८ वैशाख २०८१ शनिबार
समाज

सडक निर्माणमा किचलो

खोटाङ– विवादका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडक निर्माणको काम रोकिएको छ। स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको ३० लाख बजेटबाट निर्माण सुरु गरिएको सडक एक जग्गाधनीको अवरोधका कारण रोकिएको हो। स्थानीय जैमनी राईले बतासेमा रहेको आफ्नो खेत पुर्ने भन्दै अवरोध गरेकाले सडक निर्माणको काम बीचैमा रोकिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार विकले बताए।

अवरोधका कारण महिना दिनदेखि सडक निर्माणको काम ठप्प भएको छ। १०÷१२ दिनसम्म बिना काम राखिएको स्काभेटर निर्मणस्थलबाट फर्काइसकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ। सुरुमा ऐसेलुखर्कबाट सिम्ले मावि–बतासे हुँदै खोटाङ र सोलुखुम्बु जोड्ने मैखु पुलसम्मको अन्तर जिल्ला सडक निर्माण गर्नेगरी सर्भे गरिएको भए पनि सडक निर्माण थाल्नेबेला जलेश्वरीको देम्लीटार हुँदै सडक निर्माण गर्नेगरी काम थालिएपछि जग्गाको किचलो निस्किएको अध्यक्ष बिकले बताए। ‘पहिला देम्लीटार नछोइ सिम्ले खोलैखोला सडक बनाउन सर्भे गरेका थियौँ,’ विकले भने, ‘पछि देम्लीटारबासीको आग्रहमा देम्लीटारलाई छोएर सडक निर्माण गर्ने भनेर काम थाल्दा समस्या आएको हो। सडक भन्दा खेतमा ढुंगामाटो त झर्छन् नै।’

जग्गाधनी जैमनीले भने पहिलाको सर्भे गरिएको रुट परिवर्तन गर्दा समन्वय नगरी सडक खन्न सुरु गरिएकाले विरोध गरेको बताए। ‘माथिबाट सडक खन्दा वर्षमा तीन बाली पाक्ने खेत पुरिन्छ। सर्भे गर्नेक्रममा हामीलाई थाहा दिएन, न समन्वय नै गरियो,’ जैमनीले भने, ‘खेतको कुनाबाट खन्नु भन्दा मेरो कुरा सुनिएन। उल्टै बल प्रयोग गरेर सडक खन्न खोजिएको छ। जग्गा धनीलाई बेवस्ता गरिएको छ।’

ऐसेलुखर्कबाट सोलुखुम्बु जोड्ने अन्तरजिल्ला सडकका रुपमा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बिनियोजन गरेर जलेश्वरी–देम्लीटार सडक निर्माणको काम सुरु गरिएको हो। तर, २६ घर स्थानीयको बसोबास रहेको देम्लीटारलाई छोएर सडक खन्नेक्रममा विवाद निस्किएको हो।

गाउँपालिकाकै ४० लाखको खर्चमा ऐसेलुखर्कबाट टाउके पहरासम्म सडक विस्तार भइसकेको अवस्थामा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले सडकको थप कामलाई अघि बढाउन सुरु गरिएको थियो। विवादका कारण रकम नै फ्रिज हुने अवस्था सिर्जना भएको छ। हालसम्म करिब १०/११ लाखको मात्र काम भएको अनुमान गरिएको छ।

जग्गाधनीकै अवरोधका कारण सडकको बाँकी काम अघि बढ्न नसकेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए। ‘हामीले समन्वय गर्दा जग्गाधनीले खेतको कुनाबाट जग्गा दिन तयार भए तर त्यो बाटोबाट अरुले बाटो नखन्ने भए’ अध्यक्ष निरौलाले भने, ‘सुरक्षा दिनुस् हामी बाटो खन्छौँ भन्दा प्रशासनले सहमति गर्नुस् सुरक्षा दिन सकिन्न भनेको छ।’ सहमति नजुट्दा बजेट फ्रिज हुने खतरा बढ्दै गएको छ।

गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले भने सडक खन्दा खेतलाई असर गर्ने नदेखिएको बताइन्। ‘खोलै खोलाबाट सडक खन्नुभन्दा मानव वस्तीबाट सडक बनाऔं भनेर काम थाल्यौँ। काममा अवरोध गरेर निहु मात्र बनाइएको हो। खेतलाई अशर गर्दैन’ उपाध्यक्ष भुजेलले बताइन्, ‘एक जना जग्गा धनीलाई कसैले प्रयोग गर्न मात्र खोजेको हो। स्थलगत अध्ययनमा पुग्दा हामीलाई बोल्नै दिईन।’

प्रकाशित: १२ असार २०७६ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App