४ वैशाख २०८१ मंगलबार
खेल

अफगानिस्तान कडा टक्करमा फेरि अभागी

अफगानिस्तानविरूद्ध जित हात पारेपछि पाकिस्तानी ब्याट्सम्यान इमान वसिम (दायाँ) र वाहब रियाज । तस्बिरः एपी

लिड्स (एजेन्सी) – अफगानिस्तानमाथि ३ विकेटको जित निकाल्दै पाकिस्तान शनिबार इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल सम्भावनालाई कायमै राख्न सफल भएको छ। 

अफगानिस्तानले दिएको २ सय २८ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाउँदा अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको हो। जारी प्रतियोगिताका सबै खेलमा पराजय भोगेको अफगानिस्तानमाथि कडा टक्करमा जित निकाल्न इमाद वसिमको ४९ रन महत्वपूर्ण रह्यो। पाकिस्तानका ओपनर फखर जमान शून्यमा पवेलियन फर्किंदा झट्का बेहोरेको पाकिस्तानका लागि इमाम उल हकले ३६, बाबर आजमले ४५, ह्यारिस सोहेलले २७ रनको योगदान गरेका थिए। मोहम्मद हाफिज १९ रनमा मुजिब उर रहमानको बलमा क्याच हुँदै पवेलियन फर्किंदा कप्तान सरफराज १८ रनमा रनआउट भए। कठिन अवस्थामा रहेको इनिङलाई सरफराजपछि आएका वसिमले सम्हाल्दै पाकिस्तानको जित सम्भव बनाए। विजयी नतिजा निकाल्दा वसिमलाई साथ दिएका वाहब रियाज १५ रनमा नटआउट रहे। वाहब क्रिज प्रवेश गर्नुअघि साडब खान ११ रनमा रनआउट हुँदै पवेलियन फर्किएका थिए।

कसिलो बलिङका बावजुद सम्हालिएको प्रदर्शन गरेको पाकिस्तानविरुद्ध अफगानिस्ताका मुजिब उर रहमान र मोहम्मद नाबीले समान २ विकेट लिएका थिए। रासिद खानको नाममा एक विकेट रहँदा पाकिस्तानका दुई ब्याट्सम्यानले रन आउट हुँदै क्रिज छाड्नुपरेको थियो।

संघर्षपूर्ण जितसँगै पाकिस्तानले तालिकामा ९ अंक बनाउँदै चौथो स्थानमा  आउन  सफल भएको छ। पाकिस्तान आयोजक इङ्ल्यान्डभन्दा १ अंकले माथि छ। यससँगै सेमिफाइलन समीकरण थप रोमाञ्चक बनेको छ। लगातार आठौं पराजय भोगको अफगानिस्तान अंकविहीन तालिकाको पुछारमा छ। विजयी पाकिस्तानले जारी प्रतियोगिताको अन्तिम खेलमा दक्षिण  एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग र अफगानिस्तानले क्यारेबियन टोली वेस्ट इन्डिजसँग खेल्न बाँकी छ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तान असघर अफगान र नजिबुल्लाह जार्दानको समान ४२ रनको मद्दतमा पाकिस्तानसामु २ सय २७ रन जोड्न सफल भएको थियो। निर्धारित ५० ओभर खेलेको अफगानी टोलीले ९ विकेट गुमाएको थियो। ओपनर रहमत शाहले ३५ रन जोड्दा ५ चौका प्रहार गरेका थिए। गुलबादिन नाइबले ३ चौकाको मद्दतमा १५ रन बटुल्दा हसमतुल्लाह शाहिदी पहिलो बलमै पवेलियन फर्किए। सामिउल्लाह सिनवारीले अविजित १९ रन जोड्दा मोहम्मद नाबीले १६ रनको योगदान गरेका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

२७ रन जोड्दा लगातार दुई विकेट गुमाएको अफागिस्तानले रहमतलाई तेस्रो विकेटका रूपमा गुमाउँदा ५७ रन जोड्न सफल भएको थियो। त्यसपछि केही सम्हालिएको अफगानिस्तानले १ सय २१ रन बनाउँदा पाँचांै विकेट पतन भएको थियो। मध्यक्रमका ब्याट्सम्यानले कसिलो बलिङ गरेको पाकिस्तानसामु खुलेर खेल्न सकेनन्। १ सय ६७ रन बनाउँदा छैटौं विकेट गुमाएको अफगानी टोलीका लागि नाजिबुल्लाह जर्दानले ४२ रन जोड्दै  पवेलियन फर्किंदा मध्यम स्कोरतर्फ पुगेको हो। अन्तिमतिर आएका ब्याट्सम्यानले समिउल्लाह सिनवारीलाई साथ दिन नसक्दा पाकिस्तान सामु सामान्य लक्ष्य प्रस्तुत गरेको हो।

एसोसिएट राष्ट्र अफगानिस्तानलाई सस्तैमा रोक्ने क्रममा पाकिस्तानका बलर शाहिन अफ्रिदीले सर्वाधिक ४ विकेट लिए। इमाद वसिम र वाहव रियाजले समान २ विकेट हात पार्दा साडब खानले एक विकेट आफ्नो नाममा लेखाए।

प्रतियोगितामा आइतबार अपराजित टोली भारत र आयोजक इङ्ल्यान्डले प्रतिस्पर्धा गर्नेछन्। उच्च मनोबलमा रहेको भारत आयोजकलाई उसैको मैदानमा स्तब्ध बनाउँदै दुई खेलअघि नै अन्तिम चारमा स्थान बनाउन चाहन्छ। यस्तै घरेलु दर्शकको साथ र समर्थन पाउने इङ्ल्यान्ड पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न अपराजित टोली भारतको यात्रालाई पूर्णविराम लगाउन चाहन्छ।

 

प्रकाशित: १५ असार २०७६ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App