coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वैदेशिक व्यापारको आकार बजेटभन्दा ठूलाे

बिदेशबाट आयात भएका सामानका कन्टेनर वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा। फाइल तस्बिरः नागरिक

काठमाडौं – चालु आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार वार्षिक बजेटभन्दा झण्डै दुई खर्ब रुपैयाँले बढी हुने देखिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। यो वर्षको ११ महिना (जेठ) मै मुलुकको वैदेशिक व्यापार १३ खर्ब ८७ अर्ब रुपैयाँ पुगिसकेको छ। यो बजेटभन्दा ७२ अर्ब रुपैयाँ धेरै हो। वैदेशिक व्यापारको अहिलेसम्मको मासिक औसत (एक खर्ब २६ अर्ब) को आधारमा अनुमान गर्दा असार अन्त्यसम्ममा कुल व्यापार १५ खर्बभन्दा माथि पुग्ने देखिन्छ। यही हिसाबमा चालु आवमा वार्षिक बजेटभन्दा वैदेशिक व्यापार दुई खर्ब रुपैयाँले बढी हुने देखिएको हो।

व्यापार घाटा १२ खर्ब ११ अर्ब
भन्सार विभागका अनुसार विगतमा जस्तै चालु आवमा पनि वैदेशिक व्यापारमा घाटा चुलिँदै गएको छ। यो वर्षको जेठसम्ममा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। जेठसम्ममा मुलुकले १२ खर्ब ९९ अर्ब रुपैयाँका सामान आयात गरेकामा निर्यात ८७ अर्ब रुपैयाँ मात्र भएको छ। यही कारण कुल व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको हो। कुल वैदेशिक व्यापारमा आयातको अंश ९३.७ र निर्यातको ६.३ प्रतिशत छ। वैदेशिक व्यापारलाई गत वर्षसँग तुलना गर्दा आयात, निर्यात र कुल व्यापार घाटा १७–१८ प्रतिशतका दरले बढेका छन्।

भारतको दबदबा कायमै
नेपालको वैदेशिक व्यापारमा विगतमा जस्तै दक्षिणी छिमेकी भारतको दबदबा कायमै छ। कुल व्यापारमा भारतसँगको कारोबार आठ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। यो वर्षको जेठसम्ममा नेपालले भारतमा ५६ अर्ब ५३ करोड रुपैयाँका सामान निर्यात गरेको छ। भारतबाट आठ खर्ब ४१ अर्ब रुपैयाँका सामान ल्याएको छ।

चालु आर्थिक वर्षको १३ खर्ब १५ अर्बको वार्षिक बजेटभन्दा व्यापार घाटाको आकार दुई खर्ब रुपैयाँले ठूलो हुने देखिएको छ।

यस हिसाबले भारतसँगको मात्र व्यापार घाटा सात खर्ब ८५ अर्ब रुपैयाँ छ। नेपालले आफैं उत्पादन गर्न सक्ने कृषिजन्य वस्तु तरकारी, फलफूल, खाद्यान्न, माछामासुलगायतमा भारतको भर पर्नुपर्ने अवस्थाले भारतसँगको व्यापार घाटा चुलिएको हो। नेपालले भारतबाट वार्षिक झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ पनि आयात गर्दै आएको छ।        

नेपालको ठूलो व्यापार घाटा भएको अर्को मुलुक चीन हो। उत्तरी छिमेकी चीनसँग यो वर्षको ११ महिनासम्ममा व्यापार घाटा एक खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। नेपालले चीनमा एक अर्ब ९६ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ। चीनबाट एक खर्ब ८६ अर्ब रुपैयाँका सामान आयात गरिएको छ।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकासँगको व्यापार भने धेरै डरलाग्दो देखिएको छैन। चालु आवको जेठसम्म अमेरिकाबाट ११ अर्ब ५१ करोडका सामान आयात गरिएकामा नौ अर्ब ७९ करोडका सामान निर्यात गरिएको छ। अमेरिकासँग नेपालको व्यापार घाटा एक अर्ब ७२ करोड रुपैयाँ मात्र छ।

विगतमा अमेरिकाले भन्सार सहुलियत कोटाको सुविधा दिएका बेला नेपालबाट ऊनी गलैंचा, तयारी पोसाक, पस्मिना, हस्तकलाका सामान पर्याप्त मात्रामा जाने गरेको थियो। पछिल्लो समय उक्त सुविधा कटौतीसँगै नेपाली सामानको गुणस्तरमा देखिएको विवादले अहिले निर्यातमा कमी आएको हो।   

४५ मुलुकबाट आयात मात्र
नेपालले व्यापारिक कारोबार गर्ने विश्वका एक सय ५७ मुलुकमध्ये ४५ देशबाट सामान आयात मात्र गरेको देखिएको छ। भन्सार विभागका अनुसार छिटफुटलाई छोडेर नेपालको व्यापारिक कारोबार हुने विश्वका मुलुक एक सय ५७ छन्। नेपालले सामान आयातमात्र गर्ने ४५ मुलुकमध्ये सबैभन्दा बढी अर्जेन्टिनाबाट ल्याएको देखिन्छ। विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा अर्जेन्टिनाबाट नौ अर्ब ९१ करोड रुपैयाँका सामान आयात गरिएको छ। नेपालले अर्जेन्टिनामा एक रुपैयाँको सामान पनि पठाउन सकेको छैन।

अर्जेन्टिनाजस्तै तुर्किमिनिस्तान, पाराग्गे, ग्वाटेमालालगायत मुलुकसँग नेपालको एकतर्फी व्यापार छ। ती मुलुकबाट आयात मात्र हुन्छ। चालु आवमा नेपालले तुर्किमिनिस्तानबाट दुई अर्ब ५२ करोड रुपैयाँ बराबरका सामान आयात गरेको छ। पाराग्वेबाट ६४ करोड ५७ लाख र ग्वाटेमालाबाट १८ करोड २८ लाख रुपैयाँका सामान आयात गरिएको हो। व्यापारिक सम्बन्ध बनेका ४५ मुलुकको सानो बजार लिन सके पनि मुलुकको व्यापार घाटा कम गर्न सहयोग पुग्ने थियो।

१० मुलुकमा निर्यात मात्र
नेपालले ४५ मुलुकसँग सामान आयात गर्ने निर्यात नगर्ने गरे जस्तै १० वटा मुलुकमा निर्यातमात्रै गर्छ। ती मुलुकबाट आयात हुँदैन। विभागका अनुसार पानामा, बर्मुडा, अल्जेरिया, अर्मानिया, घाना, अजरबैजान, यमनलगायत मुलुकमा नेपालबाट निर्यात मात्रै हुन्छ। यी मुलुकहरुमध्ये सबैभन्दा बढी सामान अल्जेरियामा निर्यात गरिएको छ। चालु आवको ११ महिनामा त्यहाँ आठ करोड ४६ लाख रुपैयाँका सामान पठाइएको हो। अल्जेरियापछि यमनमा दुई करोड ७१ लाख रुपैयाँ बराबरका सामान निर्यात गरिएको छ। यस्तै पनामा र अर्मानियामा २३–२३ करोड रुपैयाँका सामान पठाइएको छ।

२२ मुलुकसँग व्यापार नाफामा
नेपालले व्यापारिक कारोबार गर्ने एक सय ५७ मुलुकमध्ये २२ वटा मुलुकसँग व्यापार नाफामा रहेको देखिएको छ। विभागका अनुसार सार्क मुलुकमध्ये अफगानिस्तान र माल्दिभ्ससँग हाम्रो व्यापार नाफामा छ। व्यापार नाफामा भएका अन्य मुलुकमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, मोनाको, न्यू क्यालेडोनिया, मरिसस, यमन, अल्जेरिया, पनामालगायत छन्।

सार्क मुलुकको अफगानिस्तानसँग नेपालको व्यापार नाफा एक करोड ४६ लाख र माल्दिभ्ससँग ५७ लाख रुपैयाँ रहेको छ। सार्क मुलुकबाहेकका देशमध्ये सबैभन्दा बढी व्यापार नाफा भएको मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक हो। चालु आवको ११ महिनामा नेपालको यो मुलुकसँगको व्यापारिक कारोबारमा २७ करोड ५८ लाख रुपैयाँ नाफा छ। नेपालले यो मुलुकमा २७ करोड ७५ लाख रुपैयाँको सामान निर्यात गर्दा त्यहाँबाट १७ लाख १९ हजार रुपैयाँका मात्र सामान आयात गरेको छ।

यस्तै मोनाकोबाट नेपालले नौ लाख ४२ हजार रुपैयाँका सामान ल्याएकामा त्यहाँ ७७ लाख ३९ हजार रुपैयाँ बराबरका सामान पठाएको छ। यो कारोबारबाट नेपाललाई ६७ लाख ९७ हजार रुपैयाँ नाफा भएको छ।

प्रकाशित: १५ असार २०७६ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App