८ वैशाख २०८१ शनिबार
अन्य

मास्टरनी

त्यस दिन ऊ अलिकती खुली। अलिकति मात्र। बादल छिचोलेर देखिएको घामको एकछेउजस्तै गरी।
नाम ?
सजिता बिक।
घर ?
नुवाकोट डुप्चेश्वर गाउँपालिका वडा नं ३।
पेशा ?
शिक्षण।

अनुहारको रङ निख्खर कालो। कपाल बढेर काँधबाट लत्रिएको। ओखरका पातले माझेजस्ता सेता दाँत। टुपुक्क परेको नाक। पाँच फिट उचोँ काया। फुर्तिलो। ज्यानमा गुलाबी कुर्था सलवार। रातो स्वीटर । निधारमा सानो बिन्दीया टीका। ऊ राम्री देखिएकी थिई। ऊ केटाकेटीलाई पढाइरहेकी थिई। जिन्दगी। ह्वाइटबोर्डमा कालो मार्करले लेखिरहेकी थिई। सुनौला अक्षरहरु। सजितासँगको यो मेरो दोस्रोपटकको भेट थियो। पहिलोपटक भेट्दा पनि ऊ त्यही स्कुलमा थिई। पढिरहेकी थिई। कक्षा ५ मा। यो संयोग थिएन। त्यतिखेर उसका पैतालाहरु तुषारोले पट्पट् फुटेका थिए।

नुवाकोट डुप्चेश्वरको जिमनाङ गाउँ। पातलो बस्ती। छरिएका घरहरु। तामाङहरुको बाहुल्यता। बस्तीको बीचमा ठूलो रुख छ। रुखको वरिपरि ढुङ्गाको होचो गाह्रो। थकान मेट्ने बिसौनी। चौतारा। चौताराको उत्तरतर्फ सानो स्कुल छ। स्कुलको बाटो भएर अर्को बाटो आइपुगेको छ। त्यहि बाटो समाउँदै बस्तीको पुछार निस्किन सकिन्छ। जहाँ छ भीमबहादुर विकको घर जस्तो घर। रातो माटोले लिपिएको पिँढी। एउटा मान्छे अटाउने ढोका। जस्ताको छानो। साँघुरो आँगन। आँगनको मुनि अग्लो कान्ला। कान्ला मुनि ओडार जस्तो छाप्रो। छाप्रोमा ढुङ्गाको ओदान। कोइलाको बोरा। नजिकै खलाँती। एउटा फलामको घन। भुइँमा पाइन खोजेर हाँसिरहेका हँसिया, खुर्पा, कोदालो । भीमबहादुर विकको कार्यस्थल त्यही हो। भीमबहादुरले सम्झिएदेखि ऊ यही गाउँमा छ। पहिले  भीमबहादुरका बा गाउँमा बाली भरे प्रथामा काम गर्थे। भीमबहादुरले पनि किशोरावस्थासम्म बाली घरे प्रथामै काम गरे। भिमबहादुरले वर्षभरि औजार अर्जापेबापत गाउँलेहरुले वर्षको एकफेर अन्न दिन्थे। पछि भीमबहादुरका बा पनि अन्त्य भए। बासँगै एउटा युगको अन्त्य भयो। भीमबहादुरले अर्को युगको सुरुवात गरे। उनका दुई भाई छोरा। दुई बहिनी छोरी। तीमध्ये कान्छो छोरो र कान्छी छोरीलार्ई स्कुल पठाए। जेठाले बाउको बिंडो थामे। भीमबहादुर विक आरनमा बस्थ्यो। तातो फलाम पिट्थ्यो। तर उसैलार्ई भाग्यले पिट्यो। हुर्किएकी जेठी छोरी बिदा भई। ऊ अर्काको घर गई। सधैँका लागि। त्यसको केही समयपछि भीमबहादुरको कान्छो छोरो बिदा भयो। संसारबाट। सधैंका लागि।

एसएलसीसम्म पढेका कान्छा छोराको मृत्युले भीमबहादुरलाई गाल्यो। फतक्क। गलेको अनुहार लिएर केही समयसम्म त आरनमा पनि बस्न सकेन। खलाँतीले दम उमार्यो। बिस्तारै खलाँती फुक्न छाडे। घन उचाल्न छोड्यो। तर कान्छी छोरी सजिता विकले स्कुल छोडिन्। उनको नाम पहिल्यै कमलमाणी आधारभूत विद्यालयको हाजिर रजिष्ट्ररमा चढिसकेको थियो।
“सजिता विक।”
“यस सर।”

सजिता स्कुलमा हात उठाएर उपस्थिति जनाउँथिन्। वर्षको एकपटक दलित छात्रावृत्तिमा रु.४०० प्राप्त गर्थिन्। त्यसैले आवश्यक कपी, कलम किन्थिन्।
सजिता विकले हात उठाएको आठ वर्ष भइसकेको थियो। त्यसरी उठेको हात र चढेको नाम हाजिर रजिष्ट्ररबाट उत्रेन। बरु ऊ वर्षैपिच्छे चढ्दै गयो। सजिता पनि कक्षा चढ्दै गई। चढ्दै गई।

सजिता विकले आधारभूत तह त्यही कमलमाणी आधारभूत विद्यालयबाटै पार गरिन्। माध्यमिक तह गाउँमा थिएन। घरदेखि निकै तल ओर्लेपछि भेटिन्थ्यो खोला। त्यो खोलाको किनारै किनार गएपछि भेटिन्छ राउतवेंशी। राउतवेंशीमै छ कंकेश्वरी माध्यमिक विद्यालय। आधारभूत तह सकिएपछि सजिता विकको अगाडि दुईवटा विकल्प थियो। एक घरमै बस्ने। घाँसपात गर्ने। मेलापात हिँड्ने। आमालाई सघाउने। अर्को घरधन्दा चटक्कै छाड्ने। राउतवेंशीको कंकेश्वरी माध्यमिक विद्यालय धाउने। ऊ हिम्मत भएकी केटी थिई। उसको मस्तिष्कमा केही योजना तयार भयो। ऊभित्र महत्वाकांक्षा पलायो। जसरी हुन्छ एसएलसी पास गर्ने। शिक्षित व्यक्ति बन्ने। गाउँको विद्यालयमा मास्टर बन्ने। त्यसैले उसले अप्ठेरो कुरा सोचिन्। सजिलोसँग टाढाको स्कुल धाउने।  तर स्कुल धाउन नयाँ पोशाक चाहियो। कपी कलम पहिले भन्दा बढ्ता खपत हुन्छ। स्कुलको फि तिर्न पर्छ। त्यसका लागि पर्याप्त खर्च चाहियो। यी सबका लागि परिवारलाई विश्वस्त तुल्याउनु पथ्र्यो। एक दिन उसले सेता दाँत देखाई। बाको अगाडि अलिकति हाँसी। आमाको अगाडि अलिकति रोई। तर भीमबहादुर विकको अनुहार हाँसेन। अहँ अलिकति पनि हाँसेन। बरु आमा रोई। दुखेर रोई। छोरीको रहर मारेर रोई। त्यसको निकै दिनसम्म सजिताले अनुहार घोर अध्याँरो बनाई। बादल डम्म लागेजस्तो। अहिल्यै आँधी, हुरी चल्ला जस्तो। भीमबहादुर छोरीलाई माया गर्थे। असाध्यै। के सोचे कुन्नि ? एक दिन सुरक्षित राखिएको तामाका केही पाता झिके। दिनभरि खलाँती फुके। घनले चुटे। ठिक्कका तीनवटा खड्कुलो बनाए। चुटुक्कका देखिए। डोकामा हाले। नाम्लोले थाप्लोमा भारी कसे। अनि बेंसी झरे। समुद्रटारमा भीमबहादुर विकको श्रम बिक्यो। खड्कुलो बेचेको पैसा स्टकोटमा हाले। एक प्याकेट चाउचाउ चपायो। एक बटुका जाँड पियो। बल्ल उसले घाम हेर्यो। आँखा चिमचिम हुने गरी लागेको थियो। खोलामा हे¥यो। त्यहाँ उसले भीम बहादुर विक हाँसिरहेको देख्यो।

त्यसपछि सजिता विकको नाम हाजिर रजिष्ट्ररमा चढ्यो।
श्री कंकेश्वरी माध्यमिक विद्यालय।
कक्षा ९
रोल नं. २१
त्यसपछि सजिता विकको दैनिकी फेरियो। घरदेखि राउतबेंसी। राउतबेंसीदेखि घर। यो दुरी दैनिक दुई घण्टाको हिँडाइले घटाउँथ्यो। भीमबहादुर विकले खँलाती फुकिरहे। घन ठोकिरहे। फलामका पातालाई निश्चित आकार दिइरहे। सजिता पनि एकमहिने वर्षे बिदामा दैनिक मेला जान्थिन्। वर्षभरिलाई कपी, कलम किन्ने पैसा जोहो गर्थिन्। बिस्तारै सजिता विकले आकार पाई।  

२०७२ सालमा गाउँमा दुईवटा अचम्म भयो । एक विनाशकारी भूकम्प गयो। अर्को सजिता विकले एसएलसी पास गरी। गाउँमा दलित जातिबाट एसएलसी पास गर्ने पहिलो छोरी मान्छे भई। त्यस बखत भीमबहादुर विकलाई घन उचाले जस्तो लागेन। खलाँती फुके जस्तो लागेन। दुःखको भुमरी चले जस्तो लागेन। उनलाई कहिल्यै दुःख भयोजस्तो लागेन। कस्तो कस्तो आनन्द जस्तो। ज्यान हलुका भए जस्तो। आकाश ताकेर उडिरहे जस्तो। जाडोमा बर्को भेटाए जस्तो । तिर्खामा जाँड पिए जस्तो। ऊ आनन्दित भयो। तर सजिता आनन्दित भइन। भित्रभित्र छटपटी बढेर गयो। उसलाई लाग्यो भर्खरै एउटा सानो डाँडो चढियो। भीमकाय पहाड सिङ्गै बाँकी छ। कसरी चढ्ने ? कसरी फोर्ने ? उसले पढ्ने माध्यमिक विद्यालयमा कलेज थिएन। उच्च शिक्षाका लागि समुद्रटार झर्नुपर्ने हुन्छ। आधा दिनको बाटोमा भेटिन्छ समुद्रटार। घर ओहोरदोहोर गर्ने सम्भावना छैन। समुन्द्रटारमै कतै कोठा लिएर बस्नुपर्छ। रासनपानी भर्नुपर्छ। कलेजको भर्ना फि तिर्न पर्छ। सजिता शिक्षक बन्न चाहन्थिन्। त्यसका लागि संकाय मिल्नुप¥यो। बाउ आमाको मन मिल्नुप¥यो। आर्थिक हिसाबकिताब मिल्नै प¥यो। सजिताको टाउको भाउन्न भयो। थचक्क बसी। सोची। खुब सोची। निकास भेटिन। निकासका लागि एकदिन ऊ आपैmँ पढेको स्कुलमा पुगी। भोलिन्टिर पढाउने प्रस्ताव राखी। थोरै खर्च जोहो गर्न सके कक्षा १२ सम्म अध्ययन गर्ने विचार पोखी। हेडसर उदार थिए।

“पाँच हजार दिन्छु। पढाउन सक्छौ ?”
“सक्छु” । सजिताले टाउको हल्लाई।
“कमिनी पनि मास्टर !”
“पानी नचल्ने जातकी केटीले पढाउन थाली !”
“अचम्म !”

उसको बाबुले कहिल्यै नदेखेको सपना। बाजेले कहिल्यै नगरेको कल्पना। दाजुभाइले कहिल्यै नगरेको आँट । आमाले कहिल्यै नभेटेको बतास। गाउँले कसैले नगरेको अनुमान। अपत्यारिलो कुरो। ऊ शिक्षक बनी। ऊ मास्टरनी बनी।

गाउँमा कुरा फैलियो। कुहिरो जस्तै। छप्प। सतहमा। कतिले जिब्रो टोके। ट्वाक्क। कतिले आफैँलाई चिमोटे। अया ! कति चुपचाप बसे। गुम्सिएर। यद्यपि केटाकेटीलाई स्कुल पठाइरहे। विकल्पको स्कुल नजिकै अर्को कतै थिएन। बिस्तारै सजिताले अभिभावक र विद्यार्थीको मन जिती। गाउँलेले सजितालाई स्वीकारे। जनजातिको वर्चश्व भएको गाउँ। ती दलित समुदायसँग अलिक उदार नै थिए।

विद्यालयमा पढाउन सुरु गरेपछि। सजिता विकले समुद्रटारको सामुदायिक कलेजमा कक्षा ११ को शिक्षा संकायमा नाम लेखाइ। आफ्नै कमाइले। फेरि मास्टरी काम पनि गर्नु थियो। समुद्रटारमा कोठा लिएर बस्ने सम्भावना रहेन। त्यसैले कोर्सका पुस्तक किनी। घरमा स्व अध्ययन गरी। परीक्षा फर्म भर्न समुद्रटार पुगी। उसले खुब मिहिनेत गरी। अन्ततः कक्षा १२ पनि उत्तीर्ण गरी।

फेरी अचम्म भयो। उसले बाह्र कक्षा उत्तीर्ण गर्नु र मास्टरीमा अनुत्तीर्ण हुनु एकै पटक भयो। राम्रो पढाउन नजानेको भनेर सजिता विकलाई बिदा ग¥यो। विद्यालय व्यवस्थापन समितिले। विद्यालय व्यवस्थापन समिति राजनीतिबाट पर रहन सकेन। तर अभिभावक र विद्यार्थीको विश्वास जितिसकेकी थिइन् सजिताले। तिनीहरुले दबाब दिए। व्यवस्थापन समितिलाई। पाँच महिनापश्चात् सजिता विकलाई निजी स्रोतमा शिक्षक पदमा नियुक्ति गरियो।

गत माघ २०७५ मा मैले उसलाई दोस्रोपटक भेटेँ। स्कुलमै। घाम टाउकोमा थियो। स्कुलको चौरमा केटाकेटी। स–साना अक्षरका जंगल छिचोल्न सिकाइरहेकी थिइन्। यस्तै स–साना अक्षरका जंगल छिचोलेर आइपुगेकी हो सजिता विक आफू पनि। तर उसलाई अझ घनघोर जंगल छिर्नुछ। जंगलमा जिन्दगीको घाउ सन्चो पार्ने जडिबुटी भेटाउनु छ। उपचार गर्नुछ स–साना केटाकेटीहरुको गहिरो घाउ। अचेतनाको। यसका लागि ऊ आपूmमा ज्ञानको भण्डार भर्न चाहन्छे। पाँच हजार मासिक तलबले ऊ पेट भर्ने कि ज्ञान? असमञ्ज हुन्छ। स्व अध्ययन त गरुलाँ। तर समुद्रटार पुग्नु। स्नातकोत्तरमा भर्ना हुनु। किताब किन्नु। परीक्षा फर्म भर्नु। यावत खर्च व्यवस्थापन के ले गर्ने? यस्तोमा अगाडिको पढाइलाई थाती राख्नुको नमिठोपना सजिताले भोगिरहेकी छन्। सजिता जस्तै देशमा कतिले यही नियती भोगिरहेका होलान्? जो आफ्नो शैक्षिक योग्यता बढाउन चाहन्छन्, उनीहरुका लागि राज्य त चुप छ। भन्नलाई त दलित छात्रवृत्ति, छात्रा छात्रवृत्ति लगायतका छात्रवृत्ति छ। तर त्यहाँसम्म न सजिताको पहुँच छ। न सजिता जस्ताहरुको पहुँच छ। कोटा, आरक्षणलगायतका फाइदा हुनेखाने र पहुँचमा हुनेले नै लिइरहेका छन्। सजिताजस्ता जो संघर्ष गरेर आपूmलाई सक्षम बनाउन लागि परेका छन्, उनीहरुको पक्षमा यो राज्य कहिले उभिन्छ होला ? कहिले जनताको आवश्यकता बोध गर्ला ? को आवश्यकताको पहिलो पङ्क्तिमा छ ? यसको निश्पक्ष छानबिन कसले गर्ला?

प्रकाशित: १३ असार २०७६ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App