coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

चैते धानमा मूल्यकै पिरलो

झापाको गौरादहमा चैते धान काट्न मेसिन प्रयोग गरिँदै। यो मेसिनले प्रतिघण्टा ७ हजार रुपैयाँमा किसानको धान काट्ने गरेको छ। तस्बिरः युवराज/नागरिक

प्रतिमन हजार रुपैयाँभन्दा बढी लागतमा उत्पादन हुने धानको मूल्य भने प्रतिमन साढे ५ सय।
दमक– असार १५ मा राष्ट्रिय धान दिवस धुमधामले मनाउने तयारी हुँदै गर्दा किसान भने त्यही धानको मूल्य नपाएर हैरान छन्। झापामा प्रशस्त उब्जनी हुने चैते धानको मूल्य नपाउँदा किसानले लागत नै उठाउन पनि सकेका छैनन्।

चैते धानको मूल्य नपाएर हैरानी खेपिरहेका बेला रोपाइँको उल्लास पनि धानको राजधानी मानिने झापामा छैन। असार १५ सम्ममा २० प्रतिशत हाराहारी मात्रै रोपाइँ हुन सकेको झापामा धेरैतिर सिँचाइ अभावको पिरलो छ। ‘एकातिर रोपाइँको सुरसार गर्न पाइएको छैन’, अधिकांश किसानको गुनासो छ, ‘अर्कोतिर चैते धानको भाउ नपाएर चिन्ता छ।’

अहिले मात्रै होइन, चैते धानमा किसान हरेक वर्ष ठगिन्छन्। यसपटक चैते धानको मूल्य प्रतिमन ५ सय ५० रुपैयाँमा किसानले बिक्री गरे। बढ्दो प्रविधिको प्रयोगले पनि लागत उस्तै छ। तर, आफ्नो उत्पादन भने अघिल्लो वर्षभन्दा २ सय ५० रुपैयाँ सस्तोमा धान किसानले बेच्न बाध्य भए। लागतअनुसारको समेत मूल्य आएन। झापा गौरादह–९ का समर्पण खतिवडाले प्रविधिको प्रयोग गरे पनि लागत भने बढ्दै गएको तर मूल्य भने घट्दै गएको बताए। ‘ अब यो धान अघिल्लो वर्ष ८ सय रुपैयाँ प्रतिमन थियो’, उनले भने, ‘अहिले भने मूल्य ५ सय ५० देखि ५ सय मात्रै भयो।’ उनका अनुसार चैतमा रोपिने धान राख्दासमेत फाइदा नहुने भएर किसानले समयमै बेच्छन्।

अहिले बजार मूल्य पशु आहाराभन्दा पनि कम भएपछि किसानलाई बर्खे धान निल्नु न ओकल्नु बनेको छ। ‘नबेची राखौं भने कुहिने डर, बेचौं भने लगानी उठ्दैन’, झापा कमल–७ का किसान भीम केरुङले गुनासो गरे, ‘मल, बीउ, खेताला लगाएको दामसमेत नउठ्ने गरी धान बेच्नुपर्दा हामी मारमा परेका छौं।’ धान काट्ने समयमा वर्षायाम सुरु भइसकेको हुन्छ। सुख्खा हुनेगरी सुकाउन सकिन्न। जसले गर्दा किसान आफैंले भण्डारण गर्न सक्दैन र जति मूल्य भए पनि बिक्री गर्न बाध्य छन्। तर, चामल मिल तथा उद्योगीहरूले मन खुसी मूल्य तोकिदिँदा किसान मारमा परेका हुन्। गौरादह–४ का किसान लीलाकृष्ण पौडेलले भने, ‘अलिकति आम्दानी हुन्छ कि भनेर धान रोपिन्छ, बेच्ने बेलामा निल्नु न ओकल्नु हुन्छ, भुसको दाममा नबेची उपाय नै छैन।’ उनी धानलाई सुख्खा बनाई लामो समयसम्म भण्डारणको व्यवस्था मिलाउन सके अनुकूल समयमा बिक्री गर्न पाइने आशा व्यक्त गर्छन्।

कमल–५ का देवेन्द्र आङ्देम्बेले अहिले सुँगुरलाई खुवाउने चारो किन्दा प्रतिकेजी २० रुपैयाँसम्म पर्ने तर धान मूल्य प्रतिकेजी १५ रुपैयाँ मात्र रहेको गुनासो गरे। उनले भने, ‘यो चैते धान फलाए पनि हैरानी मात्रै छ, बेचौं दाम छैन, राखौं नसुकाई काम छैन, सुकाऊँ भने प्रविधि छैन, घाममा सुकाऊँ भने असार हो, कतिखेर झरी पर्छ टुंगो हुँदैन।’ चिसो धान सुख्खा बनाउने ‘ड्रायर’को उपयोग बढाउन सके मूल्य पाइने आशामा किसान छन्।

झापामा ९० हजार हेक्टर धान खेतीयोग्य जमिन छ। विद्युतीय मोटरबाट भए पनि सिँचाइको पहुँच वृद्धि भएसँगै झापामा चैते धान २१ हजार हेक्टरमा हँुदै आएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार गत वर्षको भन्दा २ हजार हेक्टरभन्दा बढीमा धान खेती भएको छ। झापामा चैते धानको सरदर उत्पादन प्रतिहेक्टर ५ मेट्रिकटन हुने गरेको कार्यालय प्रमुख शालिकराम भट्टराईले बताए। गत वर्षको उत्पादन दरअनुसार यस वर्ष झापामा १ लाख मेट्रिक टनभन्दा बढी चैत धान उत्पादन हुँदै छ।

झापामा किसानले माटो हिल्याउनका लागि ट्याक्टरको प्रयोग गरे। रोप्नका लागि रोपाहार खोजे। काट्न, झार्ने काममा समेत किसानले प्रविधिकै प्रयोग गरे। हार्भेस्टर मेसिन लगाएर किसानले प्रतिघण्टा ७ हजार रुपैयाँमा धान काट्न लगाए। ‘गाउँमा जनशक्ति छैन, अब काम गर्न सकिने अवस्थासमेत छैन’, कमल–६ का विष्णुबहादुर खड्काले भने, ‘अनि मेसिन लगाउँदा लागतसमेत बढ्छ।’

अहिले किसानले गोरु, राँगा पाल्न छाडेका छन्। ‘प्रविधिले एक हिसाबले सहज पनि बनाएको छ, तर उत्पादनको लागत नउठ्दा भने समस्या हुन्छ’, उनले भने, ‘त्यसले पनि गाह्रो भएको छ।’

प्रकाशित: १५ असार २०७६ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App