coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीमा ३ दशमलव ५ प्रतिशत रोपाइँ

सिन्धुलीको तीनपाटन गाँउपालिकास्थित चकमकेको खेतमा देखिएको पाक्ने बेलाको चैते धान ।तस्विरः अनिल भण्डारी/नागरिक

सिन्धुली– असारको दुई साता बितिसक्दा पनि यस वर्ष सिन्धुलीमा धान रोपाइँले गति लिन सकेको छैन। पर्याप्त पानी नपर्दा यस वर्ष किसानहरुले धान रोपाइँ गर्न सकेका छैनन्। जसोतसो सिँचाइ गरेर केहि छिटपुट स्थानमा धान रोपाइँ सुरु भए पनि यस वर्ष असारको आधा भइसक्दा पनि किसानले धान रोप्न पाएका छैनन्।

कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार यस वर्ष ३ दशमलब ५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । ‘यस वर्ष धेरै रोपाइँ भएको छैन’, कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले भने, ‘केहि दिन अगाडीको तथ्याङक हेर्दा ३ दशमलब ५ प्रतिशत मात्रै रोपाइँ भएको छ।’ जिल्लाको पश्चिमी क्षेत्रमा बढी रोपाइँ भएको र पुर्वी क्षेत्रमा हुन नसकेको उनको भनाई छ।

सिँचाइको सुविधा नहुँदा सुनकोसी गड्तिर क्षेत्र रोपाइँको अझै सुरसारनै नभएको प्रमुख ढकालको भनाई छ। जिल्लामा विगतको वर्षलाई हेर्दा धान उत्पादन बढ्दै गएको तथ्याङकले देखाएपनि यस वर्ष मनसुन ढिलो हुँदा समस्या भएको उनले जनाए। धेरै खेतहरु आकाशे पानीमै निर्भर भएकाले किसानले धान रोप्न नसकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम बताउँछन्।

‘सिन्धुलीमा धान उत्पादन हुने उर्वर जमिन प्रसस्तै देखिएको छ, तर सिँचाइको सुविधा नपुगेकाले उत्पादन बढाउन सकिएको छैन’, प्रजिअ गौतमले भने ‘जुनसुकै समयमा सिँचाइ गर्न सकिने गरि सिँचाइको व्यवस्था गर्नुपर्ने देखिन्छ।’ लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खोला नाला समेत सुक्दै गएकाले किसानले सिँचाइ गर्न सकेका छैनन्। असारको दोस्रो साता वितिसक्दा पनि प्रसस्त पानी नपरेकाले किसान चिन्तित भएका हुन्।

धानकै सिजनलाई मध्यनजर गरेर अनुदानका मलसमेत उपलब्ध गराइएको भन्दै किसानको माग अनुसार मल आयात सन्तुलन भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख ढकाल बताउछन्। बैज्ञानिक ढङगले अध्ययन गर्दा सिन्धुलीमा ३५ सय मेट्रिकटन मल आवश्यकता पर्ने भएपनि किसानले २६ सय मेट्रिक्टन मात्रै माग गरेको ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ।

धान दिवस चक्लाबन्दी खेतीमा
वर्षेनी मनाइदै आएको धान दिवस यस वर्ष सिन्धुलीको दुधौली नगरपालिका २ को सामुहिक खेतीमा गएर मनाइने भएको छ। प्रत्येक वर्षको असार १५ गते मनाईने धान दिवसमा यस वर्ष धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनिकरण भन्ने मुल नारा सहित सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। केन्द्रका प्रमुख राजन ढकालका अनुसार  यस वर्षको धान दिवस सहकारीमा आधारित सामुहिक चक्लाबन्दी खेती कार्यक्रम सञ्चालन भएको नमुना कृषि सहकारी संस्था दुधौली नगरपालिका २ भलुवाईमा आयोजना गरिएको छ।

प्रकाशित: १४ असार २०७६ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App