१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सूर्याेदयका ५२ चिया उद्योग बन्द

सूर्योदय नगरपालिकाको मालुमा रहेको चिया प्रशोधन उद्योग । फाइल तस्बिरः नागरिक

इलाम – हरियो पत्तीको खरिद मूल्य र लागत बढी भए पनि बिक्री मूल्य नपाएको भन्दै उद्योगीले सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग बन्द गरेका छन्। भारतीय बजारमा तयारी चियाको मूल्य नपाए पनि उद्योगलाई नगरपालिकाले हरियो पत्तीको मूल्य बढी तिर्न बाध्य बनाएको उद्योगीको गुनासो छ।

उद्योग बन्द भएपछि सूर्याेदय नगरपालिका, रोङ र माइजोगमाई गाउँपालिकाका तीन हजारभन्दा बढी चिया किसान प्रभावित भएका छन्। सूर्याेदयका उद्योगमा चिया प्रशोधन गर्ने किसानले बिहीबार हरियो पत्ती टिप्न पाएनन्। केही किसानले अन्य उद्योगमा हरियो पत्ती प्रशोधनका लागि पु-याएका थिए।

यहाँका चिया उद्योगले किसानलाई हरियो पत्तीको मूल्य प्रतिकिलो ४० रुपैयाँ दिँदैछन्। सूर्याेदय नगरले गत वर्ष ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ नै बनाएर यो मूल्य कार्यान्वयन गरेको हो। गत वर्ष यही मूल्यमा चिया किनेका उद्योगीले यो वर्ष चाहिँ किसानलाई नगरले तोकेको मूल्य दिन नसक्ने जनाउँदै उद्योग बन्द गरेका हुन्। नगरका ६ दर्जनभन्दा बढी चिया प्रशोधन उद्योगमध्ये सूर्याेदय टी एसोसिएसनमा आबद्ध ५२ उद्योग बिहीबार बन्द भएको एसोसिएसनले जनाएको छ।

‘पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हामी उद्योग बन्द गर्न बाध्य भएका हौं,’ एसोसिएसन सचिव गोपाल कट्टेलले भने, ‘नगरपालिकाले हरियो पत्तीको गुणस्तर अनुगमन गर्नुपर्छ।’ किसानले हरियो पत्तीको गुणस्तर कायम राख्नुपर्ने, खरिदकर्ता, उद्योगीलगायत सबैले चियाको गुणस्तर घटाउन चाहिँ नपाउने प्रावधान कार्यविधिमा छ। कसैले कार्यविधिको प्रावधानअनुसार सर्त पालना गरे–नगरेको नियमन गर्ने जिम्मा नगरपालिकालाई छ। ‘हरियो पत्ती गुणस्तरहीन आउँदा पनि नगरले अनुगमन गरेन,’ सचिव कट्टेलले भने, ‘हरियो पत्ती नै गुणस्तरहीन भएपछि हामीले न्यूनतम् मूल्य दिन नसकेका हौं।’ हरियो पत्तीमा न्यूनतम् ४० प्रतिशत सुइरो (हरियो पत्तीको सबैभन्दा गुणस्तरीय उत्पादन) हुनुपर्ने प्रावधान कार्यविधिमा छ।

उद्योगीले भारतमा नेपाली चिया बिक्री गर्न ज्यादै कठिन भएको, बजार व्यवस्थापनमा नगरपालिकाले समन्वय नगरेकाले पनि उद्योग टाट पल्टिने अवस्था आएर बन्द नै गर्नुपरेको जनाएका छन्। एसोसिएसनका कोषाध्यक्ष महेश अर्यालले किसानलाई उद्योगले दिनुपर्ने मूल्य तोकेको नगरले उद्योगीले तयारी चिया बेच्ने मूल्य चाहिँ तोक्न नसकेको बताए। ‘हामीले किसानलाई दिने न्यूनतम् समर्थन मूल्य चाहिँ तोक्ने अनि हामीले बेच्ने मूल्य चाहिँ कति हो ?’ उनले प्रश्न गरे, ‘नगरपालिकाले भारतमा नेपाली चिया बेच्न पनि समन्वय गरिदेओस्, उद्योगीले चिया बेच्ने बजार पनि निश्चित हुनुप-यो नि !’

किसान भन्छन्– बरु सधैं बन्द गर, धोका नदेऊ।

अर्यालले किसानले उच्च मूल्य पाउनुपर्छ भन्ने एसोसिएसनको पनि माग रहेको बताए। ‘किसानले राम्रो मूल्य पाएनन् भने हाम्रा उद्योग पनि चल्दैनन्,’ अर्यालले भने, ‘हाम्रो असहमति किसानसँग होइन, नगरपालिकासँग चाहिँ हो। नगरपालिकाले हरियो पत्तीको गुणस्तर कायम राख्ने काममा नियमन गरिदिएन, उद्योगीका लागि सहुलियत दिने र तयारी चियाको बजार प्रवद्र्धनमा सहयोग नगरेकाले यो अवस्था आएको हो।’ एसोसिएसनको गत ८ गते बसेको बैठकले बिहीबारदेखि सबै उद्योग बन्द गर्ने निर्णय गरेको थियो।

किसानले चाहिँ वर्षकै सबैभन्दा बढी परिमाणमा हरियो पत्ती उत्पादन हुनेबेला उद्योगले आफूहरूलाई धोका दिएको गुनासो गरेका छन्। सबैभन्दा गुणस्तरीय मानिने (फस्ट फ्लस) पहिलो टिपाइ सकिएपछि उद्योगले किसानलाई हरियो पत्तीको मूल्य दिन कञ्जुस्याइँ गरेको किसानको गुनासो छ। किसानले उद्योग बन्द गर्ने भए ‘बरु वर्षभर बन्द गर्न तर सबैभन्दा बढी पत्ती आउने बेला धोका नदिन’ उद्योगलाई चेतावनीसमेत दिएका छन्। उद्योग बन्द हुने हल्ला सुने पनि सूर्योदय नगरपालिकाको सभाहलमा भेला भएका किसानले नगरले तोकेको न्यूनतम् मूल्य कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने माग पनि गरे।

हरेक वर्ष उद्योगले चिया सिजनको सुरुमै किसानसँग आफूले वर्षभर पत्ती खरिद गरिदिने प्रतिबद्धता नै गर्छन्। तर, उद्योगले उच्च गुणस्तरीय पहिलो पत्ती सकिएपछि कुनै न कुनै कारण देखाएर पत्तीको मूल्य घटाउने गरेको किसानको भनाइ छ। सूर्याेदयले न्यूनतम् मूल्य तोक्नुअघि किसान उद्योगले जति मूल्य दियो त्यतिमै सहमति जनाउन बाध्य थिए। त्यो समयमा आफूहरूले हरियो पत्तीको मूल्य प्रतिकिलो १० देखि बढीमा ४५ रुपैयाँसम्म मात्र पाएको किसान सम्झन्छन्। आफूहरूलाई हरियो पत्तीको मूल्य सधैं एउटै दरले दिनुपर्ने किसानले माग गरेपछि नगरपालिकाले न्यूनतम् मूल्य तोकेको थियो।

‘किसानलाई मारेर कुनैपनि उद्याग फस्टाउन सक्दैनन्, बरु न्यूनतम् मूल्य नदिने उद्योग सधैं बन्द गरे हुन्छ,’ किसान तारा नेपालले भने, ‘हामी १ वर्ष चिया नबेचेरै पर्खन्छौं, नगरपालिकाले सहकारीमार्फत् सञ्चालन हुनेगरी उद्योग खोल्ने वातावरण बनाइदेओस्।’ श्रीअन्तुका अर्का किसान शिशिर भण्डारीले कारखाना बन्द गरेर उद्योगीको माग पूरा नहुने भन्दै चियाको गुणस्तर कायम राख्न सबै तयार हुनुपर्ने बताए। ‘उद्योग बन्द गर्नु समस्याको समाधान होइन,’ उनले भने, ‘चियामा गुणस्तर कायम गर्नुपर्छ, किसान, उद्योगी, नगरपालिका सबै मिलेर न्यूनतम् मूल्य नघट्नेगरी समाधान निकाल्नुपर्छ।’

सूर्याेदय नगरपालिकाले किसानले पाउने हरियो पत्तीको न्यूनतम् मूल्य कार्यविधिमा व्यवस्था भएअनुसार नै हुने बताए। मेयर रणबहादुर राईले लामो समय अध्ययन गरेर ल्याएको कार्यविधि कार्यान्वयन गर्नु किसान, उद्योगीलगायत सबैको हितमा हुने बताए। ‘नगरपालिका, चिया तथा कफी विकास बोर्ड, उद्योगी, किसानलगायत सबै सरोकारवाला सदस्य रहेको समितिले कार्यविधिका लागि अध्ययन गरेको थियो,’ उनले भने, ‘हरियो पत्तीको मूल्य प्रतिकिलो न्यूनतम् ४० रुपैयाँ नदिए किसानको लागत नै उठ्दैन भन्ने सबैलाई थाहा छ।’ राईले नगरले पत्तीको गुणस्तर कायम गर्न नगरपालिकाले अझ बढी अनुगमन चाहिँ गर्ने बताए। ‘नगरपालिकाले उद्योगी र किसानसमेत सहभागी रहेको समिति बनाएरै अनुगमन गर्नेछ,’ उनले भने, ‘उद्योगी पनि उद्योग खोल्न तयार हुनुहुन्छ तर किसानबाट चिया लिएर उद्योगमा बेच्ने संकलकलाई चाहिँ बढी नियमन गर्नु आवश्यक भएको छ।’

एउटा उद्योगले गुणस्तरहीन भएर नकिनेको हरियो पत्ती अर्काे उद्योगले किन्ने भएकाले पनि चियामा गुणस्तर कायम हुन नसकेको किसान नै बताउँछन्। ‘गुणस्तरहीन हरियो पत्ती कुनैपनि उद्योगले नकिन्ने हो भने किसान गुणस्तरीय पत्ती उत्पादन गर्न आफैं बाध्य भइहाल्छन् नि !’ एक किसान भन्छन्, ‘उद्योगले चाहिँ जस्तो पायो त्यस्तै चिया लिने अनि बढी परिमाणको पत्ती आएका बेला मूल्य घटाउन बार्गेनिङ गर्ने व्यवहार सह्य भएन।’

बन्द चिया उद्योग सञ्चालन गर्न बिहीबार नगरपालिकाका जनप्रतिनिधि र उद्योगीबीच छलफलसमेत भएको छ। भेलामा कुनै सहमति हुन नसकेपनि शनिबार पुनः छलफल गर्ने सहमति चाहिँ भएको एसोसिएसनका कोषाध्यक्ष अर्यालले बताए। ‘आउँदो शनिबार पुनः छलफल गरी निकास निकाल्ने सहमति भएको छ,’ उनले भने, ‘हामीले आफ्ना माग राख्यौं, जनप्रतिनिधिले सहमत नभएपछि निचोड निस्किएन।’ अर्यालले गत जेठ २२ गते पनि एसोसिएसनले नगरपालिकालाई २५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको बताए। ‘चिया उद्योगलाई कसरी दीघकालीन रूपमा अघि बढाउन सकिन्छ भन्ने विषय समेटेर हामीले बुझाएको ध्यानाकर्षणपत्रमा पनि छलफल भएन,’ उनले भने, ‘तर, बिहीबारको छलफल सकारात्मक भएको छ, निकास निस्किन्छ भन्ने आशा छ।’

एसोसिएसनले नगरपालिकामा बुझाएको ध्यानाकर्षणपत्रमा भारतीय बजारमा विक्री हुने यहाँको चियाले लागत मूल्य धान्न नसकेको, तोकिएको मापदण्डको पत्ती उद्योगमा नआएको, ४० प्रतिशतभन्दा कम सुइरो भएको पत्ती उद्योगले फर्काउन नसकेकोजस्ता विषय समेटिएको छ। उद्योगीले यसअघि पनि संघीय सरकारलाई आफ्ना मागसहितको २५ बुँदे ज्ञापनपत्र बुझाएका थिए। गत चैत १७ देखि जेठ पहिलो सातासम्म चलेको श्रमिक आन्दोलनक्रममा बन्द भएका उद्योग सरकारले आउँदो बजेटमा चिया क्षेत्रलाई समेट्ने बचन दिएपछि खुलेका थिए। तर, बजेटमा चिया क्षेत्र समेटिएका कुनै कार्यक्रम नआएपछि उद्योगी चिन्तित छन।

प्रकाशित: १३ असार २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App