coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भारतीय तरकारी रोकिएपछि किसान उत्साहित

धनगढीस्थित हाटबजारमा तरकारी बेच्दै किसान। तस्बिरः पुष्पराज/नागरिक

धनगढी – उन्नत बीउ, मल, सिँचाइ र आधुनिक प्रविधिको अभावका बाबजुद परम्परागतरूपमा खेती गरिरहेका किसानलाई आफ्ना उत्पादनको बजार नपाउँदा लागत पनि नउठ्ने पीडा थियो। मिहिनेतअनुसारको आम्दानी नहुँदा कृषि पेसामा लागेकाहरूको मनोबल खस्कँदै गइरहेका बेला सरकारले भारतीय तरकारीमा रोक लगाएपछि भने परिदृश्य बदलिएको छ। उत्पादनको बजार नपाउने समस्या झेलिरहेका किसानहरूले बारीमै राम्रो मूल्यमा तरकारी बिक्री हुन थालेपछि भने हौसिएका छन्।

हप्ता दिनदेखि तरकारी बारीमै मूल्य बढेको बताउँदै धनगढी–५, जाईकी कमलादेवी चौधरीले भनिन्, ‘जहिल्यै तरकारी लगाउँथ्यौँ, मूल्य नै पाइँदैनथ्यो, यसपटक भने बारीमै तरकारी किन्न ग्राहक आइरहेका छन्।’

हाटबजारमा बेचिने मूल्यभन्दा महँगोमै बारीबाटै तरकारी उपभोक्ताले लगिरहेको बताउँदै उनी भन्छिन्, ‘उपभोक्ता आफैँ बारीमै आएर तरकारी किनिरहेका छन्।’ सरकारले भारतबाट आउने विषादीयुक्त तरकारी आयातमा रोक लगाएपछि किसानकै बारीमा ग्राहक आउन थालेको उनले बताइन्।

भारतीय तरकारी धनगढी बजारमा छ्यापछ्याप्ती हुँदा तरकारी बेच्न समस्या हुने गरेको बताउँदै उनले भनिन्, ‘हामीले सोझै उपभोक्तालाई बेच्न सक्दैनथ्यौँ, बिचौलियाले सस्तोमा किनेर महँगोमा उपभोक्तालाई बेच्थे।’ बिचौलियाले उपभोक्तालाई बेच्ने मूल्यमै अहिले भने आफूहरूले तरकारी बिक्री गरिरहेको उनले बताइन्। पहिले ५० रूपैयाँ प्रतिकिलोमा बेच्दै आएको लौका अहिले ६० रूपैयाँ प्रतिकिलोमा बारीमै बेचिन थालेको उनले बताइन्।

विषादी परीक्षणबिना आयात हुने तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै भन्सार विभागले असार २ गते तरकारी फलफूल आयात बन्द गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

धनगढी–६, जाली गाउँकी किसान मनिसा चौधरीले उन्नत बीउ, सिँचाइ, मल, प्रविधिको अभावले तरकारी खेतीमा समस्या भइरहेका बेला भारतीय किसानले अनुदानमा उत्पादन गरेको तरकारीसँग प्रतिस्पर्धा गर्न सजिलो नभएको बताउँदै भनिन्, ‘भारतीय तरकारीका कारण व्यावसायिकरूपमा तरकारी खेती गर्ने किसानहरू मर्कामा थियौँ।’ अहिले भारतीय तरकारी रोकिँदा किसानलाई स्वागतयोग्य कुरा भएको उनले बताइन्।

भन्सार विभागले भारतीय तरकारी आयातमा रोक लगाउन दिएको निर्देशनपछि अघिल्लो शुक्रबारदेखि कैलाली, कञ्चनपुरका भन्सार कार्यालय भएर तरकारी नेपाल भित्रिएका छैनन्। जसका कारण नेपाली किसानलाई राहत पुगेको छ। विषादी परीक्षणबिना आयात हुने तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै भन्सार विभागले असार २ गते तरकारी फलफूल आयात बन्द गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो।

भन्सार विभागको परिपत्रमा क्वारेण्टाइन जाँचको प्रमाणपत्र नभएका सबै फलफूल तथा तरकारी आयातमा प्रतिबन्ध लगाउन निर्देशन दिइएको थियो। कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख गोपीकृष्ण उप्रेतीले भन्सार विभागको परिपत्रपछि तरकारी र फलफूलको आयातमा रोक लगाएको बताए। विषादी परीक्षणपछि मात्रै तरकारी र फलफूल आयात गर्न निर्देशन भएको उनले बताए। तर, विषादी परीक्षणको व्यवस्था भने हालसम्म सुदूरपश्चिममा नभएको उनले बताए।

भन्सार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामप्रसाद पोखरेलले पनि क्वारेण्टाइन जाँचको प्रमाणपत्र नभएपछि फलफूल र तरकारी आयात रोकिएको जानकारी दिए। कैलाली र कञ्चनपुर भन्सारबाट दैनिक आलु, प्याज, हरियो तरकारी, खुर्सानी, कागती, आँपलगायतका तरकारी र फलफूलका ट्रकहरु भित्रिँदै आएका थिए। विषादी परीक्षण गरेर तरकारी ल्याउने निर्णय राम्रो भए पनि भन्सारमा क्वारेण्टाइन चेकजाँच गर्ने प्रयोगशाला नहुँदा समस्या हुने देखिएको छ।

स्थानीय कृषकले भने सरकारको सो निर्णय स्वागत योग्य रहेको भन्दै सदाका लागि आयातित तरकारी तथा फलफूलमा रोक लगाउनु पर्नेमा जोड दिएका छन्। धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका तरकारी कृषक रामु चौधरीले विषादी जाँचबिना तरकारी र फलफूलको आयातमा प्रतिबन्ध लगाउने सरकारी निर्णय स्वागतयोग्य भएको बताए।

दुई लाख टन तरकारी आयात
करिब ३० लाख जनसंख्या रहेको सुदूरपश्चिममा वार्षिक तीन लाख टन तरकारी आवश्यक पर्छ। तर, यहाँ वार्षिक एक लाख टन मात्रै उत्पादन हुन्छ। बाँकी दुई लाख टन तरकारी बाहिरबाट आयात हुने गरेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

किसान उत्साहित भएर व्यावसायिकरूपमा तरकारी खेती गर्न थालेमा एक वर्षमै सुदूरपश्चिम प्रदेश तरकारीमा आत्मनिर्भर हुने विज्ञहरूले बताएका छन्। अहिलेसम्म किसानलाई तरकारी खेतीमा प्रोत्साहन नगरेकै कारण आयातमा परनिर्भर हुनु परेको बताउँदै सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि व्यवसाय महाशाखा प्रमुख यज्ञराज जोशीले भने, ‘किसानलाई सिँचाइ, उन्नत बीउ, मल, ढुवानी, बजारिकरण र बालिनालीको बिमा सुरक्षालगायतको व्यवस्था गरेर प्रोत्साहन गरेमा एक वर्षमै सुदूरपश्चिम तरकारीमा आत्मनिर्भर बन्छ।’ 

सुदूरपश्चिम प्रदेशबाट मात्रै तरकारीमा वार्षिक २० करोड बढी रूपैयाँ भारतमा गइरहेको बताउँदै उनले भने, ‘यदि तरकारीमा मात्रै किसानलाई आकर्षित गर्न सकेमा ठूलो रकम भारत जानबाट रोकिन्छ।’  भारतबाट आयात गरिने तरकारीको क्वारेण्टाइन चेकजाँच गर्दा ३५ प्रतिशत बढी विषादी भेटिएको बताउँदै उनले भने, ‘भारतबाट ल्याइने अधिकांश तरकारीमा विषादी प्रयोग गरिएको हुन्छ, जसले मानवस्वास्थ्यलाई प्रतिकूल असर पारिरहेको छ।’

प्रकाशित: १४ असार २०७६ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App