coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चाडपर्वमा कलाकारलाई सुटिङकै चटारो

कलाकार निता ढुंगाना

काठमाडौं–  तीज होस् वा दसैं वा तिहार । फिल्मी कलाकारलाई भने चाडपर्वमा पनि सुटिङकै चटारो छ । नायिका रेखा थापा नयाँ फिल्म ‘डायरी’को सुटिङमा यतिखेर बारा जिल्लाको सिमरामा व्यस्त छिन् । ‘मेरो फरक अवतार छ डायरीमा,’ रेखाले नागरिकसँग भनिन्, ‘फरक अवतारले पनि नारीकै कथा बोल्छ ।’

सामान्यतया नेपाली फिल्म नायकप्रधान नै हुन्छन् । तर रेखाले ‘काली’, ‘हिम्मतवाली’, ‘रामप्यारी’, ‘रावण’लगायत फिल्मबाट नायिकाप्रधान फिल्म निर्माण गरिन् । ‘हिरो डन बनेको फिल्म त दर्शकले धेरै हेरे तर हिरोइनले पनि त्यस्ता भूमिका गर्न सक्छन् भनेर मैले डायरीबाट देखाएकी छु’, रेखा भन्छिन्, ‘अन्याय भएपछि नारी पनि हातमा हतियार उचाल्न पछि पर्दैनन् ।’
माया, प्रेम, धोका र सामाजिक विकृतिको वरिपरि डायरी घुमेको छ । नायिका छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म डायरीमा नयाँ नायक हनि सिंह छन् । ‘क्लासिक’ र ‘नोभेम्बर रेन’ फिल्मका कथा लेखेका छितेन गुरुङले पटकथा सम्हालेका छन् ।

‘छक्का पञ्जा’की हिट नायिका प्रियंका कार्की पाल्पामा ‘राधे’को सुटिङपछि अर्को फिल्म सुटिङको तयारी गर्दै छिन् । निखिल उप्रेती नायक रहेको ‘राधे’मा एउटी गाउँले नारी चरित्र प्रियंकाले निर्वाह गरेकी छन् । अरु फिल्ममा हट देखिने प्रियंकाको गाउँले रुप ‘राधे’मा देख्न पाइनेछ । दसैंअघि ‘राधे’को सुटिङ सकेर उनी मिलन चाम्सको ‘ह्याप्पी डेज’को सुटिङका लागि लन्डन गइन् । ‘दसैं तिहार त मेरो सुटिङमै बित्दैछ,’ प्रियंकाले भनिन्, ‘कलाकारका लागि यो व्यस्तता नै धन हो ।’

सबैभन्दा व्यस्त नायक दयाहाङ राई र नायिका केकी अधिकारी ‘घामपानी’को सुटिङमा पूर्वी पहाड सिन्धुलीमा छन् । तामाङ केटाले बाहुनी केटी ल्याउँदा हुने जातीय समस्याको कथाले दर्शकको मन जित्ने हो होइन थाहा पाउन सिनेमा नै हेर्नुपर्ने हुन्छ । फिल्म समीक्षक दिपेन्द्र लामाको डेब्यू निर्देशन भएकाले उनका लागि पनि यो फिल्म महत्वपूर्ण छ । राईले यसपछि ‘ह्याप्पी डेज’मा प्रियंकासँग अभिनय गर्दैछन् । यसअघि उनको ‘झुम्की’ प्रदर्शन भएको थियो ।

नायिका निता ढुंगाना बागलुङमा ‘पञ्चायत’ फिल्मको सुटिङमा रमाइरहेकी छन् । अभिनय राम्रो भए पनि हलमा त्यति चल्न नसकेकी नीता ‘पञ्चायत’बाट भने निकै आशावादी छन् । पञ्चायतकालीन अवस्थाको चित्रण गरिएको फिल्ममा सरोज खनाल र रुपा रानाको पनि अभिनय छ । कथाले मागेको सिन दिनकै लागि बागलुङमा सुटिङ भैरहेको निर्माता रवि अधिकारीले बताए । चितवनबाटै फिल्म क्षेत्रमा उदाएका निर्माता भगवानदास श्रेष्ठले ‘कान्छी’, ‘मायाप्रिती’लगायत फिल्म निर्माण गरे । त्यहीँबाट निर्माणमा लागेका अधिकारी राम्रो फिल्म बनाए दर्शकको मन जित्न सकिने सुनाउँछन् ।

सुपरहिट फिल्म ‘छक्का पञ्जा’की निर्देशक दिपाश्री निरौला भने तिहारपछि नयाँ फिल्मको योजनामा जुट्दैछन् । ‘अब झन् बढी जिम्मेवारी थपिएको छ,’ उनले भनिन्, ‘राम्रो कथा लिएर फेरि आउने छु ।’

प्रकाशित: १५ कार्तिक २०७३ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App