coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

अंग्रेजीमा भानुभक्त

आदिकवि भानुभक्त आचार्यले अध्यात्म रामायणको नेपालीमा अनुवाद गरे। यसमा छायाँनुवाद, भावानुवाद सबै छ र यो मौलिकतावादको पनि अनुपम उदाहरण भएकाले भानुभक्तको रामायणलाई कृत, विरचित, लिखितको दर्जामा राख्न सकिन्छ। यसै मेसोमा प्रा.डा. जयराज आचार्यले पनि हालै ‘भानुभक्त आचार्यको रामायण, नेपाली र अंग्रेजीमा’पुस्तक निकालेका छन्। अर्थात् उनले नेपाली भाषा साहित्यका आदिकविलाई अंग्रेजीमा बोलाएर आधुनिक युगको मागलाई सम्बोधन गर्दै पुरानो र नयाँ पुस्ताबीच सम्बन्ध सेतु कायम गरेका छन्। नयाँ पुस्ताका लागि यो अमर कोसेली हो।  

रामायण एक बृहत् दर्शन
भगवान शिवले पार्वतीलाई रामगाथा सुनाएपछि त्यसको आधा पार्वतीले, चौथाइ ब्रह्माले बुझेको र नारदको जिज्ञासामा यो लौकिक जनजीवनमा फिँजिएको सन्दर्भलाई भानुभक्तको रामायणमा यसरी व्यक्त भएको छ ःआधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू, गीता पाठ गरेर नाश न हुन्या पाप् छैन यो मान्दछू (१.१७)। यही कुरालाई प्रासंगिक बनाएर हेर्दा श्रुतिस्मृति परम्पराकोे हाम्रो समाजमा रामायण सुनेर कति सम्झियो, कति बुझियो र कति अरुलाई पुनः भन्न सकियो – सोच्नेका लागि यो निकै गहकिलो विषय हुन सक्छ। बाल्मीकि रामायणमा त अझै चौबीस हजार श्लोक छन्। अब हामी विचार गरौँ– यो विशाल ज्ञानचक्रबाट संक्षेपीकरण हुँदै आदिकवि भानुभक्त आचार्यको रामायणसम्म आइपुग्दा पनि ग्रन्थको आकार यति ठूलो छ। यसबाट पाउने भाव, रस, पे्ररणा, सन्देशको त मापन हुनसक्ने कुरै भएन।

भानुभक्तलाई संस्कृत, नेपाली हुँदै हाल अंग्रेजीमा प्रवेश गराउनु, आधुनिकतातिर घचेट्दै ल्याउनु समयको माग बन्योे। यस कर्ममा जयराज आचार्य कारक बनेर आए। अंग्रेजीमा अनुवादित यो रामायण समपंक्ति र समभावमा छ। जसरी भानुले अध्यात्म रामायण नेपालीमा उतार्दा नेपाली समाज र वाङ्मयमा एउटा ठूलै उथलपुथल ल्यायो।

भानुभक्त सामाजिक अभियन्ता
हिजो संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा ल्याउँदा भानुभक्तले त्यतिबेलाको समाजबाट कम खप्की खाएका थिएनन्। संस्कृत भाषालाई मात्र सामाजिक प्रगतिको आधार मान्ने तात्कालीन समाजलाई एउटा ठूलै मुक्का थियो भानुभक्तको रामायण। यस हिसाबले नेपालमा मात्र होइन, कतिपय हिन्द–एसियाली संस्कार अपनाउने देश समाजमा पनि त्यहाँको भाषामा रामायण आउँदा ठूलो हलचल पैदा भएको थियो। आज आएर रामायण कुनै देश वा जाति विशेषको पेवा भएको छैन। सामाजिक सुधारका लागि बनेका विश्वका उत्कृष्ट कथानक दर्शनहरूमध्ये भानुभक्तको रामायण पनि एक जीवन्त ग्रन्थ बनेको छ। रामायणलगायत अन्य रचनाहरूले भानुभक्तलाई सामाजिक सुधारका एक प्रबल अभियन्ताका रूपमा द¥याएको छ।

भारतमा भानुभक्त
भारतका प्रसिद्ध फिल्म निर्माता रामानन्द सागरले रामायणलाई एउटा जीवन्त कथानक धाराबाहिक चलचित्रका रूपमा प्रस्तुत गरे, जुन एसियामा मात्र होइन, विश्वका अन्य महादेशमा पनि उत्तिकै सराहनीय र लोकप्रिय भयो। रामायणको कथानक लोकप्रियता नै यसलाई विभिन्न भाषामा उतार्नुपर्ने अपरिहार्यता हो। तीन वर्षअघि असार २९ गते दार्जिलिङ्को चौरस्ता चोकमा आदिकवि भानुभक्तको २०२ वर्षगाँठका अवसरमा भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जी, पश्चिम बंगालका गभर्नर के एन त्रिपाठी र मुख्यमन्त्री ममता बनर्जीले एक भव्य समारोहबीच आदिकविप्रति पुष्पमाला अर्पण गरेर भानुभक्तलाई  यस क्षेत्रकै महानतम कविको रूपमा स्वीकार गरिएको प्रतीत हुने दृश्य गुगल अभिलेखमा रहेको छ। नेपालको राष्ट्रिय गान पनि बजेको सो समारोहमा पाठकहरूद्वारा भानुका कविताहरूको लयबद्ध गायन भई वातावरण गुञ्जायमान भएको थियो। त्यहाँ उपस्थित धेरैजसो नारीहरू परम्परागत नेपाली चौबन्दी चोलोमा सजिएका थिए भने पुरुषहरू दौरासुरुवाल र टोपीमा। पश्चिम बंगाल सरकारले सरकारी तवरबाटै भानुभक्तको २०२ औँ जन्मजयन्ती मनाउने निर्णय गरेको थियो।

राष्ट्रपति प्रणव मुखर्जीद्वारा माल्यार्पण गरिएको भानुको सालिकको आधारस्तम्भमा नेपाली जातीय कवि रामायणका रचयिता भानुभक्त आचार्य (जन्म संवत १८७१ र मृत्यु संवत १९२५) भनेर लेखिएको छ। यही जानकारी बंगाली भाषामा पनि छ। यो अभिलेख साँच्चै नै श्रद्धापूर्ण देखिन्छ। सिक्किमका हालका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि २०७६ जेठ १३ गते नेपाली भाषामा शपथ लिएर नेपाली भाषाका आदिकवि भानुभक्तलाई राज्यस्तरबाट सम्मान दिए। यहाँ यो प्रसंग उठाउनुको मतलब हो रामायणसँगै भानुभक्तको हिन्द क्षेत्रबाट स्वीकार्यता।

रामायणका आङ्ग्लदूत जयराज आचार्य
रामायणमा हात हाल्नु भनेको आफँैमा एउटा वाल्मीकि, तुलसीदास र भानुभक्तले गर्ने कर्म जस्तै हो। यस अर्थमा जयराज आचार्यले एउटा युगलाई नै नेतृत्व गर्ने खालको काम गरेका छन् भन्नु अत्युक्ति नहोला। रामायणको उत्पत्ति नै तमसोमा ज्योतिर्गमय बनेर भएको छ। रत्नाकर डाँकु (तम) वाल्मीकि (ज्योति) बनेर संस्कृतमा, स्त्रीलम्पट व्यक्ति तुलसीदास बनेर अबधीमा र एउटा रुढीवादी परम्परालाई चिर्दै भानुभक्त बनेर नेपाली रामायणमा आएका थिए। पूर्वीय विश्वमा रहेको यही चमकलाई पाश्चात्य जगतमा पनि पैmलाउन डा. जयराज आचार्य रामायणका लागि एउटा आङ्ग्ल–दूत बनेर अंग्रेजीमा प्रस्तुत भएका छन्। मातृभाषाभन्दा बाहिर आएर अन्तर्राष्ट्रिय भाषामा भानुसँग रामायाणिक मित्रता गरी अंग्रेजीमा हात हाल्नु भनेको यौटा युगलाई नै नेतृत्व गर्नु हो, जसको श्रेय अहिले जयराज आचार्यले मात्र लिन सके।

भानुभक्तको मौलिक फोटो
जयराज आचार्य आफँैमा एउटा कुशल चित्रकार पनि हुन्। व्यावसायिक चित्रकारिता नगरे पनि आफूलाई चाहिने स्केच उनी आँफैले बनाउँछन्। भानुभक्तको परम्परागत तस्बिर यस रामायणमा भेटिँदैन। तात्कालीन अवस्थामा दार्जिलिङबाट प्रकाशित रामायणमा भानुभक्तको जस्तो खालको फोटो राखियो, जनमानसमा त्यही छाप बनेर रहेको छ। प्रज्ञा प्रतिष्ठान तथा साझा प्रकाशन जस्ता संस्थाले पनि त्यसैलाई आधार मानी खेल्दै गए। ऐले जयराजद्वारा लिखित यस पुस्तकको अग्रभागमा राखिएको भानुको तस्बिर जयराज आफैँले प्रत्यक्ष देखेका भानुभक्तका नाति शिवभक्त आचार्य र पनाति मुक्तिनाथ आचार्यको अनुहारसँग मिल्ने गरी तेस्रो अनुहारको परिकल्पना गरेका र त्यो नै सम्भवतः भानुको अनुहारसँग नजिक पुग्ने औचित्यपूर्ण आधार हुनसक्छ भन्ने उनको तर्क छ। हुन त, राष्ट्रियस्तरमा यौटा आकृतिको छाप परिसकेको अवस्थामा बिर्केटोपी, जुँगा, दौरा, पटुका र हातमा रामायणको पुस्तक राखिदिएपछि त्यो स्वरूप भानुभक्तमा मिल्न आउँछ। यो सजिलो र सस्तो विधिभन्दा हुनसक्नेसम्मको यथार्थको नजिक पुग्ने प्रयास जयराजबाट भएको हो।

सबल पण्डित
अहिलेका युवाका लागि भानुभक्तीय रामायण लयबद्ध गरी गायन गर्ने एक त समय छैन, दोस्रो यसमा लयात्मकता सिकाउने व्यक्तिहरूको पनि अति पातलो उपस्थिति छ। यति हुँदाहुँदै पनि रामायण के हो र कस्तो छ भन्ने कुरा पछिल्लो पुस्तालाई बुझाउने कर्तव्य पनि अघिल्लो पुस्ताकै हो। फेरि आजभन्दा करिब पौने दुई सय वर्षअघि लेखिएको रामायणको भाषा कतिपय स्थानमा आजका पुस्तालाई अथ्र्याउनु पर्ने पनि हुनसक्छ। आजको प्रतिस्पर्धी युगमा अंगे्रजी एउटा निर्विकल्प अन्तर्राष्ट्रिय भाषाको रूपमा सर्वस्वीकार्य भइसकेको अवस्था छ। नेपालीभाषी नयाँपुस्ता र गैरनेपालीभाषी सबैलाई चित्तबुझ्ने खालको एउटा अर्थपूर्ण उपज भानुभक्तको अंग्रेजी रामायण विश्वमञ्चमा आउनु एउटा युगान्तकारी कदम मान्न सकिन्छ।

रामायण भित्रकोरामगीता आफैँमा अति जटिल लेखन हो। त्यहाँ भक्ति वेदान्त, पूर्वीय दर्शन र मोक्षका कुराहरू छन्। यो विषय बुझ्नलाई उच्चस्तरीय दिमागी क्षमता चाहिन्छ। यसमा प्रयुक्त पदावलीलाई अंग्रेजीमा ल्याउन चानचुने योग्यता र बौद्धिकताले पुग्दैन। लेखक जयराज आचार्यले यस किताबको भूमिकाको सुरु भई ‘कविता अनुवादमा हराउँछ’ भनेका छन्। लय हराउला, आरोह–अवरोह हराउला, केही हदसम्म सांस्कृतिक कौमार्य हराउला– यी सबै कुरा हुँदाहुँदै पनि भानुभक्तीय भाषिक तथा भावात्मक सतीत्वमाथि आँच नआउने गरी अंगे्रजीका सशक्त पण्डितका रूपमा जयराजजी प्रस्तुत भएका छन्।  

नेपाली र अंग्रेजीमा अर्थान्तरण
रामायणमा तर्ने प्रसंग धेरै ठाउँमा आउँछ। यस्ता नष्ट कसोरि मुक्त त हुनन् संसार सागर् तरी (१.५), मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी (१.६), जस्ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन् (१.८), लक्ष्मणलाई दिया यही पढि लिया जाइन्छ संसार् तरी (१.१७), बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी (१.२१) जस्ता पाठहरूमा प्रयुक्त शब्दलाई कतिपय ठाउँमा अङ्ग्रेजीको क्रस वाक्रसिङ् शब्दले अथ्र्याइएको छ। तर्ने शब्दको अर्थ पाप मोचन हुनु, नदी (वैतरणी) पार गर्नु, दुनियाँलाई छोड्नु, स्वर्गमा जानु, असल मृत्यु पाउनु आदि हुनसक्छ। भौतिकरूपमा कुनै नदी वा सागर तर्नुका अतिरिक्त कतिपय अर्थानुवादमा मोक्ष वा मुक्ति पाउनु बढी सुहाउँदो बुझिन्छ।

रामायणका सात काण्डमध्ये जयराजद्वारा अनुवादित पाँचवटा काण्डका नामहरू अंगे्रजीमा अनुवाद गरेर राखिएका छन्। तर, दुईवटा काण्डका नाम भने रोमन अंग्रेजीमा छन्, ती हुन् अयोध्याकाण्ड र किष्किन्धाकाण्ड। यी नामहरूको पनि अर्थ त अवश्य छ। तर, पाठकलाई थप स्पष्ट पार्न यी शब्दले ठाउँ विशेषलाई जनाएको हो भन्ने कुरा पाद टिप्पणी तथा पदावली (ग्लोसरी) मा राखेको भए झन् राम्रो हुन्थ्यो। यस्तै शालग्राम् तुलसी पीपल् कि त बडा सन्यासि थ्यैँ जो गई (१.१९) श्लोकांशमा शालग्राम शब्दलाई फोसिल भनी अंग्रेजीमा र विष्णुको रूपमा पूजा गरिन्छ भनी शब्दावलीमा लेखिएको छ। यो शिला नेपालको कालीगण्डकीमा मात्र पाइन्छ भनी उल्लेख गरेको भए शालिग्राम, रामायण, भानुभक्त र नेपाल अन्योन्याश्रित बनेर संसारका अघि परिचित हुन्थे। रावण् गोमय कुण्डमा कुल समेत खुब् तेल मर्दन् गरी (५.४८) यस पाठमा गोमयलाई अंगे्रजीमा डंग मात्र भनिएको छ, यसमा काउडंग लेखिएको भए झन् उत्तम बुझिन्थ्यो होला। नारद्ले दुनियाँउपर् गरि दया बिन्ती ग¥या यो जसै (१.७) – यहाँ संसार (वल्र्ड) भन्दा पनि मानवजाति बुझ्दा थप स्पष्टता आउने हुन्छ।   यी त भए अति साधारण टिप्पणी, जसले पाठकको सामान्य बुझाइ–चेतनामा खासै परक पार्दैन।

उत्तम सम्पादन एवं प्रकाशन
डा. डेभिड एल. रेड (भर्जिनिया, संयुक्त राज्य अमेरिका) ले जयराज आचार्यको यस अंग्रेजी संस्करणको सम्पादनमा गरेको मेहनत प्रशंसनीय छ। नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले कसरी अंगे्रजी सिक्छन् भन्ने विषयमा विद्यावारिधि गरेका डेभिड आफँैमा ठूला विद्वान हुन्। नेपाली भाषा लेख्ने, बुझ्ने र खर्र बोल्नेले हात हालेको विषय स्वतः मार्मिक र अर्थपूर्ण हुने नै भयो।

प्रकाशन जगतको यौटा कालखण्डलाई नै नेतृत्व गर्ने यस युगीन कृतिलाई गुणस्तरीय छपाइ दिएर मकालु प्रकाशन गृहले लेखक बराबरकै पुण्य कमाएको छ।

रामायण, भानु र जयराज
वाल्मीकि रामायणमा यावत् स्थास्यन्ति गिरयः सरितश्च महीतले, तावद् रामायणकथा लोकेषु प्रचरिष्यति (१ः३ः३६) उल्लेख छ। जहिलेसम्म यस पृथ्वीमा पर्वत रहिराख्छन् तथा नदीहरू बगिरहन्छन् तहिलेसम्म लोकमा रामायण कथा प्रचार भइराख्छ। यसबाट यो बुझिन्छ कि रामायण आफैँमा एउटा चिरस्थायी कृति हो।  संसारका उच्चतम प्राचीन कृतिहरूमा पर्ने यो ग्रन्थले विशेषतः इरान (पर्सियन गल्फ) देखि पूर्व फैलिएर इन्डोनेसियाको बाली द्वीपसम्मको दक्षिणी गोलाद्र्धको सामाजिक जनजीवनलाई सोझै प्रभाव पारेको छ। यसको मूर्त प्रमाण के हुन्छ भने पुराणहरूका अनुसार हिन्दु देवीदेवताको क्रीडास्थलका रूपमा यो क्षेत्रका ठाउँहरू रहेका छन्। यति बिघ्न महŒव राख्ने रामायण कथालाई वाल्मीकिले संस्कृतमा लेखे, तुलसीदासले अवधीमा र भानुभक्त आचार्यले नेपालीमा।  यही मेलोमा हाल आएर प्रा.डा. जयराज आचार्य भानुसँगै अंग्रेजीमा देखिन र लेखिन आए।

ऐतिहासिक घटना
यसरी भानुभक्तलाई संस्कृत, नेपाली हुँदै हाल अंग्रेजीमा प्रवेश गराउनु, आधुनिकतातिर घचेट्दै ल्याउनु समयको माग बन्योे। यस कर्ममा जयराज आचार्य कारक बनेर आए। अंग्रेजीमा अनुवादित यो रामायण समपंक्ति र समभावमा छ। जसरी भानुले अध्यात्म रामायण नेपालीमा उतार्दा नेपाली समाज र वाङ्मयमा एउटा ठूलै उथलपुथल ल्यायो। त्यस्तै ऐतिहासिक घटना वा पर्वको रूपमा जयराज आचार्यको यो प्रयासलाई लिनुपर्ने हुन्छ। किनकि यो प्रयास अरु कसैले ऐलेसम्म गरेन र अब गर्ने पनि दोस्रो दर्जामा पर्ने भयो। भनेपछि भानुभक्तको पितृत्व वायुलाई अंग्रेजीमा बोलाउनु भनेको एउटा आध्यात्मिक र दैविक घटना नै मान्नुपर्छ। यसका निम्ति नेपाली मात्र र इच्छुक विदेशीलाई जयराज आचार्यले अंग्रेजीमा रामायण दिएर तिरिनसक्नु गुन लाएका छन्।

प्रकाशित: १४ असार २०७६ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App