८ वैशाख २०८१ शनिबार
समाज

हुस्सुभित्र हराउने मेलम्चीघ्याङको १३ वर्षदेखि सानदार नतिजा

माध्यमिक शिक्षामा १३ वर्षदेखि लगातार उत्कृष्ट नतिजा पस्किरहेको हेलम्बुको मेलम्चीघ्याङ मावि । ध्रुव/नागरिक

सिन्धुपाल्चोक– सुन्दर तर निकै विकट हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ माविले परम्परा कायम राख्दै यो पटक पनि एसईई (माध्यमिक शिक्षा परीक्षा) मा सानदार नतिजा ल्याएकाे छ। बाह्रैमास हिउँले ढाक्ने, नभए धुम्म मेलम्चीघ्याङले याे पटक मात्रै हाेइन विगत १३ वर्षदेखि लगातार सानदार नतिजा ल्याउँदै आएको छ।

एसईई दिएका विद्यालयका सबै २४ विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका छन्। विद्यालयका अनुसार आठ जनाले ए प्लस, १२ ले ए र बाँकी चार परीक्षार्थीले बी प्लस जिपिए ल्याएका छन्। ‘यसपल्ट पनि उत्कृष्ट नतिजा ल्याउन सफल भयौँ,’ नतिजा हेरेपछि प्रधानाध्यापक पूर्णबहादुर गौतमले नागरिक न्यूजसँग भने, ‘मेहनतको फल पाउँदा खुशी छौँ।’

सुगम र सहरका सुविधा सम्पन्न निजी विद्यालयकै नजिता सँधै एकनासको हुँदैन। नतिजामा उतारचढाव भइरहन्छ। सामुदायिक विद्यालयको त झन् के कुरा गर्नु! सरकारी विद्यालयमा अध्यापन गरेर निजीमा बालबच्चा पढाउने शिक्षक र सामुदायिक विद्यालयलाई अविश्वास मात्रै गर्ने अभिभावकलाई चुनौती दिँदै मेलम्चीघ्याङले भने लगातार उत्कृष्ट नतिजा पस्किरहेको छ।

‘गुम्बाको गाउँ’, ‘स्याउको सहर’ शेर्पा समुदायको बसोबास र ह्योल्मो संस्कृतिले हेलम्बु जति सुन्दर र चर्चित छ, त्योभन्दा बढी भौगोलिक विकटता, दुःख र अभावले उति कहाली लाग्दो पनि। तर आश्चार्य यो छ, यहाँ पढ्ने विद्यार्थीले कि ए प्लस र ए टप्काउँछन्, नभए कम्तिमा बी जिपिए हाँसिल गर्छन्। सरकारले विद्यालय शिक्षाको गुणस्तर बढाउन अक्षरांकन पद्धति (जिपिए) लागू गरेको चार वर्ष बित्दा मेलम्चीघ्याङका कुनै पनि विद्यार्थीले बी जिपिएभन्दा तल चित्त बुझाउनु परेको छैन्।

यसअघि अंक मूल्यांकन पद्धतिमा विद्यालयले नौ पटक एसएलसी दिँदा अनुत्तिर्ण त के एकै जना विद्यार्थीले पनि दोस्रो श्रेणी ल्याएको उदाहरण विद्यालयको रेकर्डमा छैन्। विद्यालयले विशिष्ट र प्रथम श्रेणीमा सबै विद्यार्थी उत्तिर्ण गराउँथ्यो। हिउँमा कठ्यांग्रिदै, बादलभित्र लुकेर पढेका सन्दिप गिरी, पुष्प खड्का, सजिना पाण्डे, कपिल नेपाल, फूर्पी शेर्पा, उज्वल आचार्य, अञ्जना महत र निरोज दंगालले ए प्लस ल्याए। सन्दिपले सबैभन्दा बढी ३.८५ ग्रेड हाँसिल गरे।

उक्त विद्यालय पहिलो पटक २०६३ मा एसएलसीमा सहभागी भएको थियो। त्यसयता विद्यालयले लगातार माध्यमिक शिक्षाको नतिजा उत्कृष्ट ल्याइरहेको छ। प्रधानाध्यापक गौतम एउटा पक्षको कारण मात्र लगातार यो उपलब्धि हाँसिल नभएको बताउँछन्। उनका अनुसार चुस्त व्यवस्थापन, मेहनती शिक्षक र सहयोगी अभिभावकमा सफलताको राज लुकेको छ। ‘व्यवस्थापन र शिक्षकको मात्रै मेहनत पुग्यो भने पनि सफलता प्राप्त गर्न सकिंदो रहेछ,’ उनको अनुभव छ।

विद्यार्थीसँग घुलमिल गरी छोराछोरीलाई जत्तिकै रिझाएर पठनपाठन गर्दै आएको उल्लेख गर्दै गौतमले सुनाउँछन्, ‘शैक्षिक वातावरण बनाइदिएपछि विद्यार्थी आफैँले मेहनत गर्दा रहेछन्।’ हेलम्बुको एक गाउँबाट–अर्को गाउँ पुग्न एक दिन बढी पैदल हिंड्नु पर्छ। राजधानी लैजान तयारी गरिएको मेलम्ची खोलाको पारिपट्टी माथिल्लो भागको कुनामा एउटा मात्र सय घरधुरीको गाउँ छ, मेलम्चीघ्याङ। त्यसैले यहाँ विद्यार्थी न्यून हुन्छन्।

केही वर्षयता मेलम्चीघ्याङलाई धुले सडक ट्रयाकले जोडेको छ। मेलम्ची खोलामा पुल छैन्। हिँउदमा जसोतसो गाउँसम्म मोटर पुग्छ। बर्षाको चार महिना मोटर चल्दैन, बरु हिँड्ने बाटाघाटा नै हराउँछन्। दैनिक उपभोग्यलगायत सामग्री मेलम्ची वा तिपेनी बजारदेखि बोकाएर गाउँ पु¥याउँनु पर्छ। विद्यार्थी आलु खाएर पढ्छन्।

विद्यालयका शिक्षक पूर्वतयारी नगरी कक्षामा नछिर्ने बताउँछन्। उनीहरुका अनुसार वार्षिक पाठयोजना अनुरुप एकाइ र पाठ योजना बनाएर मात्र शिक्षक पढाउँछन्। ‘हातमा पाठ र इकाइ योजना कहिल्यै टुट्दैन,’ उनीहरु सुनाउँछन्। २०७२ वैशाख १२ को भूकम्पले भवन ढालेयता विद्यालय अस्थायी टहरोमा सञ्चालित छ। पक्की भवन निर्माणाधीन छ। भूकम्पले विद्यालय भवन ढाले पनि पढाइलाई धक्कासम्म दिन सकेन। भूकम्पछि २०७२ को एसईईमा सहभागी विद्यालयका ३३ विद्यार्थीमध्ये  १० ले ‘ए प्लस’, १७ ले ‘ए’, चार ले ‘बी प्लस’ र दुई जनाले ‘बी’ जिपिए  प्राप्त गरेका थिए।

विद्यालयले २०५२ बाट प्राथमिक तहदेखि नै अंग्रेजी माध्यममा पढाउँदै आएको छ। विद्यालयमा कक्षा एकमुनि केजी र नर्सरी तह सञ्चालनमा छन्। विद्यालयमा दैनिक पुरा सात घण्टा पढाइ हुन्छ भने वर्षमा कम्तिमा दुई सय ३० दिन। आवासीय यो विद्यालयमा बर्सेनी मुलुकका दर्जन बढी जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन्। चालु शैक्षिक सत्रमा झण्डै साढे दुई सय विद्यार्थी नयाँ भर्ना भएकामा अधिकांश बाहिरी जिल्लाका हुन्। यो पटक एसईईमा सफलता प्राप्त गर्ने विद्यार्थीमध्ये पनि अधिकांश बाहिरकै हुन्।

ह्योल्मो संस्कृति, रहनसहन र भाषासमेत सिकाइने विद्यालयको वातावरण पढुँ–पढुँ लाग्ने खालको छ। कक्षा एक–पाँचसम्म ऐच्छिक विषयको रुपमा तिब्बती भाषा पढाइन्छ। अभावमा चलेको यो विद्यालयमा दुई मात्र स्थायी दरबन्दी छ, त्यो पनि प्राथमिक तहको। प्रअ गौतम स्वयं प्राथमिक दरबन्दीका हुन्। संघ संस्थाको सहयोगबाट शिक्षकलाई तलब खुवाइन्छ। तीन दशकअघि सुन्दर हेलम्बु घुम्न निस्किएका गौतमले नै एउटा घरको बरण्डाबाट यो विद्यालय सञ्चालनमा ल्याएका थिए। सामुदायिक विद्यालयको गुणस्तर सुधार्न योगदान गरेका उनै गौतम नेपाल रिपब्लिका मिडियाको ११ औं वार्षिकोत्सवको अवसरमा गत बैशाखमा नागरिक नायक घोषित भएका थिए।

प्रकाशित: १३ असार २०७६ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App