७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसका वडाध्यक्षद्वारा महानगरमा ताला

वडामा समानुपातिक बजेट विनियोजन नभएको भन्दै आक्रोशित वडाध्यक्ष पोखरा महानगरपालिकाको प्रवेशद्वारमै नाराबाजी गर्दै। आन्दोलित वडाध्यक्षहरूले तालाबन्दी गरी धर्ना दिएका थिए। तस्बिर ः उमेश पुन÷नागरिक

पोखरा - कास्की क्षेत्र नं २ को उपनिर्वाचन हुन बाँकी छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको क्षेत्रमा निर्वाचन गर्नुपर्नेछ। निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा अन्यलाई भन्दा बढी बजेट दिएको आरोप विपक्षी वडाध्यक्षका रहेको छ। बजेट समानुपातिक नभएको भन्दै नेपाली कांग्रेसबाट जितेका वडाध्यक्षहरूले महानगरपालिको मूल गेटमै तालाबन्दी गरी धर्ना दिएका हुन्। तालाबन्दीले नगरपालिका प्रमुख मानबहादुर जिसीको सवारीसाधन महानगरपालिकामा प्रवेश गर्न पाएन। तालाबन्दी गरिए पनि सेवाग्राहीलाई भने प्रभावित नबनाइएको आन्दोलित वडाध्यक्षहरूको दाबी छ।

‘उपनिर्वाचनलाई लक्षित गर्दै महानगरपालिकाले बजेट विनियोजन गरिदियो। हामीले समानुपातिक ढंगले बजेट दिनुपर्छ भन्ने माग राख्यौं,’ पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले भने, ‘उपनिर्वाचन क्षेत्र अन्तर्गत १६ र १७ वडालाई बढी बजेट दिइयो। उपनिर्वाचनलाई लक्षित गरी बजेट दिएको हामीलाई शंका छ।’ उनले बजेट कार्यपालिकाबाट पास गरेर लैजानुपर्ने भए पनि बेइमानी तरिकाले ल्याई पास गरिएको गुनासो गरे। उनका अनुसार बजेट कार्यपालिकाले पास गरेर मात्रै ल्याउनुपर्ने प्रावधान भए पनि जबर्जस्ती पास गरियो। एक वडा एक पार्कको नीति अनुसार पार्क बनाउन बजेटसहित प्रस्ताव पेस गरिए पनि सुनुवाइ नभएको उनको गुनासो छ। महानगरपालिकाले देखिनेगरी एउटा महŒवपूर्ण योजना प्रस्ताव गर्नुपर्ने र त्यसको लागि बजेट उपलब्ध गराउने जनाएको थियो।

उनले आफूहरूले जिेतको वडाका सेवाग्राहीलाई भने धर्नास्थलबाटै कागजपत्रमा हस्ताक्षर गरेर पठाइएको सुुनाए। ‘हामीले हाम्रा सेवाग्राहीको कामलाई रोकेका छैैनौं,’ उनले भने, ‘धर्नास्थलबाटै हस्ताक्षर गरेर पठाएका छौं। हाम्रो मागमा सुनुवाइ नभए महानगरपालिकाका सबै गेटमा तालाबन्दी गरेर सेवा नै ठप्प पार्छौ।’ बजेट पास गर्ने दिन(बुधबार) पोखरा सभागृह हलभित्रै केही सयम चर्काचर्की भएको थियो। चर्काचर्कीकै क्रममा वडाध्यक्षले सभागृह हलभित्र कुर्चीसमेत फालेका थिए। देशकै ठूलो महानगर पोखराको ३३ वडा मध्ये कांग्रेसले ११ वटा जितेको थियो।

आन्दोलनरत वडाध्यक्षहरूले समानुपातिक बजेट बाँडफाँट, मेयर मानबहादुर जिसीले बोलेको अभिव्यक्ति फिर्ता लिनुपर्नेलगायतका माग उठाएका छन्। ‘मेयरको काम नै वडालाई योजनासहित बजेट बाँडफाँट गर्ने हो,’ लामिछानेले भने। उनले आन्दोलनमा उत्रिएका वडाध्यक्षहरुलाई ‘भोलि त मसँगै बजेट माग्न आउलान् नि’ भन्ने शब्दले अझै आक्रोश पैदा गराएको बताए। असन्तुष्ट वडाध्यक्षहरूले नगरसभाको अन्तिम दिन योजनाको किताब च्यातेर विरोध गरेका थिए। तीनदिम्म चलेको नीति तथा कार्यक्रम एवं बजेटमाथि छलफलको क्रममा बजेट समानुपातिक वितरण नभएको भन्दै महानगरपालिकाविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आन्दोलन गर्नुपर्ने जरुरी नभएको उल्लेख गर्दै विपक्षीहरूको धर्म निर्वाह गरेको प्रष्ट पारे। ‘आन्दोलनको जरुरी नै छैन,’ मेयर जिसीले भने, ‘उहाँहरुले विपक्षीको धर्म निर्वाह गर्नुभएको छ।’ आफूले जितेको वडामा कम बजेट परेको भन्ने गुनासोप्रति मेयर जिसीले यथार्थ विवरण बाहिर ल्याएपछि थाहा हुने बताए। ‘उहाँहरूले जितेको वडामा कम बजेट प¥यो भन्ने गुनासो हो,’ उनले भने, ‘तर यथार्थमा त्यस्तो छैन। उहाँहरूले जितेको वडामा यथेष्ट बजेट परेको छ।’
बजेटको विषयमा तीन दिनको समय दिइएको बताउँदै मेयर जिसीले केही त्रुटि भए सच्याएर ल्याउन आग्रह गर्दै ७ दिनभित्रमा किताबमा राखेर प्रकाशित गर्ने उदघोष गरे पनि नसुनेर कुर्ची फाल्ने र आन्दोलनमा उत्रिने काम गरेको बताए। ‘पोखरेलीले बेठिक छ भन्छन् भन्ने लागेमा सेवा ठप्प पार्दा हुन्छ,’ उनले भने। नागरिकको दबाब खेप्न सके ठप्प गरे हुन्छ भन्ने अभिव्यक्ति मेयर जिसीको थियो। ‘म त हिँडेरै कार्यालय छिर्छु, मलाई समस्या छैन,’ उनले भने, ‘गाडी नछिरोस् भनेरै तालाबन्दी गरेका हुन्। त्यसको मलाई चिन्ता छैन। हिँडेरै छिर्दिन्छु।’ मेयर जिसीले निर्वाचित जनप्रतिनिधिले मेच फालेर विरोधमा उत्रिनु प्रजातान्त्रिक पद्धतिबाहिर भएको बताए। ‘माग राख्ने नाममा मेच नै उचालेर फ्याँक्ने शैली गलत हो,’ उनले भने।

प्रकाशित: १३ असार २०७६ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App