coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मधेसका बस्ती काकाकुल

गणेशमान चारनाथ नगरपालिका–७ नवटोलीस्थित सरकारी संयन्त्रबाट निर्माण गरिएको खानेपानी इनार। पछिल्लो समय यो इनारमा पानी आउन छाडेको छ। तस्बिर : मिथिलेश/नागरिक

सिरहा - गर्मीयाम सुरु भएसँगै ‘कोर मधेस’ अर्थात् प्रदेश २ का अधिकांश जिल्लाका गाउँबस्ती काकाकुल बनेका छन्। इनारहरू सुक्न थालेका छन् । गहिरो गरी (करिब सय फिटमुनि ) गाडिएका चापाकल (ट्युबवेल) बाट पानी आउन छाडेको छ । खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्।

चेरे क्षेत्रका खोलानालाको अनियन्त्रित दोहन, वन विनाश, खानीजन्य पदार्थको जथाभाबी उत्खननका कारण पानीको मूल सुक्दै जान थालेकाले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीलाई खानेपानी समस्याले चर्को रूपमा गाँजेको छ। चारनाथ खोला र कमला नदी उत्तरवत्र्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको नवटोली निवासी कमल महतोले बताए। ‘कलको ह्यान्डल घन्टौं थिच्दा पनि बाल्टिन भरिन्न,’ उनले सुनाए। महतोको घरसामुन्ने खानेपानी कार्यालयले बनाइदिएको इनार छ तर पोहोरबाट त्यहाँमा पानी पलाउन छाडेको छ।

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरका जनता पनि खानेपानीको चरम अभाव खेप्न बाध्य छन्। ‘पोहोरसम्म जसोतसो चापाकलले पानी फालेको थियो,’ स्थानीय गीता जोशी भन्छिन्, ‘यसपालि त चुहिनै छाड्यो।’ यतिखेर गीताको परिवारलाई राजमार्गभन्दा दक्षिणतिर घर भएकी सुनिता भट्टराईकहाँबाट पानी ल्याएर प्यास मेटाउनुको विकल्प छैन। सिरहा गोलबजार नगरपालिकाका जनता पनि काकाकुल बन्न पुगेका छन्। चुरेनजिकैको यो नगरपालिकाका अधिकांश वडाका बासिन्दा पानीको चर्को अभाव बेहोर्न बाध्य छन्। पानीको मुहान तलतल गएपछि नगरवासी खानेपानीको समस्या झन्झन् चुलिँदै गएको स्थानीय रामस्वरूप महतो बताउँछन्।

चुरे फेदीमा अवस्थित धनगढीमाई नगरपालिकामा पनि खानेपानीको चर्को संकट छ। बस्तीको दक्षिण, पूर्व र उत्तर तीनैतिर जथाभाबी खानीजन्य पदार्थ उत्खनन, उत्तरको चुरेमा वन फँडानी र ढुंगा उत्खननका कारण खानेपानीका स्रोतका रूपमा रहेका बस्तीबस्तीका इनार सुकेका छन् । इनारमा पानी सुक्दा महुलिया, मुसहर्निया, महुवाडाँडा, टेनाटोल, खुट्टी, मड्यान, सर्रेलगायत टोलबासी पिरोलिएका छन्। महुलीका बासिन्दा छिमेकी कसहाको इनारमा मोटर जडान गरेर पानीको जोहो गर्छन् । त्यो इनारमा पनि पानीको सतह घटिसकेकाले पानी नपरे खानेपानी समस्या बढ्ने भन्दै स्थानीय पिरोलिएका हुन्।

‘छिमेकी गाउँ कसहाबाट मोटर जडान गरेर पानी ल्याएका छौं,’ महुलियाका विश्वनाथ यादव भन्छन्, ‘कसहा र महुलियाका बासिन्दाले दुई दर्जनभन्दा बढी मोटर जडान गरेर हाललाई पानी आवश्यकता पूर्ति गरे पनि बेलैमा वर्षा भएन भने त्यो इनारसमेत सुक्ने सम्भावना छ ।’ पिउने पानी नै नभएपछि कसरी बाँच्नु भन्दै पिरोलिएकी महुलिया निवासी शर्मिला यादवले नागरिकसँग भनिन्, ‘खानेपानीको अभावले साह्रै दुःख भोग्नुपरेको छ ।’ महुलिया बस्तीमा मात्र ५५ घरधुरी यादव, २ महतो, २ राम र १ सोनार गरी ६० घरधुरीको बसोबास छ ।

महुलिया मात्र होइन, सिरहामा चुरेसँग जोडिएका उत्तरी क्षेत्रका तीन दर्जनभन्दा बढी बस्तीका बासिन्दा बर्सेनि खानेपानीको चर्को समस्यामा परेका छन्। वर्षायामबाहेक उत्तरवर्ती क्षेत्रका बासिन्दाले चार महिनाजति खानेपानीको चरम समस्यासँग जुध्नुपर्ने अवस्था छ। त्यहाँका बासिन्दाले वर्षायाममा समेत खोलाको धमिलो पानीमा भर पर्नुपर्छ ।

फागुनको सुरुआतदेखि नै इनार, ट्युबवेललगायत खानेपानीका स्रोत सुक्न थालेपछि खोला र खोल्सीको पानीले तिर्खा मेट्न बाध्य भएको स्थानीयको भनाइ छ । लहान नगरपालिकामा पनि पानीको सतह तलतल गएको छ। नगरका बासिन्दा गहिरो खाल्डोमुनि मोटर लगाएर पानीको जोहो गर्न बाध्य छन्। नगरको उत्तरवर्ती बरदमार, गोविन्दपुरलगायत क्षेत्रका बासिन्दालाई पनि प्यास मेट्न सकस छ। खानेपानीको समस्या उत्तरवर्ती क्षेत्रबाट फैलिँदै बिस्तारै दक्षिणवर्ती क्षेत्रमा समेत सुरु भइसकेको छ । पाँच वर्षअघिसम्म लहानमा ट्युबवेल जडान गर्दा ४० फिट गहिराइमा भेटिने पानीको सतह पाउन अहिले १ सय २० फिटभन्दा तल जानुपर्छ । यो अवस्था बर्सेनि बढ्दै गए पानीको समस्या भोग्नुपर्ने अवस्था आउने स्थानीयको भनाइ छ ।

भूमिगत खानेपानीको तह तल धकेलिँदा चुरेक्षेत्र र चुरे दक्षिण क्षेत्रमा पानीको अभाव चुलिएको कर्जन्हा–२ बन्दीपुरका प्रकाश कोइरालाले बताए। चुरेमा मूल भएका नदीमा अनियन्त्रित दोहन यसैगरी भइरहे यहाँका बासिन्दा अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था आउने उनको भनाइ छ। यहाँका बासिन्दालाई खानेपानीको समस्या समाधान गर्न चुरे र नदी संरक्षणप्रति गम्भीर बन्नैपर्ने चुरे जलाधार संरक्षण समितिका महासचिव देवकुमार मोक्तानले भने। ‘गर्मी सहनै नसक्नेगरी बढेको छ । तिर्खा मेट्न पानीको अभाव वर्षैपिच्छे बढ्दै छ। चुरे संरक्षण र नदीमा संरक्षणमुखी कार्य गर्न सकिए मधेसमा पानीका लागि मानिस आकुलव्याकुल हुनबाट जोगिने मोक्तानले बतए। पानी संकटबाट पार पाउन चुरे र नदीको संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ।

प्रकाशित: १५ असार २०७६ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App