८ वैशाख २०८१ शनिबार
समाज

‘धर्तीमाता’ को खोजीमा प्रहरी परिचालन

काठमाडौं - सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाताको खोजीका लागि काठमाडौं प्रहरीले सक्रियता देखाएको छ। बुटवलबाट काठमाडौं आएकी धर्तीमाता भनिने विष्णु कुँवरले सार्वजनिकस्थलमै बोक्सी भगाउने नाममा एक युवतीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नका लागि प्रहरीले तदारुकता देखाएको हो।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार भद्रकाली मन्दिरजस्तो सार्वजनिकस्थलमा भएको कुटपिटको घटनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन प्रक्रिया थालिएको छ। कुँवरसँग फोन सम्पर्क भएको जनाउँदै डिएसपी बोगटीले कुँवरले आफू भक्तको घरमा रहेको र भक्तकै इच्छाअनुसार त्यस्तो गरेको जवाफ दिएको बताए।

उनका अनुसार कुँवरले आफू रहेको स्थान भने खुलाउन मानिनन्। उनी बालाजु एरियामा हुन सक्ने अनुमानका आधारमा त्यो एरियामा केन्द्रित भएर खोजी गरिरहेको डिएसपी बोगटीको भनाइ छ। पीडितले उजुरी दिए अनुसन्धानका लागि सहज हुने बताउँदै उनले पीडितसमक्ष पुग्नका लागि पनि प्रहरी प्रयासरत रहेको बताए। उनले पीडित पक्षलाई कुँवरविरुद्ध उजुरी हाल्न अनुरोधसमेत गरेका छन्। डिएसपी बोगटीले पीडित पक्ष चाँडै न्यायका लागि प्रहरीसमक्ष आउने विश्वास समेत व्यक्त गरे।

धर्तीमाता उर्फ कुँवरले ‘तँ को होस्, छिटो निस्की,’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। उनले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको उक्त भिडियोमा देख्न सकिन्छ। भिडियोमा कुँवरको पिटाइको पीडाले ती युवती ‘आइया, आइया, आमा, आमा’ भनेर चिच्चाएको सुनिन्छ। ‘निस्की निस्की, यस्तो गरिस्’ भन्दै चरम यातना दिइरहेको देखिन्छ।

कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ। उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ। प्रहरीले यही प्रावधानलाई टेकेर खोजबिन र अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बोगटीको भनाइ छ।

बुटवल प्रहरीका अनुसार कुँवर बुटवलको कालिकानगर लखनपथमा बस्ने गर्छिन्। कुँवरले त्यहा माताको मण्डप नै तयार पारेको र उनलाई भेट्न÷देखाउन देशका विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्। सामाजिक सञ्जालमा भने धर्तीमाता भनिने कुँवरले युवतीमाथि आक्रमण गरिरहेको अवस्थामा साथै रहेका प्रहरी र उपस्थित सर्वसाधारण मुकदर्शक बनेको विषयलाई लिएर व्यापक आलोचना भएको छ।

‘बोक्सी भगाउने’ निहुँमा यातना

प्रकाशित: १३ असार २०७६ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App