७ वैशाख २०८१ शुक्रबार
भिडियो

आइजिपी खनालको प्रश्नः घरबाट ढिला निस्कने, ट्राफिक जाममा परियो भन्ने?

काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले ट्राफिक जाम व्यवस्थापनका लागि व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सडक सभ्यता सम्बन्धी तीन महिने कार्यक्रमको समीक्षा समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले जामका लागि समय व्यवस्थापन गर्ने बानी बसाल्न सुझाव दिएका हुन्।

‘हामी घरबाट ढिला निस्किने, ढिलो हुँदा ट्राफिक जाममा परियो भन्ने?’ आइजिपी खनालले प्रश्न गरे, ‘काममा हिड्दा अलिकति मार्जिन राखेर हिड्नुपर्यो। ट्राभल टाइम राख्ने गरौं।’

बंगलादेशमा १० किलोमिटर यात्रा गर्दा जामले पौने घण्टा लाग्ने गरेको अनुभव सुनाउँदै आइजिपी खनालले भने, ‘हाम्रोमा त्यस्तो छैन। तर, ट्राफिक लाइटको व्यवस्थापन, प्रविधिमा अपडेट र जनचेतनामा हामीले जोड दिएका छौं।’

जाम व्यवस्थापनमा ट्राफिक प्रहरी लागिरहेको भन्दै यसमा समाजको पनि उल्लेख्य दायित्व रहने बताए। धेरैले विदेशमा नियम कडा भएको र यहाँ पनि बनाउन सुझाव दिएको भन्दै आइजिपी खनालले जबसम्म नागरिक, सवारी चालक आफैं विवेकपूर्ण हिसाबले सचेत बन्दैन तबसम्म व्यवस्थापन नहुने जिकिर गरे। उनले आफूहरु ट्राफिक लाइटको व्यवस्थापनसँगै नियमबारे जनचेतनालाई प्राथमिकता दिएर अघि बढिरहेको बताए।

बंगलादेशमा १० किलोमिटर यात्रा गर्दा जामले पौने घण्टा लाग्ने गरेको अनुभव सुनाउँदै आइजिपी खनालले भने, ‘हाम्रोमा त्यस्तो छैन। तर, ट्राफिक लाइटको व्यवस्थापन, प्रविधिमा अपडेट र जनचेतनामा हामीले जोड दिएका छौं।’

ट्राफिक लाइट सिस्टमका लागि आफूले यातायातमन्त्री रघुवीर महासेठसँग समेत कुरा गरिसकेको जानकारी गराउँदै उनले ट्राफिक प्रहरीको अबको कार्ययोजना सडकलाई प्रविधिमैत्री बनाउने खालको हुनुपर्ने बताए।

महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनबाटै सहरको व्यवस्थापन झल्किने धारणा राख्दै थपे, ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन राम्रो गरौं। अरु कुराका काठमाडौं आफैं राम्रो छ।’

ट्राफिक महाशाखाको तीन महिने उपलब्धी महत्वपूर्ण रहेको भन्दै उनले सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्दा काम गर्न सहज भएको उल्लेख गरे। यस्ता कार्यक्रमबाट सहरको सडक व्यवस्थित हुने उनको भनाई छ।

कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले तीन महिने उपलब्धी प्रस्तुत गरेका थिए। उनका अनुसार उपत्यकामा यसवर्ष ७ हजार ७५२ दुर्घटना भएको र २२८ जनाको मृत्यु भएको छ। २८९ जना घाइते छन्। यी दुर्घटना बढीजसो मानवीय कारणले भएको भन्दै उनले ट्राफिक जाम व्यवस्थापनका लागि ट्राफिकमैत्री सडक, जक्सन, फ्लाइओभर, प्रविधिमैत्री सडक तथा स्थानीयलाई जनचेतना दिनुपर्ने निष्कर्ष महानिरीक्षक खनाललाई सुनाएका थिए।

कार्यक्रममा काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका अधिकारी, यातायात व्यवसायी, साझा बस समितिका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो।

सडक सभ्यता सम्बन्धी तीन महिने कार्यक्रमअन्तर्गत ट्राफिक महाशाखाले उपत्यकामा करिडोर तथा अण्डरपास खुलाउने, प्रदूषण नियन्त्रण, सडक रेखांकन, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, गति नियन्त्रण लगायतका कार्यहरु गरेको थियो।

 

 

 

 

प्रकाशित: १३ असार २०७६ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App