७ वैशाख २०८१ शुक्रबार
अन्य

तोप चराको गुँड

सनत सापकोटा
ठूला र अस्वाभाविक परिवर्तनले हाम्रो ध्यान तत्काल आकर्षित गर्छन् । तत्काल र लामो समयसम्म ती बहस र चर्चाका विषय बन्छन् । कतिपय विषय इतिहास लेखनका कच्चा पदार्थसमेत हुन्छन् । राजनीतिक रूपमा भएका परिवर्तन इतिहासका स्रोत हुन् । हिजो हामीसँग राजा थिए, राजतन्त्र थियो । आज न राजा छन्, न राजतन्त्र । यो इतिहासमा अंकित भइसकेको विषय हो ।

हिजो ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारा छन्’ भनेर नारा लगाउने बालक आज ‘गणतन्त्र जिन्दावाद’को ध्वनि उराल्ने युवा वा वयस्कमा परिणत भएका छन् । हिजोको ज्यूँदो राजतन्त्र आज इतिहासको पानामा सीमित भएको छ । यो टड्कारो देखिएको परिवर्तन हो । समयले, परिवर्तनले देवत्वकरण गरिएको राजतन्त्रलाई पनि पाखा लगायो ।

राजदरबार वरिपरि रूखमा गुँड लगाएर बस्ने तोप चरा पनि आज छैनन् । अग्ला–अग्ला रूखमा तुर्लुंग झुन्डिएका गुँड र तिनमा रमाउने तोप चरा आज कता हराए होलान् ? सायद कसैले भन्न सक्दैन । समयले राजतन्त्रसँगै तोप चरालाई पनि छोडेन । हराउने सूचीमा धेरैथोक छन् ।   भोलि धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा भएका परिवर्तन पनि महसुस हुँदै जानेछन् । हिजो हामी चाडबाड यसरी मनाउँथ्यौं । बिहे–बटुलो यसरी सम्पन्न गरिन्थे । नाता–सम्बन्धहरू यसरी परिभाषित हुन्थे भनेर भावी पुस्तालाई हामीले भन्नुपर्ने दिन टाढा छैन ।

आफ्ना सन्तान र आफ्नो विगतको बयान गरेर थाक्दैन मान्छे । उसलाई आफूले बाँचेर आएको समय सुनौलो लाग्छ । अझ बाल्यकालका स्मृति त उसलाई झनै प्रिय लाग्छन् ।

किनकि बा, ड्याडी हुँदै ड्याड र आमा, मम्मी हुँदै मममा परिणत भएको लामो समय भइसक्यो । लमीको काम सहरमा खुलेका म्यारिज ब्युरोले धान्न थालिसके । विवाहका स्वरूप फेरिइसके । कोट म्यारिज, कन्ट्याक्ट म्यारिज, लिभिङ टुगेदर आदि शब्दले विवाहलाई परिभाषित गर्न थालिएका छन् । पञ्चेबाजा ब्यान्ड बाजामा रूपान्तरण भएको पनि लामै समय भयो ।

अब रत्यौली शब्द नै मानिसले बिर्सन थालिसके । परिवर्तन निरन्तर जारी छ । गुम्बा, मन्दिर र मस्जिद निर्माणका क्रम रोकिएर त्यो ठाउँ चर्चले लिएका छन् । र, यो क्रम पनि निरन्तर चलिरहेछ । प्रत्येक क्षण परिवर्तन भइरहेको छ । बाग्मतीमा निरन्तर पानी बगिरहेछ । तर, त्यहाँ प्रत्येक क्षण बगेको पानी नयाँ नै हुन्छ । वायुमण्डलमा हावा निरन्तर चलिरहेछ । तर, प्रत्येक पटक हामीले फेर्ने अक्जिन उही हुँदैन । हामी प्रत्येक दिन हिँडिरहेकै छौं । तर, हामीले टेक्ने जमिन प्रत्येक दिन त्यही हुँदैन । त्यहाँ हाम्रा पदचिह्न हुँदैनन् ।

ठूला र आकस्मिक परिवर्तन हाम्रो मस्तिष्कमा छाप बनेर बसेका छन् । तर, समाजमा भइरहने स–साना र स्वाभाविक परिवर्तनहरूप्रति प्रायः हाम्रो हेक्का रहँदैन । ती भइरहन्छन् । ती नदीजस्तो शान्त बगिरहन्छन् । हुन्डरी र खहरेको आतुरी तिनमा हुँदैन । आखिर गति र परिवर्तन खहरे र नदी दुवैमा हुन्छ । तर, तत्काल हामीलाई त्यो गतिको, त्यो परिवर्तनको आभास हुँदैन । दशकौैं वा शतकौंपछि मात्र ती हाम्रा अनुभूतिमा आउँछन् । जब आउँछन् तब तिनले हाम्रा मनलाई बिथोल्छन् । आफ्नै उमेर पलप्रतिपल कसरी घर्किंदै जान्छ त्यसको हेक्का हामीलाई हुँदैन । केश एकैपटक सेताम्य हुँदैनन् । अनुहार एकै दिन चाउरी पर्दैन । आँखा धमिला पनि एक्कासि हुँदैनन् । मन मस्तिष्कमा थकान अकस्मात महसुस हुँदैन । तर, ती भइरहेका हुन्छन् । जब तिनले परिणाम ल्याउँछन् तब हामी झस्कन्छौं ।

हाम्रा सुनौला बाल्यकाल एकएक गर्दै सकिन्छन् । कुत्कुत्याउने यौवन कति चाँडो हामीलाई थाहै नदिई चिप्लिन्छ । शरीरभित्र तातो रगत उमाल्ने युवावय पत्तै नपाई हाम्रो हातबाट फुत्किन्छ । दिनदिनै ऐना हेर्दा स्वाभाविक लाग्ने आफ्नै अनुहार कुनै दिन गहिरिएर हेर्दा त्यही हामीलाई अस्वाभाविक लाग्न थाल्छ । कताकता के–के नमिलेजस्तो, कस्तोकस्तो अनौठो, अनौठो । आफ्नै नाक, मुख, आँखा, कान हेर्दैजाँदा ती बिल्कुल भिन्न लाग्छन् । बाल्यकालको आफ्नै तस्बिर र वर्तमानको आफूबीच तुलना नै गर्न सकिँदैन । हामीले बाँचेको समय र जीवनमा हामीसँग के–के कुरा जोडिए, एकपटक जीवनको रेकर्ड रिवाइन्ड गरौं त ! त्यहाँ बहुरंगी चित्र उपस्थित हुनेछन् ।

कुनै कुराले हामीलाई पश्चात्ताप हुनेछ । कुनै कुरामा गर्वले छाती फुल्नेछ । ती कति कुरा हामीलाई हाँसोउठ्दो लाग्नेछन् । कति कुराले मन कहालिनेछ । सबै किसिमका चित्र त्यहाँ उपस्थित हुनेछन् । त्यहाँ भावहरूको कोलाज भेटिनेछ । कतिपय स्थानमा हामी संयोगले बाँचेका भेटिनेछौं । घना जंगलभित्र एक्लाएक्लै हिँडिरहँदा पनि हामीलाई चितुवाले भेटेन र हामी बाँच्यौं । खेतबारी, वनजंगल र झाडीहरूमा भौंतारिँदा पनि हामीलाई विषालु सर्पहरूले डसेनन् र हामी जोगियौं । हिउँद–बर्खा नभनी खोला नालामा हेलिँदा पनि हामीलाई कुनै भूमरीले भेट्टाएन र हामी सकुशल रह्यौं । के हाम्रा लागि यी संयोग होइनन् ?

यस्ता अनगिन्ती संयोगहरूले हामीलाई बचाएका छन् । छायाजस्तै आफूसँगै हिँडिरहेको मृत्युसँग हामी बारम्बार लुकामारी खेलिरहेका छौं । तर, कहिलेसम्म ? सायद यो पनि संयोगमै निर्भर हुनेछ । हामीले बेहोरेका कतिपय कुरा छुटेका छन् । कल्पना नगरेका कतिपय कुरा हामीले पाइरहेका छौं । ‘सुका माना घ्यू’का कथा आश्चर्य मानेर सुन्ने हामी आज त्यस्तै कथा हाल्ने समयमा छौं ।
‘फुत्केको माछो ठूलो’ भनेझैं बाँचिसकेको जीवन हामीलाई निकै रमाइलो लाग्छ, सप्ल्याँटो बिप्ल्याँटो दुवैतिरबाट । चाहे त्यहाँ कष्टले भरिएको कथा होस् वा सुख सयलले गुज्रेको समय ।

आफ्ना सन्तान र आफ्नो विगतको बयान गरेर थाक्दैन मान्छे । उसलाई आफूले बाँचेर आएको समय सुनौलो लाग्छ । अझ बाल्यकालका स्मृति त उसलाई झनै प्रिय लाग्छन् । हामीले दिल खोलेर सुन्ने र सुनाउने कथा हो आफ्नो विगत । आफ्ना सन्तान र आफ्नो विगतको बयान गरेर थाक्दैन मान्छे । उसलाई आफूले बाँचेर आएको समय सुनौलो लाग्छ । अझ बाल्यकालका स्मृतिहरू त हामीलाई झनै प्रिय छन् । अभिभावक वा गुरुका पिटाइ पनि पीडादायक हुँदैनन् । अनुभूतिमा ती प्रेममय बनेर आउँछन् । दोषी आफैंलाई करार गर्न मन लाग्छ ।

काखमा बस्दा अनुभूत हुन नसकेको बाआमाको लाडप्यार वर्षौंपछि उनीहरूसँग छुट्टिएर देश÷विदेशमा रहँदा महसुस हुन्छ । साथीभाइसँगका कुस्ती, दाजुभाइबीचका भिडन्त र छिमेकीसँगका कटुता सबै सकिन्छन् ।

बाआमासँगको घुर्की, रनवनका संगीसाथी, खोलानाला, उट्पट्याङ कर्म सबै एकएक गरेर चित्रमय बन्दै अगाडि आउँछन् । विगतका सबै रिसराग, घृणा, द्वेष, कटुता, द्वन्द्व सबै हराउँछन् । स्मृतिमा रहन्छन् त केवल प्रेम, सदाशय र रोमाञ्चकता । तर, हरेकको वर्तमान यसको ठीक उल्टो हुन्छ । वर्तमानमा हार्न चाहँदैनौं हामी । द्वन्द्व व्यक्तिदेखि विश्वसम्म चलेकै छ । बहाना अनेक् छन् । धनले कसैलाई पुगेको छैन ! धनी र गरिबको मापदण्ड के हो ? जवाफ कोसँग छ ? हामीलाई सधैं हतारो छ, नजाने कहाँ पुग्न हो !

सुखद् नै भए पनि वर्तमानलाई चटक्कै छाडेर आफ्नै विगततिर दौडिने चाह हुन्छ । सम्भव हुँदो हो त टक्क अड्याएर राख्न खोजिन्थ्यो बालापन । भविष्य के होला भविष्यकै गर्भमा छ । आफन्तहरू एक–एक गर्दै छोड्दै जान्छन् । छुटेका आफन्त र साथीभाइ झन् बढी सम्झनामा बस्न आउँछन् । कोही हुँदाको महŒव नहुँदा बुझ्छौं हामी । जिउँदो हुँदा मुटुको शूल बनेका उनीहरूका सबै खतबात माफ गरिन्छन् । मानौं उनीहरू यो युगकै महामानव थिए ।

हामीलाई सधैं हतार छ, खहरेजस्तो । हामीलाई सधैं अपुग छ, बालुवालाई पानीजस्तो । हाम्रा पाइला सधैं अग्रगामी छन् । तर, मन सधैं किन पश्चगामी ? ‘ग्लोबलाइजेसन’मा बाँचिरहेका हामी फेरि किन आफ्ना मनहरूलाई ‘ग्लोबलाइज’ गर्न सकिरहेका छैनौं ? स्मृतिमा यति धेरै रमाउने र खुसी हुने मन वर्तमानमा यति बेचैन किन ? आखिर व्यक्तिको जीवन पनि तोप चराको गुँडजस्तै त रहेछ ! हिजो थियो, आज छैन, भोलि कहाँ हुनेछ । पत्तो छैन ।

प्रकाशित: १४ असार २०७६ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App