७ वैशाख २०८१ शुक्रबार
अर्थ

सीप परीक्षणबाट पछि हट्यो सरकार

काठमाडौं – वैदेशिक रोजगारीमा जाने युवालाई सीप परीक्षण अनिवार्य रूपमा लागू हुने घोषणा गरेको सरकार उक्त कार्यक्रम लागू हुन नपाउँदै पछि हटेको छ।

सरकारले सम्बन्धित काममा सीप नसिकी वैदेशिक रोजगारीमा जान नपाइने घोषणा गरेदेखि नै म्यानपावर व्यवसायी त्यसको विरोधमा थिए। सीप परीक्षण गरेर मात्र वैदेशिक रोजगारीमा पठाउने आधार तयार नभएको भन्दै व्यवसायीले विभिन्न शक्ति केन्द्रमा लबिङ गरेका थिए।

वैदेशिक रोजगार विभागले यही असार १५ देखि कम्तीमा एक सय ६० घन्टा वा एक महिना तालिम लिएका र त्यस्तो तालिम सिटिइभिटिईबाट परीक्षण भएपछि मात्र वैदेशिक रोजगारीमा जान पाउने घोषणा गरेको थियो।

विभागका महानिर्देशक भिष्मकुमार भुसालले सीप परीक्षण बायोमेट्रिक प्रणालीबाट गर्नुपर्ने भएकाले तत्काल त्यस्तो सम्भव नदेखिएकाले हाल अनिवार्य सीप परीक्षण लागू नहुने बताए। ‘सीप सिकेका युवाको परीक्षणका लागि सिटिइभिटिईलगायत विभिन्न निकायसँग तारतम्य मिलाउनुपर्ने भएकाले असार १५ देखि सुरु गर्ने भनिएको उक्त कार्यक्रम हाललाई लागू गर्ने अवस्था देखिएन,’ भुसालले बिहीबार नागरिकसँग भने।

सीप परीक्षण बायोमेट्रिक प्रणालीबाट गर्नुपर्ने भएकाले तत्काल सम्भव देखिएन : भिष्मकुमार भुसाल, महानिर्देशक वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सरोज पोखरेलले वैदेशिक रोजगारीमा जाने युवाको अनिवार्य सीप परीक्षण गर्ने आधार तत्काल नदेखिएकाले विरोध गर्दै आएको र अन्तिममा सरकारले व्यवसायीको माग पूरा गरेको बताए।

‘व्यवसायीहरू वैदेशिक रोजगारीमा जाने युवाले सीप सिक्नुपर्छ भन्ने कुराको विपक्षमा छैनन्,’ पोखरेलले भने, ‘तर, अहिले काम एकातिर र व्यवहार अर्कोतिर भइरहेकाले उक्त निर्णयको विरोध गरेका हौं। जे भए पनि सरकारले कुरा सुन्यो। राम्रो भयो।’ उनले वैदेशिक रोजगारीमा जानेको सीप परीक्षण अनिवार्य गर्नुअघि कानुनसमेत संशोधन गर्नुपर्ने बताए।

अहिले नै सीप परीक्षण गरेर मात्र वैदेशिक रोजगारीमा पठाउने निर्णय लागू गरेको भए त्यसको भोलिपल्टदेखि नै कार्यान्वयन गर्न कठिन हुने पोखरेलको भनाइ छ। सरकारले त्यस्तो निर्णय लागू गरेको भए वैदेशिक रोजगारीमा जाने कामदारको लागत पनि वृद्धि हुने थियो। वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकाउन अनिवार्य भए पनि त्यसको लागत सरकारी निकाय वा रोजगारदातामध्ये कसले बेहोर्ने भन्नेबारे प्रस्ट हुनुपर्ने श्रम विज्ञहरू बताउने गर्छन्।

अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता अनुसार रोजगारीमा जाने युवाले कुनै पनि आर्थिक भार बेहोर्नु हुँदैन। सीप परीक्षण गर्ने निर्णय लागू हुँदा कामदारलाई करिब ३० हजार रुपैयाँ व्ययभार थपिने अवस्था छ। सीप परीक्षण गर्दा कामदारले करिब १२ हजार रुपैयाँ शुल्क तिर्नुका साथै एक महिना काठमाडौंमा बस्दा र आतेजातेसहित सबै खर्च जोड्दा ३० हजार रुपैयाँ हाराहारी खर्च हुने देखिन्छ। वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकाउन २९ वटा संस्थालाई मात्र अनुमति दिन खोजिएपछि झनै सरकारको त्यस्तो पहलकदमी विवादमा परेको थियो।

काम एकातिर र व्यवहार अर्कोतिर भइरहेकाले सीप परीक्षण गर्ने निर्णयको विरोध गरेका हौं। त्यो निर्णय स्थगित गरेर सरकारले हाम्रा कुरा सुन्यो : सरोज पोखरेल, महासचिव वैदेशिक रोजगार व्यवसायी संघ
 

हाल वैदेशिक रोजगारीमा जाने युवालाई तीन दिनको अभिमुखीकरण तालिम दिने गरिन्छ। उक्त अभिमुखीकरण तालिमले युवालाई सम्बन्धित कामबारे पर्याप्त सीप दिन नसकेको भन्दै विभागले कम्तीमा एक महिने सीपलाई अनिवार्य गर्न खोजेको घोषणा गरेको थियो। विज्ञहरू भने विभागले भनेजस्तो एकमहिने तालिमले पनि युवालाई दक्ष बनाउन नसक्ने बताउने गर्छन्। सरकारले साँच्चिकै वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकाउन खोजेको भए सम्बन्धित काममा  कम्तीमा ६ महिनाको तालिम आवश्यक पर्ने विज्ञहरूको ठहर छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जाने युवामध्ये ७५ प्रतिशत अदक्ष हुने गरेका छन्। अदक्ष युवाले गन्तव्य मुलुकमा पाउने पारिश्रमिक न्यून हुनुका साथै जोखिममा समेत पर्ने गर्छन्। युवालाई सम्बन्धित काममा दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउँदा पारिश्रमिकमा दोब्बरसम्म वृद्धि हुनसक्ने अर्थशास्त्रीहरू बताउँछन्।

विभागले एक महिना वा एक सय ६० घन्टा बराबरको सीप सिकेको प्रमाणपत्र पेस गरेपछि मात्र श्रम स्वीकृति प्रदान गर्ने घोषणा गरेको थियो। विभागका महानिर्देशक भुसालले अब सबै तयारी पूरा भएपछि मात्र सीप परीक्षण गरी युवालाई वैदेशिक रोजगारीमा पठाउने  निर्णय कार्यान्वयन हुने बताए।

‘अब कमसेकम एक महिना सीप सिकेका युवाको उत्पादन होस् भन्ने हाम्रो चाहना छ,’ उनले भने। एक महिने सीप भने सूचीकृत भएका २९ संस्थाले मात्र दिन पाउने उनको भनाइ छ। त्यसको अलवा सीप परीक्षणका लागि विभागमा आवेदन दिएका एक सय ५४ संस्थामध्ये पनि मापदण्ड पूरा गरेकालाई चाँडै छनोट गरी सीप सिकाउन दिइने उनको भनाइ छ।

हाल वैदेशिक रोजगारीमा दैनिक सात–आठ सय युवा जाने गरेका छन्। अघिल्लो वर्षसम्म दैनिक १२ देखि १५ सय युवा रोजगारीका लागि विदेश जाने गर्थे। गत जेठ २ देखि सरकारले सबभन्दा ठूलो गन्तव्य मलेसिया रोकेका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको छ।

प्रकाशित: १३ असार २०७६ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App