८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

ट्युमरको भारीले हैरान

शरीरमा पलाउने ट्युमरले कुरुप त बनाउँछ नै सामान्य रुपमा जीवनयापन गर्नसमेत कठिन हुन्छ। उपचारको बारेमा थाहा नपाउँदा कति व्यक्तिले त सकस जीवन जिउन बाध्य हुनुपर्ने अवस्था छ। नेपालमा शरीर तथा अनुहारमा पलाएका ट्युमरको उपचार भने सम्भव छ। ट्युमरको उपचारका बारेमा सुषमा कोइराला मेमोरियल अस्पतालका रिकन्स्ट्रक्टिभ डाक्टर जसवन शाक्यसँग उपेन्द्र खड्काले गरेको कुराकानी।

अनुहारमा कस्ता–कस्ता ट्युमरले समस्या निम्त्याउँछ ?
अनुहार तथा शरीरका अन्य भागमा विभिन्न किसिमका ट्युमर आउन सक्छन्। विशेषगरी अनुहारमा आउने ‘न्यूरोफाइब्रोमाटोसिस’ र ‘हेमान्जिओमा’ जस्ता ट्युमरले सुन्दरतामा त समस्या हुन्छ नै। व्यक्तिलाई सामान्य रुपमा जिउन असहज हुन्छ।

तपाईंले विशेषगरी दुई किसिमका ट्युमरको कुरा गर्नु भयो ‘न्यूरोफाइब्रोमाटोसिस’ कस्तो किसिमको ट्युमर हो ?
मुख्य रुपमा अनुहार तथा शरीरमा आउने ‘न्यूरोफाइब्रोमाटोसिस’ वंशाणुगत नसासम्बन्धी ट्युमर हो। अनुहार तथा शरीरका विभिन्न भागमा यस्ता किसिमका ट्युमर आउन सक्छन्। बुवा–आमा वा पूर्खामा आएको छ वा बुवा–आमामा यस्तो ट्युमर नदेखिए पनि यो ट्युमर हुने गुण बोकेको अवस्थामा त्यस्ता व्यक्तिका सन्ततिमा देखिन सक्छ। यस किसिमको ट्युमर भएमा ट्युमर बढ्दै ठूलो हुन्छ। तर सबै ट्युमर बढेर ठूलो हुन्छ नै भन्ने छैन।

‘न्यूरोफाइब्रोमाटोसिस’ ट्युमरको कस्तो असर हुन्छ ?
यस किसिमको ट्युमर बढ्दै जाँदा ठूलो हुन्छ। ‘न्यूरोफाइब्रोमाटोसिस’ ट्युमर बढेकै कारणले शारीरिक रुपमा ज्यानै जाने असर नहुने भए पनि मानसिक रुपमा भने असर गर्छ। यसको अर्थ यस किसिमको ट्युमरकै कारण व्यक्तिको ज्यान भने जाँदैन। अनुहार तथा शरीरमा यस्तो ट्युमर आउँदा कुरुप देखिन्छ। दैनिक कार्यमा असहज हुन्छ। त्यसैले यस्तो ट्युमर भएका व्यक्तिलाई मानसिक रुपमा विछिप्तता पैदा हुन सक्छ।

‘न्यूरोफाइब्रोमाटोसिस’ ट्युमरको उपचार सम्भव छ कि छैन ?
यो ट्युमरलाई कुनै किसिमको औषधिले उपचार तथा निर्मूल गर्न सकिँदैन। बढेको ट्युमरलाई शल्यक्रिया गरेर काटेर भने फाल्न सकिन्छ। तर शल्यक्रिया गरेर फाले पनि २÷३ वर्षमा पुनः पलाउन सक्छ। पलाएको अवस्थामा फेरि काटेर फाल्न सकिन्छ।

तपाईंले उपचार गर्नेक्रममा ‘न्यूरोफाइब्रोमाटोसिस’ जस्ता समस्याले पीडित भएका कोही बिरामीको याद छ ?
याद छ। केही वर्ष अगाडि ताप्लेजुङ्गका ६० वर्षीय कृष्णप्रसाद भट्टराईको उपचार गरियो। ‘न्यूरोफाइब्रोमाटोसिस’ नामक वंशाणुगत नसासम्बन्धी
ट्युमरले उनी पीडित थिए। उनको शरीरैभरि ट्युमर आएको थियो। दायाँबायाँ गालामा भने थेग्नै गाह्रो हुने किसिमले लामो गरी पलाएर ट्युमर लत्रिएको थियो। ट्युमर बढेर ११ किलोभन्दा धेरै भैसकेको थियो। ट्युमर कम्मरसम्म लत्रिएको थियो। उनले ट्युमर धान्न नसकेर झोलामा बोकेर हिँड्ने गरेका थिए। जसले काम गर्न त परै जाओस् सामान्य हिँडडुल गर्न पनि कृष्ण प्रसादलाई कठिन भएको थियो।

सामान्य ज्याला मजदुरी गरेर जीवन धान्न उनलाई ट्युमरले कठिन बनाएको थियो। ट्युमरमा घाउ भएर झिँगासमेत भन्किने भएकाले उनको छेउमा कोही पर्दैन थिए। अस्पतालमा यस्ता धेरै केस आउने भए पनि करिब १८ वर्षे चिकित्सा सेवाको अनुभवमा उनको केस भने मेरा लागि फरक थियो।

कृष्णप्रसादको ट्युमरको उपचार कसरी सम्भव भयो त ?
उनी सुषमा कोइराला मेमोरियल अस्पताल आइपुगे। मेरै नेतृत्वको चिकित्सकको टिमले नौ घण्टा लगाएर कृष्ण प्रसादको गालाको ट्युमरको शल्यक्रिया  गरियो। शल्यक्रिया सफल भयो। उनको भारी हट्यो। दंग परेर उनी डिस्चार्ज भएर घर फर्किए।
उपचारपछि घर जाँदा त उनलाई गाउँका कसैले चिनेनछन्। पछि फलोअपमा आएका थिए। तर उनको ट्युमर बढेको थिएन।

‘न्युरोफाइब्रोमाटोसिस’का समस्याले सताएका पीडितको अन्य कुनै केस सम्झना छ ?
यस्ता विभिन्न केस आइरहन्छन्। एक वर्षअघि बागलुङकी १८ वर्षीया रीमा बिक देब्रे आँखाको छेउमा ट्युमरले सताएर अस्पताल आएकी थिइन्। जन्मजातै आएको उनको ट्युमर उमेर बढ्दै जाँदा ट्युमर पनि बढ्दै गयो। १८ वर्षसम्ममा त ट्युमरले आँखै छोपिएर हेर्नै मिलेन। उनको पनि सफल सल्यक्रियापछि आँखा हेर्न सहज भयो।

यी दुई केस त ‘न्यूरोफाइब्रोमाटोसिस’ को समस्याका केस भए। अर्को,‘हेमान्जिओमा’ नामक ट्युमरको कुरा गर्नु भयो यो कस्तो किसिमको ट्युमर हो ?
‘हेमान्जिओमा’ ट्युमर रगतको नली फुल्नाले आउँछ। छालाभित्रको रगतको नली फुल्दा बाहिरबाट हेर्दा सुन्निएको जस्तो देखिन्छ। भुक्क उठेको हुन्छ। यस किसिमको ट्युमर पनि जन्मजातै  आउने ट्युमर हो । बिस्तारै बढ्दै जान्छ।

‘हेमान्जिओमा’ ट्युमर कस्तो ठाउँमा आउँछ ?
यस किसिमको ट्युमर पनि शरीरको जुनसुकै ठाउँमा आउन सक्छ। गालामा आयो भने गालै सुन्निएको जस्तो देखिन्छ। सुरुमा सानो हुन्छ, जति उमेर बढ्यो उति बढ्दै जान्छ। कतिपय अवस्थामा भने यस्तो ट्युमर नबढी स्थिर रुपमा रहन्छ।

‘हेमान्जिओमा’ ट्युमरको उपचार पद्धति कस्तो छ ?
यस किसिमको ट्युमरको पनि शल्यक्रिया गरेर काटेर फाल्न सकिन्छ। यस किसिमको ट्युमरको राम्रो पक्ष भनेको एकपटक शल्यक्रिया गरेपछि पुनः आउने जोखिम कम हुन्छ। छालाभित्रको फुलिएको रगतको नली काटेर फालेपछि पुनः आउने सम्भावना अत्यन्तै कम हुन्छ।

अस्पतालमा ‘हेमान्जिओमा’ ट्युमरका कस्ता–कस्ता केस आउँछन् ?
करिब तीन वर्षअघि ‘हेमान्जिओमा’ ट्युमरले सताएर पाँचथरकी २५ वर्षीय बिना राई उपचारका लागि अस्पताल आएकी थिइन्। उनको देब्रे गालामा वंशाणुगत रुपमा ‘हेमान्जिओमा’ नामक ट्युमर पलाएको थियो। ट्युमरले गाला भुक्क उठेको थियो।

उनको उपचार कसरी गरियो त ?
गालामा फुलेको रक्तनली शल्यक्रिया गरी निकालेर फालियो। शल्यक्रियापछि उनको गाला सामान्य अवस्थामा आयो। यस किसिमको ट्युमर पुनः फर्किने सम्भावना कम हुन्छ। बिना दुई वर्षअघि फलोअपमा आउँदा पनि उनको ट्युमर पुनः पलाएन। ठिक भैसकेको थियो।

‘हेमान्जिओमा’ ट्युमरको अन्य कुनै केस सम्झना छ ?
दुई वर्षअघि आठ वर्षीय बालक दाबा शेर्पा देब्रे गालामा ट्युमर पलाएर मुखै बन्द गर्नसमेत नमिल्ने अवस्थामा पुगिसकेका थिए। उनलाई खाना खान अत्यन्तै कठिन थियो। मुखबाट ¥याल चुहिरहन्थ्यो। उमेर बढ्दै जाँदा ट्युमर पनि बढ्दै गयो।

दाबाको उपचार कत्तिको कठिन थियो ?
शल्यक्रिया भन्नेबित्तिकै जटिल त भैहाल्छ। उपचारको क्रममा केही समस्या आउन सक्छ। यसको अर्थ उपचार असम्भव भन्ने हैन। दाबाको पनि उपचार सफल भयो। उपचारपछि उनको गाला सामान्य भयो। खान, हिँड्न सहज भयो। सानै उमेरमा दाबाको उपचार गरिएको हुनाले पनि उनको ट्युमर थप बढ्न पाएन।

यी बाहेक कस्ता ट्युमरको जोखिम हुन्छ ?
छालाका क्यान्सरजस्ता कारणले पनि ट्युमर आउन सक्छ, जसले ज्यान जान सक्छ। त्यसैले शरीरमा कुनै पनि किसिमका ट्युमर देखिए बेलैमा स्वास्थ्य जाँच गराउनु पर्छ।

तपाईं ‘मास्टर इन सर्जरी,’ बैंकक र कोरियामा ‘प्लास्टिक सर्जरी’को कोर्ष गरिसक्नु भएको चिकित्सक। कस्मेटिक सर्जनका रुपमा सेवा गरिरहनु भएको छ। ‘प्लाष्टिक एण्ड रिकन्स्ट्रक्टिभ’ सर्जनका रुपमा परिचित हुनुहुुन्छ। नेपालमा सर्जरी सम्बन्धी के–कस्ता उपचार सम्भव छन् ?
आगोले पोलेका, अंग–भंग भएका, जन्मजात रुपमा शरीरका विभन्न भागमा डिफेक्ट भएका, तालु तथा ओठ र मुख खुँडे भएका, हात–खुट्टाका औँला जोडिएका, क्यान्सरको उपचारलगायतका समस्याले शारीरिक अंग कुरुप भएकाजस्ता बिरामीको नेपालमै सहज उपचार गर्न सकिन्छ। नेपालमा चिकित्सकको परामर्शमा उपचार गर्नुपर्छ। नेपालमा सर्जरीका प्रायः यस्ता उपचार सम्भव हुने भएकाले उपचारै नपाउने अवस्थाका कारण विदेशिनुपर्ने अवस्था छैन।

प्रकाशित: १३ असार २०७६ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App