हिमालको हिरो

बिहिबार, १२ असार २०७६, १६ : ०९ खिलक बुढाथोकी  | @KhilakB

सबैभन्दा बढी सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी मध्येमा आप्पा शेर्पाको नाम आउँछ। सन् २०११ मा आप्पाले २१ पटक चुचुरो चुमेर कीर्तिमान राखेका थिए। सन् २०१७ सम्म आउँदा भने आप्पाको कीर्तिमानमा फुर्वा तासी शेर्पा र कामीरिता शेर्पा पनि थपिए।

आप्पा, फुर्वा तासी र कामीरिताको नाममा रहेको कीर्तिमानलाई गत वर्षबाट भने कामीरिता एक्लैले लिइरहेका छन्। अघिल्लो वर्ष २२ पटक चुचुरोमा पुगेका कामीरिताले त यस वर्ष अझै दुई चार वर्ष कसैले नभेट्टाउने गरी कीर्तिमान कायम गरेका छन्। एकै हप्तामा दुई पटक सगरमाथाको चुचुरामा पुगेर २२ बाट २४ पु¥याएका उनले सर्वाधिक हिमाल चढ्ने व्यक्तिको परिचय स्थापित गरेका छन्।

सन् २०११ मा सर्वाधिक सगरमाथा पुग्नेमा नाम चम्काएर आप्पाले विश्राम लिए। सन् २०१३ मा फुर्बातासीले सगरमाथाको २१ औं आरोहण गरेर विश्राम लिएका छन्। सन् २०१८ मा २२ औं आरोहण गरेका कामीरिता सगरमाथाको आरोहणबाट विश्राम लिने सुरमा भने छैनन्। फागुनको दोस्रो साता बौद्धस्थित उनकै डेरामा भेट्दा भन्दैथिए, ‘आरोहणकै सामग्री मिलाउँदा भर्खर फुर्सद मिल्यो।’

भेट्दा सामान्य व्यक्ति जस्तो देखिन्छन् कामीरिता। न उनको डेरा असाधारण छ। तीन वटा कोठा भएको एउटा फ्ल्याट भाडामा लिएका छन्। त्यहीँ बस्छन् उनी, बुबाआमा, छोराछोरी र श्रीमतीसँग। काठमाडौंमा उनको घर छैन उनको। त्यसैले त हिमाल चढ्दा पाएका प्रमाणपत्र वालमा सजाउन पाएका छैनन्। ठेली बनाएर दराजमा राखेका छन्। ‘मसँग हिमाल आरोहणको टन्नै प्रमाणपत्र छ,’ उनले भने, ‘अर्काको घरमा झुण्ड्याउन मन नलागेर दराजमा बुङ बनाएर राखेको छु।’

फागुनमा भेट्दा कामीरिताले संसारको छानो मानिने सगरमाथाको चुचुरोमा २२ पटक पाइला राखिसकेका थिए। अब त त्यो संख्या बढेर २४ पुगिसकेको छ। सगरमाथाबाहेक अरु हिमाल त कति चढे, कामीरिता आफैंले भुलिसके। ‘वर्षमा तीनचार वटा हिमाल चढिन्छ,’ उनले भने, ‘सगरमाथाबाहेक कुन हिमाल कति पटक चढियो भनेर त हेक्कै रहँदैन।’ शुरुशुरुमा सबै हिमाल आरोहणको प्रमाणपत्र लिन्थे उनी। पछिल्ला वर्षमा भने सगरमाथाबाहेक हिमाल आरोहणको प्रमाणत्र लिएका छैनन्। सगरमाथा आरोहणको प्रमाणपत्र भने अझै थप्ने जोश छ उनीसँग। गरेका सबै आरोहण सफल भएका भए कामीरिताको नाममा सगरमाथाका आरोहणका २७ बढी प्रमाणपत्र हुन्थे। हिमालको हिरोका रुपमा साबित ४९ वर्षीय कामीरितासँग सगरमाथा आरोहणका २५ बढी प्रमाणपत्र पु¥याउने लक्ष्य भने दृढ छ।

कामीरिता पर्यटन क्षेत्रमा जोक्यो (गाई र याकबाट जन्मेको हिमालमा भारी बोक्न प्रयोग हुन्छ) धपाउने कामबाट प्रवेश गरेका थिए। सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकास्थित थामेमा जन्मेका कामीरिता पढ्न भनेर चार वर्षसम्म विद्यालय गए। थामे भन्दा माथि थामे त्याङ भन्ने ठाउँ छ। त्यहीँ थियो निमावि सम्मको विद्यालय।

उनका बुबा मिङ्मा छिरिङ शेर्पा सरदार थिए। थामे गाउँका उनी नै पहिलो सरदार हुन्। सरदारको काम कम्पनीबाट विदेशीलाई टे«किङ गराउन जिम्मा लिने मान्छे हो। जसले ट्रेकिङको सबै व्यवस्थापन गर्छ। आवश्यक कामदार लिने जिम्मा पनि सदरारकै हुन्छ। त्यो बेला थामेमा अरु कोही सरदार थिएनन्। काम पाइन्छ भनेर पनि कामीरिताको बुबालाई गाउँभरिका मान्छेले खुब मान्थे। कामीरिताको दाइ पनि बुबासँगै ट्रेकिङ हिँड्न थालेका थिए। घरमा चौरीको हेरचाह गर्नुपर्ने भयो। ममीलाई साथी चाहिने भएपछि कामीरिता चारबाट पाँचमा जाने बेला विद्यालय छोडे।

गाउँका सबैजना विदेशीको सामान बोकेर ट्रेकिङ जान्थे। गाउँलेले हिमालको फेदमा जान लागेको भन्थेँ। बाटोमा बनभोज जसरी खाना पकाएर खानुपथ्र्यो। त्यसलाई टि हाउस टेकिन भनिन्थ्यो। यसरी खाँदा विदेश पनि खुबै रमाउँथे। यस्तैगरी कहिले पाइएला भनेर सोच्ने गर्थे कामीरिता पनि।

अर्को वर्षदेखि भने कामीरिता पनि टेकिन जान थाले। शुरुमा उनको जिम्मा थियो जोक्यो धपाउने। टि हाउस टेकिनमा भाडाँकुँडा, ओढ्नेओछ्याउनेदेखि रासन पानी सबै चाहिन्थ्यो। यस्ता सामान बोक्न मान्छे धेरै लाग्ने भएपछि जोक्योको प्रयोग गरिन्छ। दुई जना विदेशी टेकिन आउँदा सामान बोक्न जोक्यो प्रयोग गर्दा पनि किचन ब्वाई, कुक, गाइड, सहयागी गरेर कम्तीमा ६ जना नेपाली चाहिन्थ्यो। यी सबैलाई आवश्यक सामान जोक्योलाई भारी हाल्ने, खोल्ने र जोक्यो धपाउने थियो उनको जिम्मा। १३ वर्षको उमेरबाट शुरु भएको यो जिम्मेवारी २० वर्ष पुग्दासम्म रह्यो। १४ वटा सिजन जोक्यो धपाएरै बिते। वर्षमा दुई वटा सिजन हुन्छ, वसन्त र गृष्माकालीन। जोक्यो धपाउँदाको दैनिक ज्याला ८० रुपैयाँ थियो अनि विदेशीले टिप्स दिन्थे।

टेकिङमा पनि प्रमोसन भन्ने हुन्छ। जोक्यो धपाएर सात वर्ष बिताएपछि उनको पनि प्रमोसन भयो। जोक्यो धपाउने कामीरिता गाइडको सहयोगी भए। उनका भिनाजु पनि टेकिन गर्थे। उनै भिनाजुसँग काम गर्न थाले पनि सहयोगीको काम पाए। विदेशीलाई बाटो देखाउने, विदेशीले बोक्न नसकेको झोला बोक्ने गाइडको सहयोगीको काम हुन्थ्यो। त्यो बेलामा एभरेस्ट बेस क्याम्प टेकिन अहिलेको जस्तो लुक्लाबाट होइन, दोलखाको जिरीबाट शुरु हुन्थ्यो। एक महिनासम्म लाग्थ्यो, एउटा टेकिन सकाउँदा।
भिनाजुसँग काम गर्दा कामीरिताले टेकिन मात्रै गरेनन्। उनी क्वालामिनतिर पनि लागे। भिनाजुसँगै काम गर्दा हो, उनले पीकहरु चढेको। उनका दाइ लाक्पारिता पहिलो नेपाली सेभेन समिटर पनि हुन्। १७ पटक चुचुरो चुमेर केही वर्षअघिबाट विश्राम लिएका लाक्पारिता सगरमाथा चढ्ने काम थाल्दै गर्दा उनी आइल्यान्ड, मेरा पीकको आरोहण गर्दैथिए।

हिमाल चढ्नुलाई शेर्पा भाषामा अर्ताली भनिन्छ। अर्ताली भनेको लाहुर जानु भने जस्तै हो। गाउँमा खुबै भनिन्थ्यो, ‘फलानोको छोरा त अर्ताली गएछन्।’ गाउँलेले अरुलाई अर्ताली गयो भन्दै गर्दा कामीरितालाई ‘एक दिन पनि अवश्य अर्ताली जानेछु’ भन्ने लाग्थ्यो।

अर्ताली जाने सपना बोकेका कामीरिताले एक दिन दाइ लाक्पारितासँग भनेछन्, ‘म पनि अर्ताली जान्छु नि !’ लाक्पारिता हिमाल चढ्न कम्पनीसँग कुरा गर्न काठमाडौं आउन लागेका थिए। भाइ पनि हिमाल चढ्ने भन्दै काम खोज्न काठमाडौं आउने भनेपछि भनेछन्, ‘तँ काठमाडौं जानुपर्दैन, म जसरी पनि तेरो लागि मिलाएर आउँछु।’ दाजुको यो कुरा सुनेपछि खुसीले गद्गद् भए।

त्यो बेलामा फोनको जमाना थिएन। खबर आदनप्रदान गर्नु परे चिठ्ठी पठाउने चलन थियो। थामेको त्याङमा रहेको आर्मी क्याम्पमा आवामा पत्र पठाइन्थ्यो। दाजु लाक्पारिता काठमाडौं आएको १५ दिनपछि आवा चिठ्ठी आयो कामीरितालाई। लेखिएको थियो, ‘यो पटक हिमाल जान तयारी रहनू। म विदेशी लिएर आउँदैछु। अबको १५ दिनमा नाम्चे आइपुग्नू।’ यस्तो खुसीको खबरले त उनको भुइँमा खुट्टै थिएनन्। संसारकै खुसी पाएको अनुभूत गरे उनले।

यसपछि गाउँका अरु साथीसहित कामीरिता नाम्चे आए। नाम्चेमा उनको भेट दाइ लाक्पारितासँग भयो। दाइसँगै सगरमाथा चढाउन १२ जना अमेरिकी समूह थिए। त्यहाँ हिमाल आरोहणको सामान टन्नै थिए। सामान बोक्न ५० वटा याक प्रयोग गरियो। बेस क्याम्पमाथि काम गर्नेलाई क्वालामिङ शेर्पा भनिन्छ। २० जना क्वालामिङ शेर्पासहित पाँच जना बेसक्याम्प कामदार छानियो। नेपाली कामदार र विदेशी आरोही गरेर ३७ जनाको जम्बो टिम बन्यो। यो कामको सरदार उनै कामीरिताका दाइ लाक्पारिता थिए।

बेस क्याम्पमा क्याम्प फिट गर्नुपर्छ। आरोहणको सामग्री त्यहीँ राखेर ओसारपसार गरिन्छ। क्वालमिङ शेर्पा बेसक्याम्प पुगेर क्याम्प फिट गरेको १२ दिनपछि विदेशीको टिम पुग्यो। बेसक्याम्पमा सबै भेला भएपछि पूजा गरिन्छ। हिमाललाई शेर्पाले भगवान मान्छन्। हिमाल चढ्दा कुल्चिदाको माफी र आरोहण सफलताको कामना गर्दै पूजा गरिन्छ। यसपछि शुरु हुन्छ, माथि जाने र क्याम्प फिट गर्ने काम। क्वालमिङ शेर्पाले यही काम गर्छन्, सामान ओसार्ने र क्याम्प फिट गर्ने।

यो सन् १९९२ को कुरा हो। कामीरिता पनि क्याम्प फिट गर्दै साउथ कोल अर्थात् चौथो शिविरसम्म पुगे। त्यहाँभन्दा माथि जान उनको अनुभवले दिएन। त्यो बेला नियम जस्तै थियो, नयाँ मान्छेले साउथ कोलभन्दा माथि जान नपाउने। चौथो क्याम्पभन्दा माथि चुचुरो पुगिसकेकै मान्छे जानुपर्ने। कामीरितालाई नयाँ मान्छे किन चौथो शिविरमाथि जानुहुँदैन भन्ने थाहा थिएन। अहिले बुझ्दा थाहा भयो, ‘नयाँ मान्छे जाँदा चुचुरो पुग्न सकेन भने विदेशीले नराम्रो सोच्छन्। चुुचुरो पुग्यो भने पुरानाले कम अवसर पाउँछन्।’ त्यो बेला चुचुरो पुग्नेहरु धेरै कम थिए। तिनै थोरै मान्छेको हालमुहाली चल्थ्यो, चुचुरो पु¥याउने काममा। त्यसैले त पहिलो आरोहणमा साउथ कोलबाट माथि चुचुरो नियालेर कामीरिता फर्किए। उनीहरुका टिमका ६ जना शेर्पा र तीन जना विदेशी चुचुरोमा पुगे। त्यही चुचुरोमा पुग्नेका सामान तथा अक्सिजन ओसारपसारमै सीमित भयो उनको पहिलो काम।

अर्को वर्ष पनि दाइकै नेतृत्वमा भएको आरोहणमा कामीरिताको केही फरक देखिएन। पहिलो वर्षको जस्तै अनुभव नभएको भनेर चुचुरो जान पाएनन्। टिमको नेतृत्व आफ्नै दाजु लाक्पारिताले गरे पनि भाइले नसक्ला कि भनेर साहस गरेनन् तर कामीरिता भने सक्ने साहसमै थिए। त्यसैले भनिरहेका थिए मनमनै, ‘चोमालोङमा माई मलाई पनि चुचुरो चुम्ने अवसर देऊ है !’

दुई पटक चौथो क्याम्पसम्म पुगेर फर्केपछि भने चोमालोङ्मा माईले उनको भाव बुझिन्। उनकै दाजुले पनि भाइको क्षमतालाई बुझे। टिममा रहेकाले पनि कामीरिताले चुचुरो चुम्न सक्नेमा विश्वास गरे। साथीभाइलाई पनि कामीरितासँग अनुभव रहेको देखे।

चौथो क्याम्पसम्म सेट गरेपछि बेस क्याम्प आएर मौसमअनुसार चुचुरोको यात्रा तय गरिन्छ। बेस क्याम्पमै चुचुरोमा को–को जान्छ यसपटक भनेर टिम लिडरको छलफल हुन्छ। ‘दुई सिजनमा चौथो क्याम्पसम्म पुगेको अनुभव छ, यो पटक तिमीहरु पनि चुचुरोमा जाने,’ दाजु लाक्पारिताको मुखबाट यो शब्द सुनेपछि खुसीले कामीरित्ता मुटु ढक्क फुल्यो। साहस थियो, त्यसैले अवसर पाएपछि सक्दिन कि भन्ने कत्ति पनि शंका उनको मनमा उठेन। चुचुरोमा एक पटक पुगेपछि काम पाउन पनि सजिलो हुन्थ्यो। आरोहणमा कामै गर्नको लागि भए पनि चुचुरो पुग्नुपर्ने बाध्यता थियो उनलाई।

सन् १९९४ मे १३ को बिहान ६ बजे उनलाई संसार जितेको अनुभूत भयो। सगरमाथा चुचुरोलाई चुमेपछि उभिएर हेर्दा घाम पनि धेरै तल उदाइरहेको देखे उनले। त्यो खुसीमा एक पटक चोमालोङमा माईलाई ढोगे। देशको माया छातीमा बोकेर नेपालको झण्डा बेर्दै उनले फोटो खिचाए। उनको टोलीबाट नेपाली शेर्पा र विदेशी गरेर १६ जना चुचुरोमा पुगेका थिए। सबैले चुचुरोबाट लत देखिरहेका षट्कोण जस्ता हिमाल नियाल्दै सूर्यलाई समेत तल पारेर फोटो खिचाए।

चुचुरोमा पुग्दाको खुसी नेपालीमा भन्दा विदेशीमा बढी देखिन्छ। सगरमाथा चढ्न उनीहरुले लाखौं खर्च गरेका हुन्छन्। सगरमाथामा हुने महादुःखलाई भोग्छन्। त्यो सबै खुसी भने चुचुरोमा पुग्दा १० मिनेट मात्रै लिने हो। नेपालीले चाहिँ खुसी पारिश्रमिक लिने बेलामा पनि पाउँछन्। अर्को पटक काम पाउँदा पनि अघिल्लो पटक चुचुरोमा पुगेकाले काम पाइयो भनेर गर्व गर्छन्।

यसपछि भने उनलाई अर्को वर्षदेखि काम पाउन गाह्रो भएन। दाजु लाक्पारिताले काम गर्ने कम्पनीमै सगरमाथा आरोहणको काम पाए। चुचुरो चुमाउँदा कुन विदेशीको साथमा को जाने भनेर बेसक्याम्पमै निर्णय गरिन्छ। त्यस वर्ष पनि अमेरिकी समूह नै थियो। दोस्रो पटक चुचुरो चुम्ने साहस बोकेर उनी विदेशी डो-याउँदै चौथो क्याम्प पुगेका थिए। ‘मलाई गाह्रो भयो,’ विदेशीले भन्यो। ८ हजार मिटरमाथि विदेशीले अक्सिजन प्रयोग गर्छन्। अक्सिजन प्रयोग गर्दा पनि कसैलाई भने हाइ लाग्छ। कामीरितासँग गएको विदेशीलाई पनि हाइ लागेको थियो। त्यसपछि भने त्यही विदेशीलाई डो-याएर तलतिर ओर्लिए। उनी दोस्रो क्याम्प आएर बसे। सँगैका आरोहण दलले भने सोही दिन चुचुरो चुमे। दोस्रो पटक चुचुरो चुम्ने सपना विदेशी बिरामी हुनुले तुहियो।

अर्को वर्ष सन् १९९६ मा पनि उनी चुचुरो पुग्न सकेनन्। यस पटक पनि चुचुरो चुम्ने अभिलाषा बोकेर उनी चुचुरोतिर उक्लिदै थिए विदेशीको साथमा। दोस्रो क्याम्प पुगेपछि खबर आयो, ‘रफ हल र स्कर फिसरको निधन भयो।’ यी चर्चित आरोही चुचुरो चुम्न जाँदा क्याम्प फोरमाथि मौसम बिग्रियो। धेरै समय मौसमको कारणले रोकिनुप-यो। आफूसँग भएको अक्सिजन नै सकियो। अक्सिजन बिना आठ हजारमाथि सास फेर्नै सकिँदैन। यी आरोहीले पनि अक्सिजनको अभावका कारण ज्यान गुमाएका थिए। यी आरोहीको निधनले सबैलाई शोकाकुल बनायो। अमेरिकी आरोहण दल थियो कामीरितासँग। चुचुरो चुम्न दोस्रो शिविर पुगे पनि रफ हल र स्कर फिकरको निधनपछि चुचुरो चुम्न नजाने निर्णय लिइयो। क्याम्प फोरमा पुगेर सेट गरेका क्याम्प उठाएर फर्किए उनी।

सन् १९९७ सालको आरोहण भने उनका लागि अलि फरक भएर आयो। यस पटक नेपालीलाई पनि चुचुरोमा पु-याएका थिए। यसपछि भने उनलाई काठमाडौं बोलाइयो। यो नै उनको काठमाडौंको पहिलो यात्रा बन्यो। यो आरोहणले उनलाई काठमाडौं मात्रै ल्याएन, विदेशसमेत पु-यायो। उनीसँगै आरोहण गरेका अर्का एक जना साथीसहित उनी क्युबा गए। क्युबामा १५ दिनको भ्रमण गरेर फर्किए उनी।

कामीरिता काठमाडौंमा रहेको सांग्रिला नेपाल ट्रेक र अमेरिकाको सियाटल मुख्यालय रहेको अल्पाइन एसियन इन्टरनेसनल कम्पनीमा काम गर्थे। अमेरिकी समूहले चलाएको सो कम्पनीमा प्रायः अमेरिकी नागरिक नै आउँथे। तर, सन् १९९८ र १९९९ मा भने यो कम्पनीले आरोहणको लागि ग्रुप नै लिएन। दुई पटक चुचुरो चुमिसकेका उनलाई भने कामको खाँचो भएन। एक वर्ष सिंगापुर र अर्को वर्ष ब्रिटिस आरोहण दलसँग सगरमाथाको चुचुरो चुमे उनले। सन् २००१ मा भने पहिला आबद्ध भएकै कम्पनीसँग रहेका चुचुरो पुगे।

सन् २००२ को आरोहण भने निकै फरक छ उनको। बेलायती सेनामा रहेर पहिलो विश्वयुद्ध लडेका हर्बट मेलोरीले सगरमाथाको चचुरोमा पहिलो मानव पाइला राख्ने प्रयास गरेका थिए। मेलोरीले सन् १९२१ मा तिब्बत अर्थात् उत्तरी मोहडाबाट आरोहणको प्रयास गरे पनि सफल हुन सकेनन्। दोस्रो वर्ष फेरि यही आरोहण दलले तिब्बत तर्फबाटै प्रयास गर्दा पनि सफल नभएपछि सन् १९२३ मा अमेरिका फर्किएका थिए मेलोरी। सन् १९२४ मा सहयात्री एन्ड्रयू इर्भिनसहित फेरि सगरमाथा चढ्न आएका ३७ वर्षीय मेलोरी बेपत्ता भए। सगरमाथामा पहिलो मानव पाइला पु-याउने उनले गरेको प्रयत्नमा सफल भए वा भएनन् केही पत्ता लागेन। मेलोरी बेपत्ता भएको ७५ वर्षपछि १९९९ मे १ तारिखमा उनको मृत शरीर भेटियो। त्यसपछि सन् २००१ मा मेलोरीले सगरमाथा चढे वा चढेनन् भन्ने रहस्य खोतल्न तिब्बती मोहोडाबाट एक समूहले यात्रा सुरु ग¥यो। यो अभियानमा थिए, उनै कामीरिता। मेलोरीले प्रयोग गरेको डायरी, क्यामेरा लगायतका सामग्री खोज्ने नेतृत्व अमेरिकी पर्वतारोही एरिक सिमोनसनले आरोहण दल चुचुरोसम्म पुगेर फेला परेका केही अवशेष बोकेर एरिकको टोली अमेरिका फर्कियो। कामीरिता भने तिब्बतबाट नेपाल फर्किए। यो सगरमाथामा पाइला पु¥याउन प्रयास गर्ने मेलोरीको खोजी अभियानमा संलग्नको साथै तिब्बतको मोहडाबाट सगरमाथा चुचुरो चुम्न अवसर बनेको थियो।

उनी सन् २००२ देखि २०१० सम्म निरन्तर चुचुरोमा पुगे। सन् २००७ सम्म चुचुरो पुग्दा उनी गाइड मात्रै थिए। सन् २००८ बाट भने उनी मुख्य गाइड भएर चुचुरोमा उक्लन थाले। प्रमुख गाइड भएपछि भने तलब बढी हुन्छ। काम कम गर्नुपर्छ। पहिलाको जस्तो भारी ओसारपसार गर्नुपर्दैन तर ह्वात्तै जिम्मेवारी बढ्छ। आरोहण दलमा रहेका कामदार र क्लाइन्ट दुवैको रेखदेख गर्नुपर्छ।

उनी प्रमुख गाइड भएपछि एकै सिजनमा दुई पटक चुचुरो चुम्ने अवसर पनि पाए। क्याम्प दुईसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाउने काम गर्छ। त्यसमाथि आरोहण दलका सदस्यहरु मिलेर बनाउँछन्। यही क्रममा कामीरिताले पनि सन् २००९, २०१०, २०१२ र २०१३ मा उनले दुई पटक चुचुरो पुगे। पहिला बाटो बनाउनका लागि भन्दै चुचुरो चुमे उनले। बाटो बनाउँदै चुचुरो पुगेर फर्किएपछि उनी क्लाइन्ट लिएर जान्छन्। सन् २०१२ को आरोहणले भने सरकारी मान्यता पाएन। उनी बाटो बनाएर मे १८ का दिन चुचुरो पुगेर फर्कदै थिए। बाटो बनाइसकेर चौथो क्याम्पमा आइपुग्दा उनका क्लाइन्ट चौथो क्याम्प (७९५० मिटर)सम्म पुगेका थिए। उनी त्यहीँबाट चुचुरो उक्लिए। चौथो क्याम्पबाटै चुचुरो उक्लिएकाले उनको त्यो आरोहणले सरकारी मान्यता पाएन। मे २० का दिन दुई दिनको बीचमा उनी चुचुरो पुगे। यसले मान्यता पाएको भए उनीसँग सगरमाथा चुचुरो पुगेका प्रमाणपत्रको संख्यामा एक प्लस हुन्थ्यो। 

सन्् २०१३ मा भने उनले कतारको आरोहण दललाई चढाए। त्यो आरोहण पहिलो कतारी राजपरिवारका सदस्य शेख मोहम्मद बिन अब्दुल्लाह अलथानीको दल थियो। उनले यो आरोहण सफल बनाए। यसले गर्दा शेख मोहम्मदले कामीरितालाई कतार र साउदी अरब घुम्न बोलाए। एक महिने भम्रणको निम्तो दिए पनि कामीरिता १५ दिनमै नेपाल फर्किए। फर्कदा शेख मोहम्मदले उनलाई २ लाख ५० हजार रुपैयाँसमेत दिएका थिए।

आरोहीहरु धेरै विदेश घुम्छन्। कति आरोही भने विदेशलाई नै कर्मथलो बनाउने गर्छन्। २१ औं पटक चुचुरो चुमेर विश्राम लिएका आप्पा शेर्पा पनि त विदेशमै छन् तर यी कामीरिता भने विदेश बस्ने त कहाँ हो कहाँ, क्युवा र कतारबाहेक अरु देश घुमेका थिएनन्। अघिल्लो वर्ष २२ औं पटक चुचुरोमा पुगेपछि भने उनले धेरै देश घुम्ने मौका पाए।

अहिलेसम्म यसरी हिमाल चढ्दाको बिर्सनै नसक्ने घटना के हो भनेर सोध्दा उनी २०१४ को घटना सुनाउँछन्। अमेरिकी आरोहण दल चढाउन सगरमाथा जाने तयारीमा थिए उनी। आधारमा पुगेर क्वालामिन शेर्पाले माथितिर क्याम्प फिट गर्ने काम चलिरहेको थियो। यस पटक दुई वटा आरोहण दल थिए, उनीहरुको कम्पनीबाट। कामीरिता दुई वटै आरोहण दलको सामग्री मिलाउनु परेकाले आधार शिविरमै बसे। उनीहरुका टिममा पाँच जना भने क्याम्प सेट गर्न गए। ती पाँच जना फर्केर आएनन्। क्याम्प टुमा आएको पहिरोमा परेर १६ जना शेर्पाको मृत्यु भयो। त्यसमा कामीरिताको टिमका पाँच जना परे। यो घटना भने कामीरिताले बिर्सन सकेका छैन। अर्को बिर्सनै नसकेको आरोहण सन् २०१५ को पनि हो। १२ जना विदेशीलाई हिमाल चढाउने नेतृत्व गरेर बेसक्याम्प पुग्नै लागेका थिए कामीरिता। एक्कासि जमिन हल्लिन थाल्यो। शुरुमा त हिमालमै पहिरो गयो भन्ने लाग्यो तर पछि त भूकम्प गएको भनेर थाहा पाउँदा उनको हंशले ठाउँ छाड्यो। यो पटक पनि सँगै काम गर्ने शेर्पा साथीहरु गुमाउनु प¥यो। भूकम्पमा परेर साथीहरु बितेको देख्दा भने उनलाई यो कामैप्रति खल्लो लाग्छ।

सन् २०१४ र सन् २०१५ दुई वर्ष आरोहण हुन सकेन। २०१४ मा भने उनले बर्खामा पाकिस्तानको माउन्ट केटुमा विदेशीलाई पु¥याए। सन् २०१५ मा भने भूकम्प गएपछि उनको गाउँ थामेमै व्यस्त रहे। भूकम्पले घर भत्कियो। घर बनाए। थामे नजिकै टाँसी लाप्सामा रहेको पोर्टर सेल्टर भत्कियो। त्यो पनि बनाउन लागि परे उनी।

सन् २०१६ मा भने उनी फेरि सगरमाथै उक्लिए। यस पटक उनी नेपाल साइडबाट नभएर तिब्बतबाट गए। यो उनको तिब्बतबाट गएको दोस्रो आरोहण थियो।

सन् २०१७ को आरोहण भने विशेष आरोहण बन्न पुग्यो। यसअघिका आप्पा शेर्पाले सन् २०११ मा र सन् २०१३ मा फुर्बा तासी शेर्पाले राखेको कीर्तिमानमा उभिनु थियो। नभन्दै उनी २१ पटक चढ्नेकै पंक्तिमा थपिए। कामीरितालाई पनि खुसी लागेको आरोहण यही हो। चुचुरोमा २२ पटक पुगेपछि भने उनको चर्चा सबैतिर भयो। उनको खुसी पनि सगरमाथा जस्तै चुलियो। २४ पटक चढ्दाको खुसी र चर्चा त कति हो कति छ कामीरिताको ! यही साहसले त अझै केही पटक हिमाल चढ्ने सपना छ उनमा।
हिमालबाट विश्राम लिए पनि के गर्ने भन्ने केही सोच्न सकेका छैनन् उनले। अधिकांश आरोहीहरु दुईचार पटक चुचुरो पुगेपछि कि आफैँ कम्पनी खोल्छन्, कि विदेश बसाइँ सर्छन्। आफ्नो भविष्य सुरक्षित गर्ने यो काइदा भने उनले अझै सिक्न सकेका छैनन्।

कामीरितालाई पनि कम्पनी खोल्ने मन नलागेको होइन तर नेपालको झन्झटिलो व्यवस्थाले कम्पनी खोल्न मन लागेन उनलाई। सरकारी प्रक्रिया अत्यन्तै दुःख दिने खालको छ तर विदेश जाने रहर भने उनलाई छँदैछ। त्यहाँ गएर काम गर्ने मन भने कत्ति पनि होइन।

अमेरिकाबाट उनलाई धेरै पटक निमन्त्रणा त आयो। दुई पटक प्रयास नगरेका पनि होइनन् तर धेरै झन्झट लाग्यो उनलाई। त्यस्तो झन्झट गर्नुभन्दा हिमाल चढ्नु उनलाई सजिलो लाग्छ।

हिमाल चढ्नु ज्यानको जोखिम मोल्नु हो। त्यसैले काठमाडौंका निजी विद्यालयहरूमा ११ कक्षा अध्ययनरत छोरी पासाङ डोल्मा र १२ कक्षा पढिरहेका छोरा लाक्पा तेन्जिङलाई यो पेसामा सकभर ल्याउने मनस्थितिमा उनी छैनन्।

हिमाल चढाउने पेसामा पाइलैपिच्छे मृत्यु हुन्छ जस्तो लाग्छ कामीरितालाई तर भगवान्लाई राम्रोसँग प्रार्थना गरेकाले अहिलेसम्म आफूले मृत्युलाई छल्ने शक्ति पाइरहेको उनको विश्वास छ। त्यसैले त उनी आरोहणअघि गुम्बामा, घरमा, आधारशिविरमा धुमधाम पूजा गर्छन्। उनी घरबाट निस्किएको दिनेदेखि नआउञ्जेलसम्म उनकी पत्नीले पनि दैनिक पूजा गरिरहेकी हुन्छिन्। यसैले पनि आफू हिमालका जोखिमबाट जोगिएको जस्तो लाग्छ उनलाई। भगवान्सँग अति आस्था भए पनि हरेक पटक हिमाल चढ्न जाने बेलामा भने श्रीमती कहिल्यै खुसी हुन्नन्। अँध्यारो मुख लाएर खादा लगाउँदै बिदाई गर्छिन्। कामीरिता हिमाल चढेर नफर्किञ्जेलसम्म उसको अनुहार अँध्यारै हुन्छ। जब उनी हिमाल चढेर फर्कन्छन्, पत्नीको अनुहार उज्यालोले उदिप्त हुन्छ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad