८ वैशाख २०८१ शनिबार
खेल

मुजिबको स्पिनबाट ब्याट्सम्यानलाई सकस

लिड्स – अफगानिस्तानका युवा बलर मुजिब उर रहमानले पछिल्ला समय टोलीका लागि राम्रो बलिङ गरिरहेका छन्। उनले आफ्नो जादुमयी स्पिन बलिङबाट यस विश्वकपमा विपक्षी टोलीका क्रिकेटरलाई  निकै समस्या पैदा गर्दै आइरहेका छन्। जारी विश्वकपमा अफगानिस्तानले सात खेल पूरा गर्दा मुजिबले ५ खेलमा मात्र अवसर पाए। यस क्रममा उनले चार विकेटसमेत निकालेका छन्। गत बंगलादेशविरुद्धको खेलमा भने उनको प्रदर्शन उत्कृष्ट रह्यो।

उक्त खेलमा मुजिबले तीन विकेट निकाले। १० ओभर बलिङ गरेका मुजिबले ३८ रन मात्र खर्चिएका थिए। अफगानिस्तानले यस विश्वकपमा हालसम्म जित आत्मसात गर्न सकिरहेको छैन। यद्यपि, केही खेलाडीको प्रदर्शन भने उच्च स्तरको छ। ती मध्ये एक मुजिब उर रहमान पनि हुन्। जसको प्रमाण उनले भारतविरुद्ध गरेको प्रदर्शन पनि हो।

उक्त खेलमा उनले एक मात्र विकेट लिए पनि एकपछि अर्को उत्कृष्ट बलिङ गर्दै भारतीय ब्याट्सम्यानलाई निकै दबाबमा राखेका थिए। त्यस क्रममा १० ओभर बलिङ गरेका मुजिबले २८ रन मात्र खर्चिंदै आफूलाई किफायती बलरको रूपमा साबित गरेका थिए। यस विश्वकपमा उत्कृष्ट ब्याटिङ गरिरहेका रोहित शर्मालाई क्लिन बोल्ड गर्दै मुजिबले भारतलाई पहिलो झड्का दिएका थिए।

त्यही दबाबकै कारण भारत न्युन स्कोरमै रोकिएको थियो। अस्ट्रेलियाविरुद्ध पनि उनले एक विकेट लिएका थिए। इङ्ल्यान्ड र श्रीलंकासँगको खेलमा पनि मुजिब विकेटविहीन भए। यस विश्वकपमा तुलनात्मक रूपमा कम विकेट लिए पनि मुजिब कुनै पनि स्टार ब्याट्सम्यानलाई सस्तैमा आउट गर्दैै खेलमा प्रभाव जमाउन सक्ने युवा बलर हुन्।

जसमा उनले इन्डियन प्रिमियर लिग क्रिकेटमा पनि यादगार प्रदर्शन गर्दै साबित गरिसकेका छन्। सन् २०१७ मा आयरल्यान्डविरुद्धको एकदिवसीय खेलबाट अफगास्तिानको टोलीमा डेब्यु गरेका मुजिबले ३५ खेलमै ५६ विकेट लिइसकेका छन्।

अफगानिस्तान शनिबार पहिलो जितको खोजीमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ। उक्त खेलमा पनि मुजिब पाकिस्तानी ब्याट्सम्यानका लागि निकै चुनौतीपूर्ण बलर साबित हुन सक्छन्। पाकिस्तानी बलर पनि मुजिबको बलिङमा सजग भएर खेल्ने प्रयासमा हुनेछन्।

प्रकाशित: १४ असार २०७६ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App