८ वैशाख २०८१ शनिबार
समाज

साप्सु खोलामा प्रिस्ट्रेस बिम पुल शिलान्यास

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुल शिलान्यास गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्ले र दिप्रुङ चुइचुम्मा–१ याम्खाको बीचमा रहेको साप्सु खोलाको बाटोफेदीमा निर्माण गर्न लागिएको प्रिस्ट्रेस बिम पुल बुधबार शिलान्यास गरिएको हो।

स्थानीयवासी, निर्माण व्यवसायी तथा प्राविधिक सहयोग गरिरहेको स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) का प्रतिनिधिलगायतको उपस्थितिमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले साप्सु खोलामा पुल शिलान्यास गरेका हुन्। दिप्रुङ चुईचुम्मा–१ याम्खादेखि खानीडाँडा जोड्ने सडकखण्डमा पर्ने पुल २०७८ साल जेठ १७ गते सम्पन्न गर्नेगरी सूर्य एन्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको हो। ४० मिटरको सो पुल निर्माणका लागि २०७६ साल जेठ १७ गते सम्झौता भएको थियो। दिक्तेलबाट खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने पुल मूल्य अभिवृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालिका साइड इन्चार्ज हरिप्रसाद बरालले बताए।

उनले निर्धारित समयमा पुल तयार पारेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। प्रिस्ट्रेस बिम पुल बिममा तार घुसाई तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो। ‘हामीले विभिन्न ठाउँमा यस्ता पुल बनाएका छौं। अहिलेसम्म निर्धारित समयमै बनाएको रेकर्ड छ,’ निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले भने, ‘यो नयाँ प्रविधिको पुल हो। गुणस्तरमा पनि तलमाथि हुँदैन।’

विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको हो। पुल शिलान्यासकैक्रममा सार्वजनिक सुनुवाइ पनि गरिएको छ।

प्रकाशित: १२ असार २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App