७ वैशाख २०८१ शुक्रबार
अर्थ

बन्द चिया उद्योग खुलाउने सहमति

इलाम–हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई त्यसको न्यूनतम् मूल्य दिन नसकेको भन्दै बन्द भएका सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग खुलाउने सहमति भएको छ। शनिबार सूर्याेदय नगरपालिका कार्यालयमा भएको जनप्रतिनिधि, उद्योगी र किसानबीचको छलफलमा चियामा गुणस्तर कायम गर्दै उद्योग चालू गर्ने सहमति जुटेको हो।

छलफलमा सूर्याेदय नगरपालिकाले गतवर्ष लागू गरेको ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ अनुसार किसानले हरियोपत्तीमा गुणस्तर कायम राख्ने, उद्योगीले पनि गुणस्तर घटाउन नपाउने सहमति भएको हो। सूर्याेदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले नगरपालिका, उद्योगी र किसान सम्मिलित टोली बनाएर चियाको गुणस्तर अनुगमन गर्नेसमेत सहमति भएको बताए। ‘हरियो चियापत्तीको गुणस्तर कायम राख्ने, एउटा उद्योगले नलिएको गुणस्तरहीन हरियो चियापत्ती अर्काे उद्योगले नलिने सहमति भएको छ,’ सचिव कट्टेलले भने, ‘सहमतिपछि आजै (शनिबार) नै उद्योग खुलाउन हामी राजी भएका छौं।’

कार्यविधिमा व्यवस्था भएअनुसार किसानले न्यूनतम् ४० प्रतिशत सुइरो भएकै हरियोपत्ती उद्योगलाई बेच्नुपर्ने, उद्योगीले त्यस्तो पत्तीको कम्तीमा प्रतिकिलो ४० रुपैयाँ किसानलाई दिनुपर्ने उल्लेख छ। ‘कार्यविधिमा भएकै व्यवस्थालाई नगरपालिकाले उद्योगी र किसानसमेत समेटिएको टोली बनाएर अनुगमन गर्ने सहमति भएको छ,’ छलफलमा सहभागी सूर्याेदय नगरका आर्थिक समिति संयोजक देवेन्द्र शर्माले भने, ‘कार्यविधि पालना गर्दा चियामा आफसे आफ गुणस्तर कायम हुन्छ।’

अनुगमनका लागि चिया विस्तार आयोजनाका प्रमुख रामअवतार साहको संयोजकत्वमा १३ सदस्यीय समिति बनाउने सहमति भएको छ। समितिमा नगरपालिकाबाट ३, उद्योगीबाट २, किसानबाट ४, एसोसिएसनबाट ३ प्रतिनिधि, सूर्याेदय उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य र नगरस्तरीय सहकारी शाखाका प्रमुख सदस्य–सचिव रहने सहमति पनि छलफलमा भएको छ।

भारतीय बजारमा तयारी चियाको मूल्य नपाएपनि उद्योगहरूलाई नगरपालिकाले हरियोपत्तीको मूल्य बढी दिनुपरेको भन्दै गत १२ गतेदेखि सूर्याेदय टी एसोसिएसनमा आबद्ध यहाँका ५२ चिया उद्योग बन्द थिए। उद्योग बन्द भएपछि ३ हजार हाराहारी किसान प्रभावित भएका थिए।

प्रकाशित: १४ असार २०७६ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App