गर्छन्। एकपटक पाण्डवहरु उनीहरुलाई भेट्न गएका बेला युधिष्ठिरको सामुन्ने उनको मृत्यु हुन्छ।

ययाति
उनले शुक्राचार्यबाट बूढो हुने श्राप पाउँछन्। यदि उनका पाँच छोराहरुमध्ये कसैले उनको बूढेसकाल पाउने हो भने उनी जवान बन्न सक्ने हुन्छन्। उनले आफ्ना सबै छोराहरुलाई आफ्नो बूढेसकाल लिन अनुरोध गर्छन्। अन्तिममा उनका कान्छा छोराले स्वीकार गर्छन्। छोराबाट जवानी पाएपछि उनी त्यसको भरपुर उपयोग गर्नमा लाग्छन्। तर वर्षौं बित्दा पनि सन्तुष्टि नपाएपछि आफ्नो जवानी छोरालाई फिर्ता दिएर उनी वानप्रस्थानमा लाग्छन्।

यी उदाहरणहरु हिन्दूहरुको ग्रन्थ महाभारतबाट लिइएका हुन्। शास्त्रमा यस्ता वानप्रस्थाश्रम गएका घटनाहरु धेरै छन्।

यस लेखको निचोड हो, वृद्धाश्रम वानप्रस्थाश्रमको विकल्प हो। बूढेसकालमा वृद्धाश्रममा जाने व्यवस्था मिलाउने हो भने वृद्धवृद्धाहरु र उनीहरुका सन्तान दुवैलाई फाइदा हुन्छ। समाज र राष्ट्रले पनि नयाँ दिशा पाउँछ।

त्यसैले सबैजनाले आ–आफ्नो ठाउँबाट र सरकारले पनि व्यवस्थित वृद्धाश्रम बनाउनुपर्छ र त्यहाँ साना–ठूलो कसैको भेदभाव नगरी समान सुविधाका साथ बस्ने व्यवस्था तथा नियम बन्नुपर्छ।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad