जीवन यात्रा

रोमान्टिक प्राध्यापक

बिहिबार, १२ असार २०७६, १५ : ०४ विश्वमणि पोखरेल

विराटनगरका पण्डित गजाधरले १९९५ साल चैत ११ गते हो भनिदिएकाले लोकराज बरालले पनि सोही कुरालाई सदर माने। यस हिसाबले उनी यतिबेला ८१ वर्षमा हिँडिरहेका छन्। ‘अहिले पनि मलाई वृद्धावस्था लागेको छैन, तन्नेरी महसुस हुन्छ, दिनभर सक्रिय छँदैछु, यसैगरी चलिरहेको छ,’ उनले परिवारसँग कुराकानी अघि बढाए, ‘बुढो र तन्नेरी त फिलिङ मात्र त हो ! अहिले पनि साथीहरूले भने घुम्न हिँडिहाल्छु, बिहानभरि हिँड्छु, दिनभरि काम गर्छु।’

मर्निङ वाक, नुहाइँधुवाइँ, योग, पूजापछि उनी खानपिन गर्छन् र सानेपास्थित आफ्नै अफिस नेपाल समसामयिक अध्ययन केन्द्र (एनसिसिएस) आइपुग्छन्। नेपालको राजनीतिक आरोहअवरोहबारे गहिरो जानकारी राख्ने र बेलाबेलामा मिडियामार्फत विचार बाँड्न तत्पर रहने बरालले दैनिक प्रमुख अखबारहरु सबै, म्यागेजिनलगायतका सामग्री अध्ययन गर्छन्। किताब पढ्नु पनि उनको एक किसिमको नियमितता नै हो। त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक बराल  भारतका लागि नेपाली राजदूतको सफल भूमिका निर्वाह गर्ने कुटनीतिज्ञ पनि हुन्।

बराल अहिलेको झापा जिल्लाको उत्तरी पाखोमा जन्मिएका हुन्। त्यो बेला त्यो पाखो इलाममा पथ्र्यो। चुरे पहाडको काखमा रहेको अहिलेको शान्तिनगरमा उनको जन्म भएको हो।

त्यो बेला गाउँमा स्कुल थिएनन्। त्यसैले उनी आफ्ना बुवाका मावली घिमिरेहरूको बसोबास रहेको इलाम सलकपुरमा स्कुले विद्या सुरु गरे तरपछि विराटनगर झरे। भिनाजु वाचस्पति निरौला विराटनगर अदालतको विचारी भएको मौका पारेर पढ्न उतै झरेका बरालले २००७ सालको क्रान्ति अनुभव गरे।

‘अहिले पनि अलिअलि सम्झना छ, त्यसबेलाको नारा–जुलुस,’ बराल भन्छन्, ‘त्यसबेला उत्तम विक्रम बडा हाकिम थिए, नारा जुलुस भैरहन्थ्यो।’ तीन कक्षासम्म विराटनगर पढेपछि त्यस बेलाको इरोङटारका प्रसाईंहरू विशेष गरेर चरण प्रसाईं, इन्द्रप्रसाद प्रसाईंहरूको अग्रसरतामा २००८ सालमा खुलेको नयाँ स्कुलका छात्र बने बराल। ३, ४, ५ कक्षा त्यही इरोङटारको स्कुलमा पढे। ७ कक्षामा पुग्दा विराटनगरको आदर्श स्कुलमा भर्ना भए। ८ सालमा बरालको शिक्षा यात्रा मोरङबाट पुनः इलाम मोडियो। ‘भिनाजुको सरुवा भयो, म पनि दिदीभिनाजु सँगै इलाम गएँ,’ बराल भन्छन्, ‘८, ९, १० कक्षासम्म इलाम पब्लिक हाइस्कुलमा पढेर २०१४ सालमा त्यहीँबाट एलएससी दिएँ।’ पछि आएर एमाले नेताहरू झलनाथ खनाल, सुभाष नेम्वाङ्ग पनि त्यही स्कुलबाट एसएलसी गरेको बराल बताउँछन्।

भागी विवाह
२०१५ सालमा इलाम छुट्यो, दिदी–भिनाजुहरूसँगको साथ छुट्यो तर इलाम पढ्दा किशोर वयमा गंगा श्रेष्ठसँगको मधुर मिलन भने त्यसको दुई वर्षपछि विवाहमा परिणत भयो। त्यसबेलाको समयमा बाहुन केटाले नेवार परिवारकी केटीसँग औपचारिक विवाह हुन सम्भव थिएन।

‘हामीले इलामबाट सँगै एसएलसी दियाैं,’ उनले सम्झिए, ‘म त्यसपछि काठमाडौं पढ्न आएँ, उनले  इलाममै आइए पढिन्। पछि २०१७ साल फागुनमा काठमाडौंबाट झापा गएको थिएँ। त्यसैबेला उनी कलेजको ड्रामाको कलाकार भएर झापा आएकी थिइन्, त्यहीँबाट भाग्यौँ हामी।’

६० वर्षअघि लभ म्यारिज अनि त्यो पनि इन्टरकास्ट, बडो रोमाञ्चक जीवन आफूले भोगेको उनको राय छ। त्यसैले त उनले ‘रोमाञ्चक जीवन’ नाममा आत्मकथा बजारमा ल्याए। ‘त्यसलाई रोमान्टिक नभनेर के भन्ने ?’ उनले जोड दिँदै भने, ‘अंग्रेजीमा इक्साइटिङ लाइफ, कहिले लभ गर्दै विवाह गरेको छ, कहिले अञ्चलाधीशका जागिर खोस्ने पुर्जी प्राप्त गरेको छ, कहिले प्राध्यापक हुन लडाइँ गर्नुपरेको छ, लाइफ रोमान्टिक भएन त ?’ सबै खाले हण्डरले आफूलाई माथिमाथि उचालेको बरालको अनुभव छ।

‘ममा पोलिटिकल डिसेन्टको कल्चर छ, म साधारण कृषकको छोरा हुँ,’ बराल भन्छन्, ‘मास्टर नभए हुन्थ्यो, सरकारी जागिर खाए हुन्थ्यो भन्ने थियो।’

गंगालाई भगाएर काठमाडौँ ल्याएपछि उनीहरू नक्सालमा डेरा लिएर बस्न थालेको बताउँछन् बराल। ‘म बिएमा पढ्दै थिएँ, उनलाई आइएमा भर्ना गराएँ। हामी दुवैजना पहिला इलाममा साथी, काठमाडौंमा पतिपत्नी र विद्यार्थी,’ बराल भन्छन्, ‘त्यसबेला बाबु रविलाल बराललगायतका जातमा विवाह नगर्न सम्झाएका थिए तर मैले यो मेरो निजी कुरा हो, मेरो आफ्नो निर्णय हो भनिदिएँ।’

प्रेम विवाह गरेर काठमाडौं आएका बराल दम्पती चाँडै नै बाबुआमा हुने भए। त्यसैबीचमा आदित्य बराल जन्मिए। आदित्य अहिले नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक छन्। त्यसो त बरालको निजी निर्णय, त्यो समयको लभ म्यारिज र अन्तर्जातीय विवाहबारे परिवारमा लामो समयसम्म विरोधका स्वरहरू सुनिएनन्। ‘केही समयपछि नै बुबाको आवाज आयो, तिमीहरू दुवैजना पढ्नू, जागिर खानेतर्फ अहिले नलाग्नू,’ बराल सम्झन्छन्, ‘स्वास्नी पाल्ने चिन्ताले पढाइ छोडेर जागिर खानु हुन्न भन्ने बुबाको भनाइ थियो।’

काठमाडौँ लामो समयसम्म बस्दा पतिको पढाइ बिग्रन्छ भन्दै गंगाले इलाम फर्कने चाहना गरेपछि बाबुलाई पत्र पठाए। पत्रको जवाफ आएपछि उनले श्रीमती लिएर इलाम गए। काठमाडौंमा तीन वर्षको बसाइपछि गंगा इलाम फर्किइन्। त्यहीँ उनले लामो समय शिक्षण गरिन्।

साइन्स सकस
इलामबाट एलएलसी पास भएका बराल राजधानी छिरे र त्यसबेलाको कहलिएको त्रिचन्द कलेजमा नाम लेखाए, साइन्स फ्याकल्टीमा। राम्रो पढ्नेहरूको पहिलो रोजाइ नै साइन्स र त्रिचन्द्र कलेज हुन्थ्यो। बरालको दिमागले भौतिकशास्त्र, रसायनशास्त्र र गणितका सूत्र र सिद्धान्त भेउ पाउन सकेन। तीन महिना कलेज जाँदा पार नलाग्ने देखेपछि उनी आर्ट पढेर अगाडि बढ्ने निचोडमा पुगे। ‘खुब रहर लागेर साइन्स पढ्छु भनेको तर मेरो बुद्धिले भ्याएन,’ बराल भन्छन्, ‘मैले सकिनँ, फिजिक्स, केमेस्ट्री मेरो दिमागले पर्गेल्न सकेन। त्यसपछि हत्तपत्त त्रिचन्द्रमै आर्ट्समा भर्ना भइयो र त्यहीँबाट, आइए र बिए पूरा गरियो।’

प्राध्यापनका पाइला
बिएपछि एमएको पढाइ त्रिपुरेश्वरमा हुन्थ्यो, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर निर्माणाधीन अवस्थामा रहेकाले अहिलेको डब्लुटिसी रहेको स्थानमा विश्वविद्यालयको अध्यापन हुन्थ्यो। बरालले त्यहीँबाट राजनीतिशास्त्रमा एमए गरे। २०२०–२१ सालमा एमए पास हुनासाथ गृहनगर झापाको भद्रपुरस्थित मेची कलेजमा भाइस प्रिन्सिपलको हैसियतमा नियुक्ति पाए। प्रिन्सिपल भूपालमान सिंह कार्कीका छोरा जगतबन्धु सिंह कार्की थिए। ६ महिना मेची क्याम्पसको प्राध्यापनपछि बरालको यात्रा पुनः काठमाडौं तानियो। उनी विश्वविद्यालयले माग गरेको लेक्चररमा पास भएका थिए। ‘मैले २०२२ असोजदेखि एमए स्तरमा पढाउन थालेँ,’ बराल भन्छन्, ‘एमएका विद्यार्थीलाई राजनीतिशास्त्रमा लामो समयसम्म पढाएँ।’

४–५ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेपछि बराल कोलम्बो प्लानअन्तर्गतको छात्रवृत्ति पाएर पिएचडी गर्न भारतको जवाहरलाल नेहरु विश्वविद्यालय गए। नेपालमा दलविहीन पञ्चायती व्यवस्थाले जरा गाडिरहेको बेला र राजाको नेतृत्वमा राजनीति सञ्चालित भैरहेको बेला बरालले दिल्लीमा रहेर ‘अपोजिसन पोलिटिक्स इन नेपाल’ शीर्षकमा विद्यावारिधि गरे। बाहिरी सतहमा दलविहीन व्यवस्था भए पनि मुलुकको राजनीतिमा त्यसैभित्र कसरी विरोधी आवाजहरू मुखरित भैरहेका छन् भन्ने विषयलाई उनले केलाए। ३ वर्ष ३ महिनामा पिएचडी सकेपछि पिएचडी शोधको पुस्तक पेन्गुइनले प्रकाशित गरेको थियो। ‘१९७७ मा पेन्गुइनले छापेको मेरो पहिलो किताबमा निर्दलीय व्यवस्थामा अपोजिसन कसरी हुन्छ भन्ने कुरा लेखिएका छन्,’ बराल भन्छन्, ‘त्यसबेलाका मदनमणि दीक्षित, चन्द्रलाल झाजस्ता पत्रकारहरू व्यवस्थाका विरुद्ध कडा–कडा टिप्पणी लेख्दथे, राष्ट्रिय पञ्चायतमा पनि विरोधका स्वर सुनिन्थ्यो।’

दिल्लीमा रहँदा आफन्त र साथीभाइले उनको विषयलाई शोध नगर्न र किताब नछाप्न प्रशस्त दबाब दिएका थिए। बरालले त्यसमा ध्यानै दिएनन्। शोध पनि भयो र किताब पनि छापियो। दिल्लीमा किताब छापिएपछि त्यसको प्रत्यक्ष असर काठमाडौंमा प¥यो। विशेष गरेर उनी त्यो बेला प्राध्यापक पदका लागि लडिरहेका थिए। ‘मैले त्यहाँ धेरै जर्नलहरू पढेँ, कम्युनिस्ट सत्तामा त अपोजिसन हुन्छ भने पञ्चायतमा किन हुँदैन भन्ने लागेपछि मैले त्यसमा शोध पूरा गरेँ,’ उनले भने।

२०३२ सालमा विश्वविद्यालयका भाइस चान्सलर बिसी मल्लहरूलाई निकालेको अवस्थामा विश्वविद्यालयका पञ्चायत र गैरपञ्चायत पक्षका बीच प्राध्यापक हुने धुनमा थिए। त्रिवि सेवा र लेक्चररको अनुभवपछि दिल्लीबाट प्रकाशित पुस्तक नै उनको प्रगतिमा बाधा बन्यो। ‘जर्नलमा लेख प्रकाशित हुुनुपर्ने, किताब प्रकाशित भएको हुनुपर्नेलगायतका शर्तहरू मैले पूरा गरेको थिएँ,’ बराल भन्छन्, ‘यहाँ त व्यवस्थाविरोधी किताब लेख्नेलाई प्राध्यापक दिनु हुँदैन भनेर होहल्ला हुन थाल्यो।’ प्राध्यापकको विज्ञापनमा अरु कसैको आवेदन नपरेर एक्लो आवेदक भएर छानिएपछि पनि बराललाई प्रोफेसरको पद लिन हम्मे परेको थियो।

‘म छनोट भैसकेपछि पनि नियुक्त हुन सकिरहेको थिइनँ, इन्टरभ्यू भयो, रिजल्ट निस्कँदैन,’ बराल भन्छन्, ‘मेरा आफ्नै गुरु, मलाई माया गर्ने सूर्यबहादुर शाक्य भिसी थिए, उनले बोलाएरै किताबलाई लिएर दरबारमा उजुरी परेको छ, म केही गर्न सक्तिनँ, रिजल्ट निकाल्न सक्तिनँ भने।’ शाक्यले प्रधानमन्त्रीले लिखित क्लियरलेन्स ल्याएमा आफूले केही गर्न सक्ने बताएको उल्लेख गर्दै बराल भन्छन्, ‘गाउँफर्कको जगजगी भएको बेला तुलसी गिरीलाई हटाएर भर्खर कीर्तिनिधि विष्ट प्रधानमन्त्री बनाइएका थिए। म  प्रधानमन्त्रीकोमा जाने कुरा भएन, सामान्य चिनजान मात्र थियो।’ तर पञ्चायतभित्रकै राजनीतिले ढिलै भए पनि बरालको प्राध्यापक हुने बाटो खुल्यो। ‘सूर्यबहादुर शाक्यको भिसीको म्याद सकिन लागेको थियो, उनी अर्कोपटक जिम्मेवारी थपिन्छ भन्नेमा थिए, तर त्यस्तो भएन,’ बराल भन्छन्, ‘पद नथपिने निश्चित भएपछि शाक्यले भिसी पद समाप्त हुने अघिल्लो दिन आफ्नो अन्तिम निर्णयको रुपमा मेरो अन्तर्वार्ताको रिजल्ट निकालिदिए, यसबीच गृहमन्त्रालयले मेरो किताबको बारेमा विश्वविद्यालयलाई किताबमा त्यस्तो केही छैन भन्ने क्लियरलेन्स दिएको थियो। गृहको झिनो आधार र शाक्यको पद नथपिने निश्चित भएपछि मात्र म प्राध्यापक बन्न सकेँे।’ ३६ वर्षसम्म एमएलाई पढाएर राजीनामा गरे बरालले। विश्व विद्यालयमा ४ वर्षसम्म काम गर्ने अवसर हुँदाहुँदै अवकाश लिएका बराल भारतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्न पुगे।

लुकीलुकी कुखुरा
बरालको युवा अवस्थासम्म नेपाली समाज अहिलेको जस्तो थिएन। बाटोघाटो थिएनन्, टेलिफोन, बत्तीको प्रयोग काठमाडौंका सीमित स्थानमा मात्र थियो। रेडियो नेपाल, गोरखापत्र, चिठीपत्र प्रमुख सञ्चारको साधन थियो। काठमाडौंबाट इलाम वा झापा चिठीपत्र आदान–प्रदान हुन दुई महिना जति लाग्थ्यो। जरुरी परेको बेला आकाशवाणीबाट कुरा हुने व्यवस्था काठमाडौं र जिल्ला सदरमुकामहरूमा हुन्थ्यो। ‘अघिल्लै दिन भोलि यतिबेला आवामा कुरा हुने भनिन्थ्यो,’ बराल भन्छन्, ‘अघिल्लो दिनको सूचनाअनुसार आएका मानिससँग छोटकरीमा कुरा गर्ने चलन थियो, शब्द शब्दका आधारमा पैसा तिर्नुपर्ने भएकाले छोटकरी शब्द प्रयोग गरिन्थ्यो, जस्तो आवामा कु गरौँ भन्ने हुन्थ्यो, आवामा कुरा गरौँ भन्नुको साटो।’

तीन कक्षामा विराटनगर पढ्न आउँदाका दिन सम्झँदै बरालले भने, ‘त्यसबेला झापा भद्रपुर पारि गलगलिया गएर त्यहाँबाट रेल चढेर जोगवनी हुँदै विराटनगर आएको हुँ, अघिल्लो दिन बेलुका रेल चढ्यो, भोलिपल्ट कटियार, जोगवनी हुँदै विराटनगर आइपुग्दा बिहान ९, १० बजेको हुन्थ्यो।’  पीएचडी गरेर फर्किएपछि  २६, २७ सालमा पूर्व–पश्चिम राजमार्ग खुलेको जानकारी दिँदै बराल भन्छन्, ‘हिजो अस्तिको कुराजस्तो लाग्छ, विकासको कुनै खाका थिएन, यातायात, सडक कुनै पूर्वाधारहरू पछि बनेका हुन्।’

सामाजिक अवस्था आफ्नै खेतिपातीबाट वर्षभरिका लागि खानपिनको व्यवस्था गर्ने चलन थियो। भैसी गोठ, गाई गोठ राख्ने चलन थियो र खेतीपातीमा रमाउने अवस्था थियो त्यसबेला। जग्गा जमिन सस्तो हुन्थ्यो भन्दै बराल थप्दछन्, ‘हामीले झापाको दुवागढीमा २०२० सालमा सय रुपैयाँ बिघामा जमिन किनेका हौँ, अहिले चारआलितिरबाट गाउँ जाँदा त हाम्रो गाउँ नै होइन जस्तो लाग्दछ, जग्गाको मोल अचाल्ली बढेको छ।’ बरालले १ रुपैयाँ बिघामा किनेको जमिन दुई दशक अघि करिब ५० हजार बिघामा बिक्री गरेका थिए। ‘अहिले त बिघाको २०, २५ लाख पुग्यो होला’ बरालले भने, ‘अहिले बेच्नु छैन, त्यसैले थाहा छैन, बरु अहिले किनबेच बिघामा होइन, कठ्ठामा हुन्छ, खेत सबै घडेरी हुँदैछन्।’ सवारी साधनमा घोडा र बयलगाडाको चल्ली भएको त्यो समयमा झापाका बासिन्दाको मुख्य बजार नक्सलबारी, सिलुगढी हुन्थे। शिक्षाको आधार नै थिएन। स्कुलहरू थिएनन्। आठ सालदेखि स्कुलहरू धमाधम खुल्न थालेको बताउँदै बराल भन्छन्, ‘म कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका बाबु पर्शुराम शर्मा र हरिप्रसाद न्यौपाने पहिलो पुस्ताका पढ्ने मानिस हौं।’

सातसालको उज्यालो
सात सालको क्रान्तिलाई बाल्यकालमा विराटनगरमा अनुभव गर्न पाएका प्राध्यापक बराल सात सालले नेपालमा उज्यालो ल्याएको विश्लेषण गर्दछन्। ‘ सात सालको क्रान्तिपछि नेपाली समाज राणाकालीन अँध्यारोबाट उज्यालोमा, सामाजिक जागरण ह्वात्तै बढ्यो, एक किसिमको उत्साह थियो समाजमा’ बराल भन्छन्, ‘आन्दोलनहरू पनि भए, स्कुल, कलेज खुल्न थाले, शैैक्षिक वातावरण बन्न थाल्यो, परिवर्तनको जग हो सात साल। त्यो त आई ओपनर हो।’ संविधानसभाको कुरा, बहुदलीय व्यवस्था, उत्तरदायी सरकारजस्ता एजेण्डा सात सालमै उठेको विश्लेषण गर्दै बराल भन्छन्, ‘राजाको शासन भएकोले अहिलेको जस्तो लोकतन्त्र भनेजस्तै प्रजातन्त्र त्यसै बेला आएका हुन्। जात भातविरुद्धका कुरा त्यसैबेला हुन थालेका हुन्’ बराल भन्छन्, ‘पछिल्ला सबै खाले आन्दोलन र परिवर्तनको जग हो सात साल।’ त्यसै बेलादेखि अन्तर्जातीय विवाहहरू हुन थालेको बताउँदै बराल भन्छन्, ‘बाहुनहरू लुकीलुकी कुखुरा खान थालेका हुन् त्यसैबेला देखि।’ बरालको विश्लेषणमा सातसालको परिवर्तनपछि खानपिन, उठबस र जीवनशैलीमा आमूल परिवर्तनहरू आएको हो। ‘घरमा जनै लगाएर धोती फेरेर भान्सा गर्ने बाहुनहरू बाहिर होटलमा लुकीलुकी कुखुरा खाने, अण्डा खाने, रक्सी पनि खाने गर्न थाले, एक किसिमले सबै क्षेत्रमा परिवर्तन आयो सात साल पछि,’ बराल भन्छन्, ‘राजनीतिक परिवर्तनसँगै ठूलो स्केलमा सामाजिक परिवर्तन ग¥यो सात सालले।’ सात सालपछिका सबै खाले आन्दोलनहरू सात सालकै एजेण्डा र आधारमा भएको विश्लेषण गर्दै माओवादी ‘जनयुद्ध’  पछि समावेशी राजनीतिक वातावरण बनेको बताउँछन्। ‘ माओवादी त हिजो अस्तिको कुरा त हो नि, सुरु भएर पनि अवरुद्ध भएको राजनीतिक अध्यासको सुरुवात सात सालमा भएको हो, माओवादी आन्दोलनले समावेशीकरणतर्फ मोडियो।’ महिला, दलित, जनजातिका नाममा अहिले भैरहेको अभ्यासको श्रेय भने माओवादीलाई जाने बरालको धारणा छ।  प्रतिनिधिसभामा  १०, १२ जना महिला थिए, पहिलो संविधानसभा चुनावमा महिलाको सख्या १९७  पुग्नुको पछाडि  समावेशितामा नेपालको ठूलो फड्को मारेको बताउँछन् बराल।

सत्र सालको जगमा राजतन्त्रको पतन
सत्र साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र कु गर्दाको समयको प्रत्यक्षदर्शी हुन् बराल। ‘म र कुलमान गुरुङ इलामबाट तरुण दलको प्रतिनिधि भएर आएका थियौँ, बिपीलाई प्रक्रिएर हाम्रै अगाडि लगेको हो’ बराल भन्छन्, ‘म त्यसबेला बिए तेस्रो वर्षमा त्रि–चन्द्रमा पढ्थेँ, इलामको तरुण दलको प्रतिनिधि भएर तरुण दलको भेलामा गएको थिएँ, त्यहीँ सेनाले पक्रिएर बिपीलाई लगेको हो।’ म आठ कक्षाको विद्यार्थी हुँदादेखि बिपीसँग भेटेको हो, उहाँ इलाम आएको बेला। ‘त्यसबेला बिपीका अगाडि कोही पर्दैनथे, बोल्न डराउँथे’ बराल भन्छन्, ‘हामी २, ४ जना विद्यार्थी गएर भेट्यौँ, सामान्य कुराकानी भएको थियो।’

काठमाडौं आएपछि बारम्बार उहाँसँग भेट हुन थालेको बरालको कथन छ। ‘संगत पनि त्यस्तै थियो, सबै प्रजातन्त्रवादीसँग उठबस रह्यो, म कांग्रेसको भ्रातृ संगठनमा छात्र संगठनको सदस्य पनि भएको थिएँ। त्यसबेला स्वतन्त्र विद्यार्थी युनियन भन्ने थिएन, त्रिभुवन विश्वविद्यालय निर्माणको क्रममा थियो र त्रिचन्द्र कलेजमा कांग्रेस खेमा र कम्युनिस्ट खेमाबीच चुनाव भएको बराल बताउँछन्। ‘म  विद्यार्थीको चुनाव लडेको थिएँ, म चुनावमा हार्दा बिपीले बोलाएर तपार हार्नु भनेको म हारेको भन्नुभएको थियो, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो’ बराल भन्छन्, ‘२०१७ साल मंसिरको कुरा हो यो।’

बिपीलाई सत्ताच्यूत गराउने राजा महेन्द्रको कदमका कटु आलोचक बराल त्यसबेला समाजलाई आँखा देखाउने मिडिया कमजोर भएकोले सत्र सालको कु सम्भव भएको बताउँछन्। ‘गोरखा पत्र सरकारी भै हाल्यो सातामा २, ३ पटक निस्कन्थ्यो, अरु सञ्चार माध्यम निकै कम थिए, समीक्षा, समाज, हालखबर, अंग्रेजी मदर ल्यान्ड, कमनरजस्ता केही पत्रिका मात्र थिए,’ बराल भन्छन्, ‘बिपीले बिर्ता उन्मूलनलगायतका काम गरेका थिए, त्यसैले जमिनदारलगायतका सबै बिपीको विरुद्धमा लागेका थिए, राजालाई बिपी यसैगरी पपुलर हुँदै गए भने राजसंस्था नै जान्छ भन्ने भय भयो महेन्द्रलाई।’

राजनीतिशास्त्री बराल २०१७ सालको राजनीतिक घटना नै राजतन्त्र पतनको आधार भएको विश्लेषण गर्दै भन्छन्, ‘त्यसबेला राजाको कदलाई लिएर भएका खुसियाली र वाहवाही पनि भए, तर खासमा राजा र जनताबीच विभाजन गर्ने काम त्यही पुस १ को कदमले ग¥यो, त्यही कदमको राजनीति झाँगिँदै गएर २०६३ सालमा राजतन्त्र नै समाप्त भयो।’

सात सालको क्रान्तिको भावना सार्र्वभौमसत्ता जनतामा हुनुपर्दछ भन्ने भए पनि बिपीले सम्झौता गरेर २०१५ सालमा राजामा सार्वभौमसत्ता रहने कुरा स्वीकार गरेको बताउँदै बराल भन्छन्, ‘त्यत्ति गर्दा पनि राजालाई चित्त झेन, पावर चाहियो, पावरका लागि गरिएको हो सत्र सालको कदम र त्यही कदम अहिलेको अवस्थाको बिजारोपण हो।’

आइए पढेकाहरूले एमएको किताब लेखेपछि
३६ वर्षको अध्यापन, कूटनीतिक जिम्मेवारी, दर्जन बढी पुस्तकका रचयिता र थुप्रै पुस्तकहरूमा सम्पादकको भूमिका निर्वाह गरेका बराल नेपालको उच्च शिक्षा भने नराम्रोसँग गिरिरहेको बताउँछन्। आफ्नो पालामा सबै जसो नेपालीले एकै खाले स्कुल र एकै खाले शिक्षा प्राप्त गर्न सकेको भए पनि पछि आएर हुने खानेको शिक्षा र सामान्य सर्वसाधारणले फरक किसिमको शिक्षा प्राप्त गरेको बताउँछन्। ‘८० प्रतिशत सरकारी स्कुलमा पढेकाहरूले निजी स्कुलमा पढेका २० प्रतिशतसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ,’ बराल भन्छन्, ‘२० प्रतिशत हुने खानेकाहरू हाइफाइ अंग्रेजीले राज गरिरहेको र ८० प्रतिशत मारमा परेका छन्। शिक्षाले सामाजिक विषमता सृजना गरेको अनुभव सुनाउँदै शिक्षामा दलीयकरण भएर विश्वविद्यालय खत्तम हुँदै गएको विश्लेषण बरालको छ। विश्व विद्यालयमा पञ्चायत कालमा आफूजस्ता व्यवस्था विरोधीहरू बाँचेर आइ नसकेको भए पनि अहिलेको लोकतान्त्रिक व्यवस्थामा विश्वविद्यालय राजनीतिक दलदलमा फसेको बताउँदै बराल भन्छन्, ‘विश्व विद्यालयमा प्राध्यापकहरू अध्ययन, अध्यापन, रिसर्चमा केन्द्रित हुनुपर्ने हो तर हामीकहाँ त्यस्तो छैन, राजनीतिक कार्यकर्ता बनेका छन् प्राध्यापकहरू अनि शिक्षा कसरी राम्रो हुन्छ ?’ नेपालको शिक्षाको दुर्गतिको पछाडि २०२८ सालको नयाँ शिक्षा प्रमुख कारक रहेको उनी बताउँछन्। ‘नयाँ शिक्षा दरबारको पावरको भरमा राजा वीरेन्द्रको लहडमा ल्याइएको थियो, यहाँको वातावरणअनुसार, विस्तार–विस्तार शिक्षामा विकास हुनुपर्ने मान्यताभन्दाविपरीत लागू गरियो,’ बराल भन्छन्, ‘सेमेस्टर प्रणालीमा प्राध्यापक राम्रो हुनुपर्दछ, राम्रो पढाउनुपर्दछ, नम्बर आएन भनेर आन्दोलन गर्ने विद्यार्थीको दबाब झेल्नसक्ने हुनुपर्दछ, तर हामीकहाँ खै त्यस्तो वातावरण ?’

आफ्नो समयको शिक्षण पद्धति र अहिलेको अध्यापनमा भिन्नता रहेको उल्लेख गर्दै बराल भन्छन् ‘ हाम्रो पालामा राम्रा स्तरीय टेस्टबुक हुन्थे, जस्ता पायो त्यस्ता शिक्षक हुँदैनथे।’ नयाँ शिक्षादेखि  विश्वविद्यालयमा जथाभावि सुरु भएको बरालको अनुभव छ। ‘उदाहरणका रुपमा बागलुङमा आइएलाई पढाइरहेको शिक्षकलाई एमए पढाउने गरी ल्याइयो र जिम्मेवारी दिइयो जो अंग्रेजीका किताब पढ्न र पढाउन सक्तैनन्,’ बराल भन्छन्, ‘अहिले त आइए पढेकाहरूले एमएका लागि किताब लेख्छन्, त्यही किताब पढेर एमको जाँच दिन्छन् विद्यार्थी, अनि शिक्षाको स्तर कस्तो होला ?’ नेपालमा क्लालिटी अफ इजुकेसन भन्ने कुरा ध्वस्त भएको बताउँछन् बराल। नेपालको गिर्दो शिक्षाबारे राजनीतिक नेतामा चिन्तन आवश्यक भएको औल्याउँदै बराल टिप्पणी गर्छन्, ‘प्रधानमन्त्री केपी ओलीले गफ गरे जसरी विश्वविद्यालय सुध्रिने होइन, चिन्ता, चिन्तन गर्नुप¥यो ? कसरी शिक्षाको स्तरलाई उचो बनाउने भनेर।’

परिचय भनेकै प्राध्यापक
डेढ वर्ष भारतका लागि नेपाली राजदूतको भूमिका खेलेका बराल खासमा आफ्नो पहिचान कूटनीतिक भन्दा प्राध्यापन भएको दाबा गर्छन्।  ‘म त डेढ वर्ष राजदूत भएको हो, यहाँ कति छन् कति भूतपूर्व राजदूतहरू, कतिपय तास खेलेर दिन बिताइरहेका छन्, खास कुरा मेरो परिचय भनेको प्राध्यापक हो, त्यसैले मलाई मिडियाले पनि बेलाबेलामा खोजिरहन्छ, राजदूत भएर खोजेको होइन। नेपाल–भारत सम्बन्धलाई हल्का किसिमले नाराबाजीका रुपमा लिन नहुने सुझाव उनको छ। ‘ नेपाल–भारत सम्बन्ध गहिरो छ, जटिल छ, संवेदनशील छ यसलाई मसिनोसँग केलाउनुपर्छ, बुझ्नुपर्छ,’ बराल भन्छन्, ‘यस्तो सम्बन्धलाई उत्ताउलो भएर राष्ट्रवादी हुँ भनेर नाराबाजी गरेर भावनामा उर्लिएर हुँदैन। राष्ट्रवादी त म भन्दिनँ राष्ट्रवाद हो, राष्ट्रवाद बलियो हुन जनता बलियो हुनुप¥यो, त्यसका लागि विकास हुनुप¥यो, सिंगापुर ४५ लाख जनसंख्याको सहर एउटा राज्य छ र विश्वमा उसको एउटा बैग्लै स्टाटस छ, त्यो राष्ट्र बलियो हुनु भनेको, उसको स्टाटस कस्तो छ, हामी यति ठूलो भूगोल जनसंख्या भएर पनि निरीह जस्तै छौं।’ बरालको विश्लेषणमा नेपाल–भारत सम्बन्धबारे नाराबाजी धेरै भए काम भने भएनन्। ‘ भारतसँगको सम्बन्धकाबारे कुरा गर्दा सबैभन्दा पहिले आफू बलियो हुनुप¥यो आफ्नो स्टाटस प्रभावकारी बनाउनुप¥यो,’ बराल भन्छन्, ‘भारतसँग क्वाइट डिप्लोमेसीका आधारमा अगाडि बढ्नु पर्दछ, समन्वयात्मक किसिमले।’

कान्छा बाजेका सन्तान

बराल पारिवारिक मामलामा आफू सत प्रतिशत सन्तुष्ट रहेको बताउँछन्। आफूहरू परिवार, दाजुभाई सबै मिलेर बसोबास गर्दै आएको उल्लेख गर्दै गाउँसमाजमा पनि चर्चा हुने गरेको बताउँछन्। ‘हामी कान्छा बाजेका सन्तान, हामी सधँै मिलेर बसोबास गर्दै आएका छौँ,’ बराल भन्छन्, ‘थोरै जग्गाजमिन हुँदा पनि छोराछोरी लाई राम्रो शिक्षा दिक्षा दिएको र सबै सन्तानहरू मिलेर बसेको कुरा गाउँ समाजमा चर्चा हुन्थ्यो।’

दैनिक एउटा फल
दैनिक बिहान ५ बजे उठेर मर्निङ वाकमा निस्कने बराल एक सवा घण्टाको पैदलपछि घर फर्कन्छन् र प्राणायाम गर्दछन्। त्यसपछि नुहाएर पत्रपत्रिकाका पानाहरू पल्टाउँछ र नौ बजेतिर खाना खाई लुगा लगाएर अफिस आउँछन्। दिनभर लेखपढ, साथीभाइसँगको वार्तालाप उनको नियमितता हो। त्यस्तै साधारण खाना खाने बराल दैनिक एउटा सिजनल फल खान भने छोड्दैनन्। ‘मेरो नियम नै हो, दिनको  एउटा फल खाने,’ स्याउँका टुक्राहरू देखाउँदै बराल भन्दैथिए, ‘यो मेरो नियम हो। कहिले कुन कहिले कुन फल हुन्छ, आज स्याउ।’ बिहान, साँझपख दूध हालेको एक कप चिया उनको नियमितता छ। रातको खाना खाएर उनी १० बजे सुतिसक्छन्। बराल भन्छन्,  ‘राति ठ्याक्क १० बजे म सुत्छु, बिहान ५ बजे उठिसक्छु, म नियममा बसेको छु।’

अफिसमै बसेर उनी विभिन्न पत्रपत्रिकाका लागि लेखहरू लेख्छन्, अंग्रेजी, नेपाली दुवैमा उनका विचारहरू लामो समयदेखि नेपाली मिडियामार्फत प्रवाहित भैरहेका छन्। ‘मेरो जीवन खुसी छ र शारीरिक दिमाग ठिक छ, म जीवनसँग एकदम सन्तुष्ट छु।’

मातेर छाडेर छोडेको हो वियर र वाइन
साधारण नेपाली खाना माछा, मासु रुचाउने बरालको शब्दमा उनले चुरोट कहिल्यै खाएनन् जाँडरक्सी भने चाख्दै छोडेको उनी बताउँछन्। ‘जाँड खाएर मातिएर छादेपछि छोडेको हो, रक्सी पनि त्यस्तै भयो,’ बराल भन्छन्, ‘राजदूत हुँदा वाइन लिन्थँे, एक पटक २, ३ पेग खाएको थिएँ, भमिट भयो, त्यो पनि छोडिदिएँ।’

स्वतन्त्र लाइफ
नियतीले गंगालाई क्यान्सरले एक दशकअघि खाएको सम्झना मात्र उनीसँग छ। छोरी नीता मैनाली पनि क्यान्सरले दिवंगत भैसकेकी छन्। छोरा आदित्य र बुहारी चेतना बरालको निवास नजिकै आफ्नै घरमा बस्छन्। ‘म इनडिपेन्डेन्ट हुनुपर्दछ भन्ने मान्यताको मानिस, स्वतन्त्र जीवन मन पर्दछ ’ बराल भन्छन्, ‘छोरालाई उसको विवाह भएको ६ महिनामै तिमीहरू बेग्लै बस, एकै ठाउँमा बसोबास गर्दा भोलि ठाकठुक होला, तिमीहरू स्वतन्त्र हुन सक्तैनौं कि भनेर छुट्याइदिएको हुँ, छोराबुहारी नजिकै बस्छन्, बेलाबेला भेटघाट भैरहन्छ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad