८ वैशाख २०८१ शनिबार
राजनीति

मेरै कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुन्छःप्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि आग्रह गरेका हुन्।

‘मैले गरेका कामको चर्चा गरिरहनु पर्दैन,’ उनले भने, ‘तर सुन्दर, सुरक्षित र समृद्ध मुलुक बनाउन सबै लाग्नुपर्छ।’ प्रधानमन्त्री ओलीले शिक्षालाई जीवनउपयोगी बनाएर मुलुकमा गरिबी अन्त्य गर्ने र रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

काठमाडौंमा जारी दुईदिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः केशव थोकर

त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी शिक्षण संस्थाहरूको स्थापना गर्ने योजना रहेको उनले बताए। उनले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको पनि स्पष्ट पारे।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मुलुकभित्रै रोजगारीको अवसर अधिकतम सिर्जना गर्न र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनका लागि आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे।

दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरूले रोजगारीको अवसर सिर्जना हुने खालका विभिन्न क्षेत्रका पहिचानसहितको कार्यपत्र प्रस्तुत गर्ने पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।  
 

प्रकाशित: १५ असार २०७६ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App