coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानबाट पेस्तोल र एसएलआरको गोलीसहित ३ पक्राउ

धरान– प्रहरीले धरानबाट पेस्तोल, एसएलआरको गोली र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। 

प्रहरीले बुधबार रातभर सर्च अप्रेशन गरेर धरान १५ बाट एक जना र धरान ११ बाट २ जनालाई हतियार, गोली र लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान १५ का ३९ बर्षीय सरोज गुरुङ र धरान ११ बाट भोजपुरको आमचोक गाउँपालिका ६ वास्तविक ठेगाना भएका २९ बर्षीय विजय राई र भोजपुरकै हतुवागढी गाउँपालिका २ घर भएका सुरेश राई रहेका छन्। पक्राउ परेकाहरुलाई प्रहरीले बिहिबार सार्वजनिक गर्दै उनीहरु कुन कुन घटना संलग्न छन् भन्ने अनुसन्धानको क्रममा रहेको जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेकामध्ये विजय राई भगौडा प्रहरी हुन्। पक्राउ परेकाहरु लागुऔषधको कारोबारी पनि भएको प्रहरीको दाबी छ।

पत्रकार सम्मेलनमा उपस्थित जिल्ला प्रहरी प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलले झण्डै एक महिनादेखिको निगरानी, सुक्ष्म अनुसन्धान पछि बुधबार राती सर्च अप्रेशन गरिएको बताए। एसपी पोखरेलका अनुसार गत जेठ १२ गते धरान ४ स्थित साउनेटारमा एक वित्तीय संस्थाको कर्मचारीमाथि गोली प्रहार गरेर नगद लुटिए पछि प्रहरी चैनले बसेको थिएन। ‘त्यो घटनाले हामी चैनले बस्न सकेनौं, निरन्तर सुक्ष्मढंगले निगरानीमा थियौं,’ एसपी पोखरेलले भने, ‘सूचना सही छ भन्ने लागेपछि बुधबार राती सर्च अप्रेशन गर्दा यी हतियार फेला परेको हो।’ एसपी पोखरेलले धरानका डिएसपी ढुण्डीराज न्यौपाने र १ नं प्रदेश प्रहरीको टोलीको मेहनत र सक्रियताबाट यो सफलता हात लागेको भन्दै प्रशंसा पनि गरे। 

जेठ १२ मा भएको लुटपाटको घटनाको ठिक महिना दिनमा प्रहरीले हतियारसहित ३ जना पक्राउ गरेको हो। बुधबार प्रहरीको सर्च अप्रेशन बिहिबार बिहान करिब ३ बजेसम्म चलेको थियो। पक्राउ परेकाहरु जेठ १२ को घटनामा संलग्न भए नभएको प्रष्ट भइसकेको छैन। तर, बरामद भएको हतियार र प्रारम्भिक अनुसन्धानबाट यो समूह थुपै्र घटना गराउने समूह भएको अनुमान गरेको छ। पक्राउ परेकाहरुबाट भारतमा बनेको ह्याण्डमेड अटोमेटिक पेस्तोल २ थान, म्यागजिन एक थान, ०७ लेखिएको पेस्तोलको गोली १० थान, ७.६२ लेखिएको एसएलआरमा प्रयोग हुने गोली १४ थान र ७.६५ लेखिएको गोली एक थान बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, उनीहरुको साथबाट लागुऔषध, मुखुण्डो, खुकुरी, लागुऔषध जोख्ने डिजिटल काटालगायत विभिन्न सामान पनि प्रहरीले बरामद गरेको छ। एसएलआरको गोली कटुवा पेस्तोलमा प्रयोग गर्न मिल्ने प्रहरीको भनाई छ। 

बुधबार राती प्रहरीले शुरुमा सरोज गुरुङको धरान १५ स्थित घरमा सर्च गरेको थियो। त्यसक्रममा उनको कोठाबाट लागुऔषध २ बोतल डाइलेक्स फेला पर्यो। उनलाई थप सोधपुछ गर्दा घर पछाडि फोहोर फाल्ने ठाउँमा रातो झोलामा २ थान पेस्तोल र २ बोतल थप डाइलेक्स डिसि राखिएको भेटिएको एसपी पोखरेलले जानकारी दिए। गुरुङको १० थान पेस्तोलको गोली पनि र एसएलआरमा प्रयोग हुने ५ थान गोली भेटिएको थियो। गुरुङले नै धरान ११ स्थित आफन्त प्रविण राईको घरमा बस्ने भोजपुरका सुरेश र विजयको बारेमा पनि जानकारी दिएपछि प्रहरीले त्यहाँ पनि छामा मारेको थियो। 

दुवैको साथबाट एसएलआरमा प्रयोग हुने ९ थान गोली, लागुऔषध खैरो हिरोइनजस्तो देखिने सानो टिनको बाकसभित्र साना साना पोका बनाएको १० थान, धारिलो खुकुरी २ थान र फलामको नक एक थान फेला परेको प्रहरीले जनाएको छ। यस्तै, उनीहरुको कोठाबाट मुखुण्डो ३ थान, नगद १५ हजार १ सय ३५ र डायसको गोटी पनि प्रहरीले वरामद गरेको छ। ‘अहिलेसम्म प्रारम्भिक अनुसन्धाबाट हातियारहरु सरोज गुरुङले आफ्नो घरमा राख्ने र प्रयोग गर्दा ३ जना नै मिलेर गर्ने गरेको खुलेको छ,’ एसपी पोखरेलले भने, ‘उनीहरुको कनेक्सन कुन कुन घटनामा छ भनेर अनुसन्धानको क्रममा छौं, चार पाँच दिनपछि विस्तृतरुपमा फेरी जानकारी गराउछौं।’

प्रकाशित: १२ असार २०७६ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App