यात्रा

मनमोहक रारा

शनिबार, १४ असार २०७६, १२ : ४८ नागरिक

निर्मलकुमार आचार्य
‘रारा’ अनुपम सौन्दर्यको खानी यसै कहलिएको होइन रहेछ।कञ्चन, सुविस्तृत चित्ताकर्षक रारालाई प्राकृतिक नयनाभिराम दृश्यले झनै मनमोहक बनाएको छ।पारखीका निम्ति राराको सौन्दर्य जति पिए पनि नअघाउने खालको छ भने कवि हृदय भएकालाई स्फुरणका निम्ति अजस्र स्रोत बनेको छ।गुनगुनाउनेलाई गायनमा मस्त बनाउने र सिर्जनामा रम्न खोज्नेलाई सेर, हाइकु, मुक्तक, कविता र गजल फुराउने मात्रै होइन, खण्डकाव्य तथा महाकाव्यका लागि समेत ज्योति जगाउने ‘रारा’ले कथा, नाटक, उपन्यास आदि लेख्न चाहनेलाई उम्दा सामग्री जुटाएको छ।

मन्सुरी, सिमला, काश्मिरको त के कुरा, स्विजरल्यान्ड नै लजाउने खालको जादूगरीले प्रणय–साधनामा तल्लीन भएकालाई मोहकताको पराकाष्ठामा पु¥याउने सामथ्र्य रारामा रहेको आभास हुन्छ।अशान्तिमा छटपटाइरहेकाले यहाँ सुशान्तिको भव्य विश्रान्ति पाउनेछन्।अध्यात्मको मार्गमा हिँडेकालाई किञ्चित् तन्मयताबाट पनि परमानन्दको रसानुभूति हुनसक्छ।

खोजी पसे यस्ता अनेक रोचक, ज्ञानवद्र्धक किम्बदन्ती, जनश्रुति तथा उल्लेख पाउन सकिने यथार्थलाई एकातिर थाती राखेर भन्नुपर्दा राराको हेरिरहुँझैं लाग्ने सौन्दर्य बखानिसक्नु छैन।‘मुर्मा’को टाकुरामा पुग्नेले हेरेर झन् कत्ति आनन्द लिँदा हुन्, कल्पना मात्रैले पनि मन प्रफुल्लित हुन पुग्छ।

होला, पदार्थविद्ले बेग्लै आँखाले हेर्लान्, जलस्रोतविज्ञका फरक दृष्टिकोण होलान्, जलचर, स्थलचर र नभचर अध्ययन गर्नेको अलग संसार होला ! जो जसको जे जस्तो आँखा र भाका भए पनि कसैप्रति भेदभाव नगरी सबैलाई मुक्तहस्त र उदार हृदयले सन्तुष्टि र तृप्ति बाँडिरहेको ‘रारा’ हेरुन्जेल मात्र होइन, सधैंभरिका लागि स्मृतिसुखको अविस्मरणीय तन्तु बनेको छ।

गत जेठ अन्तिम साता गरिएको राराको भ्रमण ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ले जुटाएको थियो।बन्धुमिलनका उद्देश्यले रुपन्देही, सुर्खेत, दैलेख, जुम्ला जाने ध्येयमा राराको गन्तव्य प्रेय बनेको हो।धर्तीको स्वर्ग वा स्वर्गकी अप्सरा मानिने रारानजिकै पुगेर मुन्टो बटारी फर्कनु उचित पनि त थिएन।नेपालगञ्ज–रारा, काठमाडौं–रारा मात्र होइन, नयाँदिल्ली–राराको समेत यात्रा चल्न थालेको घडीमा जोकोही राराको नजानिँदो चुम्बकत्वबाट तानिनु स्वाभाविक हो।तब त समयको पाबन्दी भएका साथीहरू समेत रारा जानबाट आफूलाई पन्छाउन किमार्थ समर्थ भएनन्।
सुर्खेतबाट दुईवटा जिप रिजर्भ गरी उकालो लागियो।जानेहरू १८ जना भइएकाले नौसिटे गाडी दुईवटा लिइएको थियो।दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुस्थित रारा पुग्नुअघि दैलेखको नारायण नगरपालिका र कालिकोटस्थित खाँडाचक्रमा गरी दुई रात बिताएर तेस्रो रात मुगुको सल्लेरीमा बास बसियो।दैलेख घुम्न नचाहनेहरू सोझै उही राति खाँडाचक्र सजिलै पुग्दा रहेछन्।

देवलोक मानिने दैलेख ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक हिसाबमा बेजोडको रहेको जान्नेहरू त्यहाँ पुग्न लालायित हुन्छन् नै।भुर्तीस्थित विश्वसम्पदा सूचीमा समाविष्ट बाइस देवल, कोतगढी, कोटिला, श्रीस्थान (शिरस्थान), नाभिस्थान (सतीदेवीको नाभि पतन भएको ठाउँ), पादुका स्थान (सतीदेवीको पाउ पतन भएको ठाउँ), धुलेश्वर (हाल कुण्डबाट धुलो आउन बन्द भएको शिव मन्दिर), मग्राह धारा, कीर्तिस्तम्भ, दामपाल शिला, विलासपुरस्थित भैरव मन्दिर, बालेश्वर मन्दिर, लम्जिका पञ्चदेवल आदिले दैलेखको महिमा उचालेका छन्।

नाभिस्थान, श्रीस्थानमा जुगौं अघिदेखि  बलिरहेका ज्वाला देख्दा छक्क नपर्ने बिरलै हुन्छन्।भूगर्भवेत्ताले प्राकृतिक ग्यासलाई ज्वालाको कारण बताए तापनि सतीदेवीको अंग पतन भएको शक्तिपीठमा ईश्वरीय शक्तिकै कारण निरन्तर ज्योति बलेको स्थानीय विश्वास छ।दुल्लु नगरपालिका–१०, गमौडी, नाभिस्थानस्थित पञ्चकोशी वेद विद्याश्रमका स–साना बटुकहरूले वेदका ऋचा घन्काउँदा नरम्ने कोही भएनन् ।
ज्वाला सभ्यताको आदिभूमि मानिने दुल्लु, पञ्चकोशी क्षेत्रको बाटो हुँदै अघि बढिँदा ‘दुल्लु सांस्कृतिक संग्रहालय’लाई नदेखेभैmं गर्नु सर्वथा अनुचित हुने थियो।त्यहाँ राखिएका पुराना चल्तीका कृषि सामग्री, भाँडाकुँडा, मुद्रा, ढिकी, जाँतो, ढडिया, जाबी, तुलो, खुर्पेटो, गरगहना, हुक्का, चिलिम आदि देख्दा स्वदेशीजन त हर्षित भए भने विदेशी पर्यटक कत्ति रमाउँदा हुन् ! अझै सामग्री समेटी संग्रहालयलाई थप चहक दिनुपर्ने अनुभव पनि गरियो।

धुलेश्वरबाट पादुकास्थान भई पालेतडा, दैलेख पुगेर खाना खाई कुदाइएको गाडीले कर्णालीको छेउ पु¥याउँदा हुनुको आनन्द दियो।कर्णालीको किनारै किनार राकम हुँदै दैलेख, अछाम र कालिकोटका अग्ला मनोरम पहाड मुन्तिर तय भइरहेको यात्राले कर्णालीमा समाहित हुनपुगेको तिला नदीको सुन्दर दृश्य देखायो।अग्लो डाँडो उकालिएपछि कालिकोटको मान्मामा रात गुजारियो।

भोलिपल्ट बिहानको यात्रा जसै खाँडाचक्र, पिलीमा पुग्यो।द्वन्द्वकालको कहालीलाग्दो त्रासदीले मुटु हल्लायो।२०६२ साउन २३ गते भएको सेना र माओवादी बीचको भिडन्तमा कति मरे, एकिन तथ्यांक छैन।स्थानीय बासिन्दा भन्छन्– माओवादी लडाकुले कर्णाली राजमार्ग निर्माणमा संलग्न सेनाको कार्यदलमाथि घेरेर हमला गर्दा ६२ सैनिक मारिएका थिए, माओवादी त कति मरे कति ! यी सबै ठाउँमा लासैलास थिए ।’ एक दशक लामो सशस्त्र युद्धको अन्तिम युद्ध भएको स्थल भएकाले कालिकोटको पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युद्ध संग्रहालय, होम स्टे, स्मृतिभवन आदि निर्माण गर्न लागिएको पनि सुनियो।

इतिहासको त्यो दारुण पन्ना पल्टाइँदा जोसुकैलाई ननिको लाग्ने नै भयो, आखिर जो मरे पनि नेपाली मरे, ती बाँचेका भए बरु अहिले बाँचेकाभन्दा बढी राष्ट्र, राष्ट्रियता र जनजीविकाका लागि केही गर्थे कि ! निराशाको भुमरी कहिल्यै शान्त हुन नसकेको कहालीलाग्दो वर्तमानमा विगत कल्पनु र आगतप्रति आशावादी हुनुको हामीसित विकल्प पनि त छैन।

कालिकोटको तिला गुफा, नाग्म पुग्दा त्यहाँको रमणीयताले सबैलाई खिँच्यो।तिला नदी र हिमानदीको संगम–स्थल औधि मनोहर थियो।यही दोभान रहेछ–मुगु र जुम्लाको बाटो फेरिने ठाउँ।तिलानदीको किनारै किनार गए एक घन्टा जतिमा जुम्लाको खलंगा बजार पुगिने रहेछ, रारा (मुगु) जानेहरू हिमानदीको छेउ हुँदै लम्कँदा रहेछन्।जुम्लाको सिंजाहाटमा गाडी कुद्न लागेपछि नेपालीभाषाको माउथलो पुगियो भन्दै सुनाउने र सुन्नेहरु दंगदास बने।त्यहाँको उर्वरभूमिका धान, गहुँ र तरकारी बालीले सबैलाई मोहित तुल्यायो ।

हाटसिँजा, गोरुचौर, पाण्डवगुफा, गुठीज्यूला आदि हुँदै कुदेको यात्रा कनका सुन्दरी भगवतीको मन्दिरलाई दायाँ पार्दै अघि बढ्यो।यो मन्दिर ज्यादै प्रख्यात छ।पहाडको थुम्कोमा रहेको देवीको स्थानमा सतीदेवीको दायाँ ओठ पतन भएको मानिन्छ।देवीको मूर्तिचाहिँ सिद्धपुरुष छिचुम लामाले बनाएको भनाइ पनि छ।यस पहाडमा सुन भएकाले देवीको नाम कनक अर्थात् सुनसँग सम्बन्धित रहन पुगेको हो।जालन्धर राजा, मल्ल राजा, खस राजा तथा सिजापति राजाका दरवार यही क्षेत्रमा रहेको उल्लेख पाइन्छ।पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक महत्वको स्थान भएकाले यहाँ सिँजा संग्रहालय बनाउनुपर्ने कुरो पनि उठ्दै आएको हो, कुरोले चुरो नसमातेकाले मात्र मुहार उजेलिन नसकेको देखिन्छ।

जुम्लाकै भुलभुले हुँदै रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी लागेको उकालोले साँझ मुगुको सल्लेरीमा बास बसायो।रारा जानेहरू यही थलोमा सवारी साधन राख्दारहेछन्।बिहानीपख सवा ३ बजेको हुँदो हो।ठूलो गड्याङगुडुङका साथ वर्षा हुन लागेपछि मनमा ढ्यांग्रो ठोकिन थाल्यो।वर्षा नथामिए रारा कसरी पुगिएला ? दिनभरि पानी परिरहे भोलिपल्ट त्यता लाग्नुपर्ला भन्ने हो भने पनि जानेजति सबैको मन मिल्ला कि नमिल्ला, कसो ! मन मिले त ठीक, नमिले साथी छाड्नु कि रारा ? बाहिरफेर पानी र मनमा अन्योल बर्सिइरह्यो।

धन्न, ५ बजेतिर पानी थामियो।मानांै, रारादेवीले भक्तको आर्तपुकार सुनेकी होऊन्।आकाश मात्र खुलेन, सबैका मुहार पनि फक्रिए।हिँडेर पौने घन्टा जतिमा रारा पुग्ने सुनेपछि प्रातः भ्रमण र प्राकृतिक सौन्दर्यपान साथसाथै हुने जुक्ति अँगालियो।नत्र यहीँबाट घोडामा जानेहरू पनि कम नहुँदा रहेछन्।अलिबेर हिँडेपछि त्यहाँका रुख, लहरा, बुट्यान र घाँसे चौरले विमुग्ध तुल्याए। थरीथरीका फूलका मगमग बास्ना र चराचुरुंगीका सुमधुर चिरबिरले वातावरणमा मादकता छरिरहेको थियो।लेकाली फूलका बास्नाका कारण हुनुपर्छ, कताकता थोरै असजिलो हुनासाथ लम्किरहेका पाइलालाई गतिरोध गर्दै गन्तव्य पहिल्याउनु श्रेयष्कर ठानियो।खुला चौरपछि दुवैतिर धुपी, सल्ला, देवदार आदिका रुखलाई किनार पारी ओर्लिंदै बढिएको केही समय भएको थियो, माथि नीलो आकाश र तल दायाँतर्फ नीलिमा बिछिएको सुशान्त, सुन्दर, चित्ताकर्षक तालले हाम्रो हार्दिक स्वागत ग¥यो।पाइला आफै बढे, मन यसै सुरियो, नजिक पुग्नासाथ राराको सुशीतल जल र अपार सौन्दर्यले मन्त्रमुग्ध बनायो।
मोबाइल र क्यामराहरू रारा र नजिकका जंगल तथा घाँसे मैदानको सुन्दरतासहित अविराम तस्बिर उतार्न थाले।सबै जना मानौं, त्यो स्वर्गीय पललाई क्यामरामा उतारेर जीवनभरि आनन्द लिन चाहिरहेका थिए।

समुद्री सतहबाट दुई हजार ९७२ मिटर उचाइमा रहेको रारा नेपालको सबैभन्दा ठूलो ताल हो।पूर्व–पश्चिम लम्पसार परेकोे रारातालको अधिकतम लम्बाइ पाँच किलोमिटर, चौडाइ तीन किलोमिटर र गहिराइ १६७ मिटर जति रहेछ।रारादह तथा महेन्द्रताल समेत भनिने राराताल मानसरोवरपछि दोस्रो ठूलो ताल हो भन्ने सुन्दा मानसरोवरलाई थाल र रारालाई कचौराको संज्ञा दिइनुको कारण खोतलिरहनु परेन।सिस्ने र कान्जिरोवाको छायाँले रारालाई झनै सुन्दर बनाएको छ।मौसमको ठेगान नहुने यस क्षेत्रमा कुन बेला छ्यांग हुन्छ र कुन बेला बादल लाग्छ, कोही भन्न सक्दैनन्।भनिन्छ– ऋतु अनुसार मात्रै होइन, बेला अनुसार पनि राराको सौन्दर्यमा परिवर्तन हुने गर्छ।त्यहाँ ‘आगो लिन गएजस्तो’ नभई फुर्सती लज्जाहीन पाहुनाजस्तो ढुक्कसाथ पसारिन जानुपर्ने रहेछ भन्ने लाग्यो।

१२ वर्षअघि (सन् २००७) रामसार क्षेत्र घोषणा गरिएको रारातालका सम्बन्धमा जनश्रुति तथा किम्बदन्ती पनि छन्।तिब्बती भाषा अनुसार ‘र’ ले बाख्रा तथा ‘रा’ले पालन बुझाउने र बाख्रापालन गर्ने थलोका आधारमा क्षेत्रकै नाम ‘रारा’ हुनपुगेको एकथरी भनाइ छ भने ठकुरी राजाको स्थान भएकाले राजा, राहा हुँदै ‘रारा’ भन्न थालिएको जनश्रुति पनि छ।राजाको  क्षेत्रमा दह भएकाले राजादह, रारादह हुँदै राराताल भन्न थालिएको हुनसक्छ ।

पर्यटकीय बसाइ लम्ब्याउने उद्देश्यले रारा–छायानाथ हेलिकोप्टर यात्रा (३० मिनेट) गराउनेतर्पm बढेको अग्रसारिताले सुखद आभास गराएको छ।मुगुको डोल्फुमा पर्ने छायानाथ धार्म  धार्मिक स्थल हो।ठाउँ–ठाउँमा अंगपतन हुने क्रममा सतीदेवीको अवशेष (अंग) यहीँ पतन भएको जनविश्वास छ।हिन्दू र बौद्ध दुवैथरीकोे श्रद्धा एवं आस्थाको केन्द्र छायानाथ बाबा तथा रारातालबीच सम्बन्ध गाँसिएको पनि थाहा लाग्यो।भनिन्छ– छायानाथ बाबाले रारातालको पूर्वी तटबाट बाण हानी पश्चिमतिर पानी निकास गराएका हुन्।

रारातालसँग सम्बन्धित अर्को किम्बदन्ती अनुसार यहाँ परापूर्वकालमा बस्ती थियो रे।जोगी भिक्षा माग्न आउँदा घरकी बज्यैले ढिलो गरिछन्।छिटो भिक्षा नदिए आफ्नो टाउको फुटाएर मर्ने कुरो गरेपछि ‘फुटाए फुटाउन त’ बज्यैले भन्नु के थियो, जोगीले साँच्चै टाउको फुटाएछन्।अनि पूरै बस्ती नष्ट भई तालमा परिणत हुन पुगेछ। जेहोस्, खोजी पसे यस्ता अनेक रोचक, ज्ञानवद्र्धक किम्बदन्ती, जनश्रुति तथा उल्लेख पाउन सकिने यथार्थलाई एकातिर थाती राखेर भन्नुपर्दा राराको हेरिरहुँझैं लाग्ने सौन्दर्य बखानिसक्नु छैन।‘मुर्मा’को टाकुरामा पुग्नेले हेरेर झन् कत्ति आनन्द लिँदा हुन्, कल्पना मात्रैले पनि मन प्रफुल्लित हुन पुग्छ।

राराको यात्रामा एउटा कुरो गर्न छाडियो भने अपुरो हुनसक्छ, त्यो हो– झिंगाको कुरो।कालिकोट, जुम्ला र मुगु–सल्लेरीसम्मै झिंगाले कतै छाडेन।कुनै ठाउँमा गाडी केही क्षण अड्दा पनि कौरव सेनाले हमला गरेझैं झिंगा हुलिन्थे।भोजनका बखत त्यस्तै, एक हातले पङ्खँदै सचेत भई गाँस नहाल्ने हो भने ‘मैं हुँ’ भन्ने शाकाहारी समेत ‘फेल’ खाने डर छ।झिंगाविरुद्ध शंख फुँक्नुपर्ने घाम अब कसैका घैंटामा लागिहाल्ला कि !







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad