coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जताततै पहिरो, जोखिममा स्थानीय

पाँचथरको याङ्वरक–२ मा गएको पहिरो। तस्बिरःनागरिक

पाँचथर– जिल्लाको उत्तरी याङ्वरक–२ का विभिन्न बस्तीमा पहिरो जाँदा स्थानीय विस्थापित भएका छन्। मंगलबार राति र बुधबार विभिन्न गाउँका ठाउँ–ठाउँमा पहिरो जाँदा कम्तीमा १७ परिवार जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। जोखिममा परेकामध्ये ७ परिवारका ४२ जनालाई अन्यत्र सारिएको छ। घरमा बस्नै नहुने अवस्था पुगेकाहरू सुरक्षित स्थानतर्फ गएको स्थानीयले बताए।

बाँकी दश घर पनि जोखिममा रहेका छन्। फेरि पहिरो गयो भने उनीहरू पनि विस्थापित हुने अवस्थामा रहेको बताइएको छ। नयाँ खनिएको सडक आसपासमा दर्जनौं ठाउँमा पहिरो गएको हो। मानवीय क्षति नभए पनि पहिरोले ठूलो क्षति पुगेको पाइएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।  सडक अवरुद्ध भएकाले उद्धार र राहत लैजान पनि समस्या भएको छ। 

यहाँका चिङ्बाका पहलमान राईको घर पहिरोले बगाएको छ। बाँकी घरहरू वरिपरि पहिरो बग्न थालेपछि स्थानीय विस्थापित भएका थिए। पहिरोले सयौंको संख्यामा पशु चौपाया बगाएको स्थानीयले बताएका छन्। चिङ्मा, धिमाले, बेतेनी, मुक्लाबुङ, खोलाघारीलगायतका ठाउँका ठाउँ–ठाउँमा पहिरो गएको स्थानीयले जानकारी दिएका छन्। चिङ्मामा बढी क्षति पुगेको बताइएको छ। घटनापछि च्याङथापु र फलंैचामा रहेको प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेका थिए। बाटो नभएपछि हिँड्दै पुगेको प्रहरी टोलीले जोखिमबाट सुरक्षित ठाउँमा स्थानीयलाई सार्ने र विवरण संकलन गर्ने काम गरिरहेको छ। ठाउँठाउँमा सानो ठूलो पहिरो गएकाले गाउँहरू पातला घर भएका बस्तीहरू जोखिममा परेको घटनास्थलमा खटिएका च्याङ्थापु प्रहरी चौकीका प्रमुख जीवन कार्कीले जानकारी दिए। भौगोलिक विकटता तथा फोन नलाग्दा घटनाको विवरण संकलनमा समस्या भएको छ।

पहिरोबाट सन्तोष बेघा, मिलन माङमो, दलबहादुर चौहान, लालबहादुर चौहान, पहलमान राई, जसबहादुर राई र राजेश राईको परिवार पूर्णरुपमा विस्थापित भएको प्रहरीले जानकारी दिएको छ। पहिरोले दर्जनौं गोठका पशु चौपाया बगाएको छ। सडक निर्माणस्थल आसपासमा बढी पहिरो गएको छ।

पहिरोले मेजर चिङ्मा लघुु जलविद्युत् आयोजनालाई बगाएको छ। २५ मेगावाटको आयोजनालाई पहिरोले बगाएको हो। स्थानीय डिल्ली ओलीका अनुसार रवि खोलामा रहेको दुई झोलुङ्गे पुलमा पनि पहिरोले क्षति पु¥याएको छ। यही खोलामा निर्माणाधीन झोलुङ्गे पुलको सामग्रीसमेत बगाएको छ।

विस्थापित भएका बासिन्दा सुरक्षित स्थानमा रहेको व्यक्तिको घरमा बसेका छन्। राहत सामग्रीसहित सदरमुकाम फिदिमबाट प्रहरी इक्सपेक्टर अनिल पौडेलले नेतृत्वका थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ लागेको छ। त्रिपाल, भाँडाकुँडा, चिउरा, चाउचाउ पठाइएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। बाटो र मौसमका कारण बिहीबार मात्र राहत पुग्ने छ। क्षतिको यकिन विवरण बिहीबार मात्र आउने वस्तीले जानकारी दिए।

प्रकाशित: १२ असार २०७६ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App