७ वैशाख २०८१ शुक्रबार
भिडियो

प्रचण्डको प्रश्नः मदन भण्डारीको जस्तै भोलि अर्को घटना नहुने ग्यारेन्टी किन गर्न सकेका छैनौं?

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गरेका छन्।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक हत्या प्रतिहत्याका दोषिलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताएका हुन्। मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भएपनि आज सम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोली पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत उनले गरे।

नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दै उनले ठूलाठूला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिलेसम्म सफल हुन नसकेको बताए। मदन भण्डारी हत्या, उनका चालकको हत्या अनि दरबारहत्याकाण्ड भईसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको तर्फ गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

'के ले दिदैन हामीलाई? जनताले नदिएको त पक्कै होइन। हामी अहिले सरकारमा छौ। सरकारको नेतृत्व गरेका छौ तर भन्न सक्ने ठाउँमा छैनौ। बरु यसलाई त्यसै त्यसै ढिला हुन दिउँ त्यसै ठीक हुन्छ भन्या जस्तो अवस्था हाम्रो छ।' उनले थपे 'कमरेड मदन भण्डारीको रहस्यमय अवसान किन भयो र भोली त्यस्तै हुदैन भन्ने कुराको ग्यारेन्टी हामीले किन गर्न सकिराखेका छैनौ मेरो प्वाईन्ट त्यहाँनिर हो।'

उनले राजा विरुद्ध बोल्न सक्ने र बैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडठाडै लल्कार्न सक्ने हैसियत राख्न सक्ने नेता पनि भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाईन गरेको हो भनेर बुझ्न गाह्राे नभएपनि हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना हुन सक्ने आंशका गरे।

'तपाई हामी यसलाई मदन भण्डारीको महानता ठान्छौ कि? कमजोरी? कमरेड मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रतिक्रियावादीहरु प्रतिको उनको वर्ग दृष्टिकोण हो त्यो। त्यस अर्थमा उहाँ महान हुनुहुन्थ्यो भनेर नै हामी भन्छौ।' उनले थपे 'त्यसो भन्छौ भने कहिले काही मलाई चिन्ता लाग्ने कुरो के हो भने हामी आजभोली आफ्नो छाला बचाउन तिर लाग्नेमा त छैनौ कतै? भाषा नरम गरेर नरिसाउन प्रतिक्रियावादी भन्ने तिर पो जान लागेका त छैनौ?हामी मारिएका छैनौ अहिले सम्म। मारिन पनि सक्छौ। यहा विचारणीय छ।'

उनले जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तराष्टिय शक्तिहरुलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामुहिक मेहनत नभए दुई नेता असफल हुने खतरा तर्फ जान सक्ने संकेत गरे। पार्टी सुदृढ गर्दै सरकारलाई सफल पार्ने र जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै उनले त्यसले सिंगो मुलुकको प्रणालीनै खतरामा पर्ने संकेत गरे।

प्रकाशित: १४ असार २०७६ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App