७ वैशाख २०८१ शुक्रबार
कला

बाराक ओबामा स्मार्ट लाग्छ

नेपाली फिल्ममा हालै प्रवेश गरेकी अभिनेत्री सुहाना थापाको पहिलो फिल्म नै निकै तारिफ पाउन सफल भयो। ‘ए मेरो हजुर ३’ उनका बुबा सुनीलकुमार थापाले निर्माण गरेको र उनकी आमा झरना थापाले निर्देशन गरेको भएकाले मात्र उनको चर्चा भएको होइन। उनको पहिलो काम नै प्रशंसायोग्य रहेकाले पनि तारिफ पाएकी हुन्। उनै सुहानालाई नागरिक परिवारले उनका प्रिय चिजवस्तुका बारेमा सोध्यो।

पुस्तक
मलाई भागवत् गीता पढ्न मन लाग्छ। मलाई भागवत् गीताले धेरै ज्ञानगुनका कुरा सिकाएको छ। यो संसार के हो र कसरी चल्न सक्नुपर्छ भन्ने सबै कुरा भागवत् गीतामा लेखेको पाएँ। म प्रायः यो पुस्तक पढिरहेकी हुन्छु। मैले मात्र होइन, हरेकले यो पुस्तक पढ्न जरुरी छ जस्तो लाग्छ। त्यस कारण पनि यो पुस्तक मलाई प्रिय लागेको हो।

लेखक
मलाई प्रायः सबै लेखक मन पर्छन्। सबैको लेखाई आ–आफ्नो किसिमको हुन्छ। एउटा मात्र त कसरी भन्न सकिन्छ र? होइन?  

चस्मा
मलाई यही चस्मा मन पर्छ भन्ने छैन। धुलोबाट बच्नका लागि आँखालाई शितल बनाइराख्नका लागि लगाउन चाहिने हो। त्यसैले यही ब्रान्डको भन्ने छैन। रेवनको चस्मा पनि लगाइरहेकी हुन्छु, अरु पनि लगाइरहेकी हुन्छु। विशेषगरी आँखा ढाक्ने गरी बनाइएको डिजाइन मन पर्छ।

भेट्न मन लागेको व्यक्ति
मलाई एकदम स्मार्ट लाग्ने अमेरिकाको पूर्व राष्ट्रपति बाराक ओबामा हो। जीवनमा केही काम गरेर नथाक्ने मान्छे उही हो जस्तो लाग्छ। त्यसैले पनि मलाई उनीसँग भेटेर देशलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर दश मिनेट कुरा गर्थें होला।
भेटिरहन मन लाग्ने व्यक्ति
अहिलेसम्म कोही पनि हुनुहुन्न।

अभिनेता
मलाई हलिउड अभिनेता टम ह्याङ्क्स मन पर्ने अभिनेता हुन्। उनको अभिनय एकदमै सजीव लाग्छ। कथामा डुबेर अभिनय गर्छन्। बलिउड अभिनेता आमिर खानले पनि  उनको प्रशंसा गरेका थिए। हलिउडका टम ह्याङ्क्स र बलिउडका आमिर खानको अनुहार पनि उस्तैउस्तै लाग्छ मलाई त। अभिनय पनि उस्तै राम्रो लाग्छ। रियल नै हो कि जस्तो काम गर्छन्। सुरुवातीका दिनमा धेरैजसो दर्शकले आमिरलाई टमकै रूपमा हेर्ने गर्थे  तर आमिरले बलिउडमा आफ्नो बेग्लै स्थान बनाउन सफल भए। यी दुवैको अभिनय मलाई मनपर्ने भएकाले दुवै मन पर्छ तर अझ बढी त मलाई टम ह्याङ्क्स नै मन पर्छन्।

अभिनेत्री
मनीषा कोइरालाको हाउभाउ एकदमै राम्रो लाग्छ। नेपाली भएर पनि बलिउडमा चर्चित अभिनेत्रीको रुपमा चिनिन सफल भइन्। नेपालको नाम चम्काउन सफल मनीषा दिदीको जुन लेबलको अभिनय छ, त्यस्तै गर्न म कहिले गर्न सक्छु होला भन्ने लाग्छ। उनको अभिनय हेरेर म फिदा भएकी छु।

गीत
मलाई महामन्त्र मन पर्छ। हरे कृष्ण हरे राम धेरै मन पर्छ। म गाइरहेकी पनि हुन्छु। यो गीत गुन्गुनाउँदा आनन्द आउँछ। एकान्तमा पनि यो गीत गुन्गुनाउँदा म रमाउन सक्छु। अमेरिकामा पढेकी मान्छे, अंगे्रजी गीतहरु नसुन्ने वा मन नपर्ने होइन तर जति गाए पनि सुने पनि अल्छी नलाग्ने गीत त मेरालागि यही हो।

गायक
प्रताप दास मलाई मनपर्ने पछिल्लो गायक हुन्। अब किन मन प-यो भन्दाखेरी स्वर सुरिलो लाग्छ। पहिलो पटक मैले उहाँले गाउनुभएको गीत लाइभ स्टुडियोमा नै सुन्न पाएँ। उहाँको स्वर यति मीठो लाग्यो कि म बयानै गर्न सक्दिनँ। त्यही भएर मलाई प्रताप मनपर्ने गायक हो।

गायिका
मलाई मन पर्ने गायिकामा प्रविशा अधिकारी हुनुहुन्छ। उहाँ गीतको भावमा डुबेर गाउनु हुन्छ। उहाँले गाउनु भएको ‘गोधुली साँझमा’ गीत निकै मन परेको थियो। फेरि मलाई त उहाँ मान्छे पनि राम्री लाग्छ। बोलीचाली हाउभाउबाट पनि प्रभावित भएकी छु।

फिल्म
फिल्ममा मलाई हिन्दी फिल्म ‘देवदास’ एकदम मन परेको फिल्म हो। यस फिल्ममा कलाकारहरुले कस्तो रियल अभिनय गरेर मेरो मन जित्नुभएको छ। कथाअनुसार निर्देशकले पात्र चयन गर्नुभएको छ। यता नेपालीमा त धेरै नै मनपर्ने फिल्महरु छन्। मेरो मामुको फिल्म ‘ए मेरो हजुर २’ राम्रो लागेको हो। यसको कथावस्तु, अभिनय सबै कुराले छोएको छ।

निर्देशक
मलाई बलिउडको सञ्जय लीला भन्साली एकदमै मन पर्ने निर्देशक हुन्। उनले बनाएका फिल्महरुले सायद कमैको मन नजितेको होला। उनको निर्देशनका फिल्म सबै राम्रा र कथा अनुसारको पात्र चयन गर्छन्। त्यस कारण पनि मन परेको हो।

कलर
मलाई एलो, ब्लु मन पर्ने कलर हुन्। मैले लुगा छानेँ भने यही कलरको छान्ने गर्छु। आ–आफ्नो च्वाइस हो।

सवारी साधन
सवारी साधनमा मलाई गाडी नै मन पर्छ किनभने सानैदेखि गाडीमा नै चढेर सबैतिर हिँड्ने डुल्ने बानी भयो। मोटरसाइकल, साइकलमा राजधानीमा सुरक्षित पनि हुन गाह्रो छ। धुलोबाट जोगिन पनि गाडीमा नै राम्रो जस्तो लाग्छ।

फूल
मलाई पहेँला फूलहरु अलिक बढी मन पर्छ। सयपत्री, बगनबेली लगायतका फूल मन पर्छन्।

देश
जहाँ गए पनि मलाई त नेपाल नै राम्रो लाग्यो। विदेशमा एउटा सिस्टममा चलेको देखिन्छ तर यस्तो खालको रमाइलो वातावरण कतै पाइनँ। अमेरिका पनि राम्रै लाग्छ तर आफू जन्मेको जस्तो देश अन्त कहाँ हुन्छ र? होइन?

मोबाइल
मैले शुरुवातदेखि नै आइफोन बोक्ने गरेकी छु। योबाहेक त अरु त चलाउन पनि अप्ठेरो  लाग्छ। जसका कारण पनि आइफोन नै प्रिय लाग्छ। 

ड्रेस
मलाई कुर्ता सुरुवाल मन पर्छ। जहाँ जाँदा पनि फिट हुने र घरमा बस्दाखेरी लगाउन पनि सहज लाग्छ।

सपिङ गर्ने ठाउँ
 मलाई कतारको दोहामा मन पर्छ। त्यहाँ नयाँ–नयाँ डिजाइनका सामानहरु पाइन्छन्। उताबाट नै ममी–बाबाले मगाइदिनुहुन्छ। यतातिर त मैले खासै किनेकी छैन।

चाडपर्व
सबैलाई मन पर्ने र मान्दै आएको दसैं तिहार नै मलाई पनि मनपर्छ। मलाई दसैँमा घर परिवार, आफन्तकहाँ टीका लगाउन जान मन पर्छ। खासगरी मामाघर जाँदा रमाइलो लाग्छ। तिहारमा घर नै झिलिमिली हुन्छ। सबैको घर सफासुग्घर हुन्छ। वातावरण नै रमाइलो हुने हुनाले मलाई दसैँ तिहार मन परेको हो।
प्रस्तुतिः भोला अधिकारी

प्रकाशित: १४ असार २०७६ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App