coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विराटनगरलाई उपमेयर कप

काठमाडौं – बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै विराटनगर महानगरपालिकाले काठमाडौंमा सम्पन्न प्रथम उपमेयर कप अन्तरनगरपालिका महिला फुटबलको उपाधि जितेको छ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। बिहीबार भएको उपाधि भिडन्तमा बाह्रबिसे नगरपालिकालाई विराटनगरले पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो।

बाह्रबिसेलाई स्तब्ध पारेको विराटनगरले उपाधिसँगै नगद पाँच लाख रुपैयाँ जितेको छ। यस्तै उपविजेतामा खुम्चिएको बाह्रबिसेले नगद ३ लाख रुपैयाँ हात पा-यो।

हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा भएको खेलको २७औं मिनेटमा बाह्रबिसेकी सम्झना लावतीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए पनि कायम राख्न नसक्दा उपविजेतामा खुम्चिनुपरेको हो। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको बाह्रबिसेले दोस्रो हाफको दोस्रो मिनेटमा नै गोल खाँदा खेल बराबरीको अवस्थामा आएको थियो। ४७औं मिनेटमा विराटनगरकी जमुना मगरले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएकी थिइन्। त्यसपछि बाँकी समयमा दुवै टोली स्पष्ट जितका लागि केही राम्रा आक्रामक अवसर सिर्जना गरेको भए पनि सफल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

पेनाल्टी सुटआउटमा राष्ट्रिय टोलीकी खेलाडी तथा विराटनगरकी स्ट्राइकर रेखा पौडेल, ईमा राई, विद्या राना र मनमाया लिम्बुले जाली चुमाउँदा बाह्रबिसेकी रुबिना पहरीले पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भएकी थिइन्। बाह्रबिसेका लागि सुस्मा तामाङ र अनु राईले गोल गर्न नसक्दा विराटनगरको जित सुनिश्चित भएको थियो।

यसअघि भएको सेमिफाइलनमा बाह्रबिसेले वालिङ नगरपालिका र विराटनगरले चौदण्डी गढीलाई पराजित गर्दै फाइलनमा स्थान पक्का गरेका थिए। अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगितामा कुल १८ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा विराटनगरकी रेखा पौडेल उत्कृष्ट खेलाडी बन्दै नगद २५ हजार रुपैयाँ प्राप्त गरिन्। प्रतियोगिताको उत्कृष्ट गोलकिपर विराटनगरकी कल्पना कार्की, उत्कृष्ट रक्षक बाह्रबिसेकी सरिता शेर्पा, मिडफिल्डर बाह्रबिसेकी रजनी श्रेष्ठ र स्ट्राइकर बाह्रबिसेकै पार्वती घले चुनिए। उत्कृष्ट प्रशिक्षक विराटनगरका पारस चौधरी चुनिए। उत्कृष्ट सबैले दश हजार रुपैयाँ हात पारे।

प्रकाशित: १३ असार २०७६ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App