८ वैशाख २०८१ शनिबार
अन्य

जीर्ण विश्वरूपा मन्दिर

भूकम्पले क्षतिग्रस्त पु¥याएको राजधानीको विश्वरूपा मन्दिर। तस्बिर /नागरिक

भूकम्प गएको चार वर्ष बित्दा पनि राजधानीको पशुपति मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर (शिव र पार्वतीको विराट स्वरूप भएको) मन्दिर जीर्ण अवस्थामा छ। पुनर्निर्माण नहुँदा मन्दिर जीर्ण बनेको हो। २०७२ सालको विनासकारी भूकम्पले उक्त मन्दिर भत्काएको थियो। आसपासका संरचना पनि सबै भत्किएको छ। तर, पशुपति क्षेत्र विकास कोषले निर्माणमा बेवास्ता गरेको छ।

संरक्षण नगरिएपछि मन्दिर लथालिंग अवस्थामा छ। मन्दिरभित्र हरियो झारजंगल पलाएका छन्। ऐतिहासिक काठसमेत मक्किएर खेर गएका छन्। पुराना पाटी पनि भत्किएका छन्। तर, संरक्षणमा कुनै निकाय लागेका छैनन्। बेलैमा पुनःनिर्माण नहुँदा विश्वसम्पदा सूचीमा रहेको विश्वरूपा मन्दिरको अस्तित्व नै संकटमा परेको छ। विश्वरूपाको छेवैमा विष्णु, कृष्ण र देवीको मूर्ति छ। गत माघमा कोषले ऐतिहासिक मन्दिर अगाडिको चारै भागको खाली जग्गामा सिमेन्टका टहरा निर्माण गरेर सम्पदा मास्न लागेको भन्दै जनप्रतिनिधि, सांसद् र सम्पदाप्रेमीले विरोध गरेका थिए।

त्यसपछि पुरातात्व विभाग र जनप्रतिनिधिको निर्देशनपछि कोषले निर्माण भइरहेको टहरा हटाएको थियो। उक्त बेला काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले अवलोकन गरी सम्पदा संरक्षण गर्नुपर्ने निकायले नै सम्पदा मास्न खोजेको आरोप लगाएका थिए। उनले जनप्रतिनिधि, पुरातत्व विभाग, स्थानीय, सांसद् हुँदाहुँदै पनि कोषले बिना समन्वय र मापदण्ड कुल्चेर संरचना निर्माण गर्नु दुर्भाग्य रहेको समेत बताएका थिए।

भूकम्पछि कोषले आर्मी लगाएर मन्दिर भत्काएको थियो। हतार गरेर मूर्ति निकाल्दा पार्वतीको मूर्ति भाँच्चिएको छ। पशुपतिनाथ मन्दिरका पुजारी केदारमान भण्डारीका अनुसार विश्वरूपा मन्दिरभित्र अष्ट धातुको शिव र पार्वतीको मूर्ति छ। ती मूर्ति लिच्छवीकालीन समयमा बनेको इतिहास छ। २४ फिटको त्यो मूर्ति प्राचीन र अनुपम छ। यो अनमोल मूर्ति अहिले नष्ट हुने अवस्थामा छ। राणा प्रधानमन्त्री जंगबहादुर राणाले मन्दिर बनाएर त्यहीँ विश्वरूपाको मूर्ति प्रतिस्थापन गरेका थिए।

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले डिजाइनले गर्दा विश्वरुपा मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको बताए। ‘विश्वरूपा मन्दिर पुनःनिर्माणको लागि पहिलैदेखि पहल गर्दै आए पनि डिजाइनमा धेरै ढिलाइ भयो,’ उनले भने, ‘अहिले डिजाइनको फेजको प्रक्रियामा छ। पुरातात्विक र कानुनी ढंगले डिजाइन पूरा गरी टेन्डर प्रक्रियामा जान्छौं। त्यसपछि निर्माण थाल्छौँ।’ उनले आर्थिक वर्षमा मन्दिरको पुनःनिर्माण  सम्पन्न हुने बताए। मन्दिर निर्माणमा करिब ७० करोड लाग्ने उनको अनुमान छ।

मन्दिर पुनःनिर्माण नहुन्जेल मन्दिर छेक्नको लागि टहरा हाल्न लागिए पनि विवादका कारण हटाएकाले त्यहाँ हाल्न मिल्ने सामग्री नमिलेकाले मन्दिर र ऐतिहासिक काठ संरक्षण गर्न नसकेको उनले बताए। ‘हामीले मन्दिरलाई छानो हाली संरक्षण गर्न लाग्दा विवाद भएकाले निर्माण सामग्री हटायौँ,’ उनले भने, ‘छानो हाल्नलाई साम्रगी मिलिरहेको छैन। समाधानको लागि केही समय लागे पनि संरक्षणमा लाग्ने छौँ। यसबारे सम्बन्धित निकायसँग पनि यसमा छलफल गर्नेछौँ।’
शिव र पार्वतीको विराट रूप भएकाले यो मूर्तिलाई विश्वरूपा भनिएको हो। यसबारेमा पुराण, शिव पुराण, नेपाल महात्मालगायत ग्रन्थमा पनि लेखिएको छ। २४ फिट लम्बाइमा बनेको शिव र पार्वतीको अष्ट धातुको दुर्लभ मूर्ति रहेकाले यो मन्दिरलाई विश्वरूपा भन्ने चलन छ।

प्रकाशित: १४ असार २०७६ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App