७ वैशाख २०८१ शुक्रबार
खेल

डेथ ओभरमा महत्त्वपूर्ण बलिङ

म्यानचेस्टर– भारतका लागि जसप्रीत बुमराह डेथ ओभरमा निकै महत्त्वपूर्ण बलरका रूपमा साबित हुने गर्दछन्।  उनको छवि गत अफगानिस्तानविरुद्धको खेलमा पनि प्रमाणित भएको थियो।

भारतले खराब ब्याटिङ गर्दै मध्यम लक्ष्य प्रस्तुत गर्दा उनकै बलिङको प्रेरणाबाट अफगानिस्तान जितनजिक पुगेर पनि हार्न बाध्य बन्यो। त्यसमा पनि निकै कठिन परिस्थितिमा पनि लगातार योर्कर फ्याक्ने क्षमता उनमा छ। जुन प्रदर्शन उनले अफगानिस्तानविरुद्धको ४९औं ओभरमा ५ रन मात्रै दिँदै प्रमाणित गरेका थिए।

उनको ओभरअगाडि खेल अफगानिस्तानको पक्षमा पकड हुँदा जितका लागि १२ बलमा २१ रनमा आवश्यक थियो। सन् २०१६ देखि भारतीय टोलीका महत्त्वपूर्ण बलर साबित हुँदै आएका बुमराह यस विश्वकपका चार खेलमध्ये पाकिस्तानविरुद्ध भने विकेटविहीन भए। पाकिस्तानसँग भने उनी महँगा साबित भए। बलियो टोली अस्ट्रेलियाविरुद्ध जित निकाल्न उनले निकै राम्रो प्रदर्शन गर्दै तीन विकेट लिए।

दक्षिण अफ्रिकाविरुद्ध पनि उनले दुई विकेट निकालेका थिए। चार इनिङमा बुमराह कुल ३८ ओभर बलिङ गर्दै ४.९६ को किफायती रनरेटमा छन्। यस क्रममा उनले ७ विकेट मात्र लिए पनि भारतको अपराजित यात्रा कायम राख्न महŒवपूर्ण जिम्मेवारी वहन गर्दै आइरहेका छन्। भारतले बिहीबार वेस्ट इन्डिजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। उक्त खेलमा पनि बुमराह जितका नायक बन्न सक्नेछन्।

पछिल्ला प्रदर्शन हेर्दा पनि उनी उत्कृष्ट फर्ममा रहेकाले बुमराहको लय निरन्तरतामा शंका उत्पन्न हुनेछैन। पछिल्ला ९ खेलको नतिजा हेर्ने हो भने उनले ९ खेलमा १४ विकेट लिएका छन्। एकदिवसीय क्रिकेटमा ५३ खेल खेलेका बुमराहले ९२ विकेट लिँदा ४.५४ को किफायती बलिङ गरेका छन्। बिहीबार उनै बुमराह वेस्ट इन्डिजका लागि निकै घातक बन्न सक्नेछन्। वेस्ट इन्डिजका ब्याट्सम्यान पनि उनीविरुद्ध निकै सजग भएर खेल्ने योजनामा हुनेछन्।

प्रकाशित: १२ असार २०७६ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App