८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टी छोड्दा करिश्माको कठोर आरोप, जवाफमा बाबुरामले भने : सहयात्रा स्वेच्छाले गर्ने हाे

काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न आरोप लगाउँदै भर्खरै पार्टी परित्याग गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई सरल जवाफ दिएका छन्।  अध्यक्ष भट्टराईले सहयात्रा स्वेच्छाले गरिने विषय भएको भन्दै सरल तथा कुटनीतिक रुपमा जवाफ दिएका हुन्। 

अभिनेत्री मानन्धरले पार्टी छोड्ने क्रममा ज्ञान र विज्ञानले राजनीति नहुने तथा व्यवस्थापनले हुने बताउँदै भट्टराईमा आफूले त्यो नपाएको भनेकी थिइन्।  भट्टराईलाई दुई वर्षे विदाको नोटिस नदिएको र दुई वर्ष पश्चात् फेरि चुनावमा प्रचार प्रसार गर्न आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाउँदै उनले भट्टराईको फोनसमेत नउठाउने बताएकी थिइन्। 

करिश्माले पार्टी छोड्ने क्रममा कठोर आरोप लगाएपछि बाबुरामले सामाजिक सञ्जालमार्फत सरल तथा कुटनीतिक जवाफ फर्काएका छन्। उनले भनेका छन्, ‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्रीहरु फेरिइरहन सक्छन्, जोसँग जहाँसम्म सहयात्रा गर्न सकिन्छ गर्नुपर्छ। कोही केही किलोमिटर मात्र सहयात्रा गर्लान्, कोही हजार किलोमिटर सहयात्रा गर्लान्। सहयात्रा स्वेच्छाले गर्ने हो। हामी धेरै भन्दा धेरैसँग अन्तिम गन्तव्यसम्म सहयात्रा गर्न चाहन्छौं। जसले जति दूरीसम्म सहयात्रा गर्छ, त्यतिसम्मका लागि हामी सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छौं। कसैप्रति कुनै दुर्भाव राख्दैनौं। हामी यात्रा निरन्तर जारी राख्छौं। सहयात्राको ढोका सधैं खुला राख्छौं।’ 

समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले अभिनेत्री मानन्धरले भट्टराईप्रति गरेको टिप्पणीमा मुख खोलेका छन्। उनले मानन्धरले भट्टराईको बारेमा गरेको टिप्पणीमा सत्य नबोले भ्रम हुनसक्ने बताए। भट्टराईले मानन्धरलाई शुरुवाती दिनदेखि नै प्रोत्साहन गर्दै आइरहेको र भट्टराई पनि मानन्धरको मेहेनत र सफलतामा खुसी भएको बताए। उनले भनेका छन्, ‘यदि नेपालमा नेपाली चलचित्र र नेपाली कलाकारलाई प्रोत्साहन गर्ने, माया गर्ने कोही नेता छ भने पहिलो नम्बरमा डा. बाबुराम भट्टराई नै हो। सायद यो कुरा धेरै कलाकारहरुले स्वीकार्नुहुन्छ होला।’

नेता पाण्डेले अभिनेत्री मानन्धरमाथि केही प्रश्न तेर्साएका छन्। ‘तपाईंमाथि अपमान भएको वा तपाईंले भनेजस्तो कलाकारलाई गहनाको रुपमा मात्रै पार्टीले, डा. भट्टराईले लिएको भए १ नम्बरमा तपाईंको नाम कसरी पर्थ्र्यो? डा. भट्टराईले एक जना करिश्मा मानन्धरलाई संरक्षण गर्न खोज्दा बाबुरामलाई हिजो सुख, दुःखमा साथ दिएका बलावती शर्मा, लिला भण्डारी, कल्पना धमला लगायत धेरै करिश्माहरु गुमाउनुपरेको छ। सायद उहाँले तपाईंलाई संरक्षण नगरेर अरुलाई बोक्नुपर्थ्यो कि? तपाईंको संरक्षण नगरेको भए चाहिँ सायद तपाईंले भनेजस्तो व्यवस्थापन कला उहाँमा पूर्ण हुने थियो कि?’

भ्रष्ट र पुराना राजनीतिक शक्तिबाट देशको समृद्धि नहुने पाण्डे बताउँछन्। आफ्नो फेसबुकमा स्टाटस लेख्दै भन्छन्, ‘पञ्चायतकालीन विचार बोकेर आफूलाई वैकल्पिक राजनीति गर्छु भन्नेहरुदेखि कुनै निश्चित पद नपाएर घर छोड्नेहरु पनि डा.बाबुराम भट्टराईलाई कमजोर र आरोपित गर्न कम्मर कसेर लागेका छन्।’ यस्तै, उनले विदेशमा जागिर पेन्सन पाकेपछि नेपाल फर्किएर मिडियाबाजी र एनजिओ शैलीको राजनीति गर्नेहरुले डा. भट्टराईको छवी धमिल्याउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। 

प्रकाशित: १४ असार २०७६ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App