coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजकुलो मासेर ‘प्लटिङ’

बनेपा - जग्गा ‘प्लटिङ’ गरेर बेच्न पल्केकाहरूले पुस्तौंदेखि सिँचाइमा प्रयोग हुँदै आएको पनौती नगरपालिका–५ चौकोट (साबिक सुब्बागाउँ गाविस ५ र ६ को सिमाना) राजकुलोलाई समेत अनियमिततापूर्वक प्लटिङमा घुसाएको खुलासा भएको छ । सो वडाका किसानले सात फिट चौडाइको राजकुलोबाट पुस्तौंदेखि सिँचाइ गर्दै आएका थिए । जग्गा प्लटिङ गर्नेहरूको बदनियत देखेर वडा कार्यालयमा निवेदन दर्ता गराएपछि त्यसबारे खुलासा भएको हो ।

‘साबिकदेखि सिँचाइ सुविधा उपयोग गर्दै आउनुभएका १४ जना वडावासीको निवेदनपछि स्थलगत सर्जमिनका क्रममा राजकुलो नै मासेर प्लटिङ भएको प्रमाणित भयो । सो अवैध कार्य रोक्का राखिदिन नगरपालिकालाई अनुरोध गरेका छौं,’ पनौती–५ का वडाध्यक्ष श्रीधर पाध्या कुँइकेलले भने । जग्गा कारोबारी तारानाथ ढकाललगायतको समूहले साबिक सुब्बागाउँ–५ र ६ मा स्थानीय निर्वाचनताका नै जग्गा प्लटिङ गर्न थालेका वडाध्यक्ष कुँइकेलको भनाइ छ । ‘उनीहरूलाई प्लटिङका क्रममा कुलो र बाटो नमिच्नू है भनेको थिएँ,’ उनले भने, ‘उनीहरूले २० फुटे बाटो बनाउँछौं, कुलो पनि कायमै राख्छौं भनेका थिए ।’ यतिखेर राजकुलो नै समाप्त पारेको देख्दा कन्पारो तातेको उनले बताए । साबिकको छाला कारखानाको जग्गा किन्ने मारवाडी समुदायले समेत राजकुलोलाई छलेर पुण्यमाता खोलाबाट जग्गा बचाउन तारजाली पर्खाल लगाएको कँुइकेलले जानकारी दिए । ‘साबिकको वडा छुट्ट्याउने र जग्गाको फिल्डबुकमै समेत राजकुलो उल्लेख भएको जग्गामा अवैधानिक काम भएकाले सबै कित्ता जग्गासमेत रोक्का राख्न अनुरोध गरेका छौं,’ उनले भने ।

जग्गा कारोबारीहरूले राजकुलो घुसाएर २१ वटा कित्तामा प्लटिङ गरिसकेको नापी कार्यालयले जनाएको छ ।

जग्गा कारोबारीहरूले राजकुलो घुसाएर २१ वटा कित्तामा प्लटिङ गरिसकेको नापी कार्यालयबाट जानकारी प्राप्त भएको उनले बताए । ‘केही कित्ता जग्गा बिक्री पनि भइसकेको रहेछ । ती बिक्री भएका कित्ता र बाँकी सबै कित्ता जग्गा रोक्का राखिदिन नगरपालिकामार्फत मालपोत कार्यालयलाई अनुरोध गरिएको छ,’ उनले भने । जग्गा कारोबारीहरूलाई राजकुलो नमासीकनै ‘प्लटिङ’ गरिदिन पटक–पटक आग्रह गर्दा समेत अटेर गरेपछि वडा कार्यालय नै गुहार्नुपरेको स्थानीय हरि सुवालको भनाइ छ । ‘बाजेबराजुका पालादेखि सिँचाइमा प्रयोग भइरहेको राजकुलो मासेर प्लटिङ गरिएकोमा पटकपटक आपत्ति जनाउँदा पनि अटेर गर्दै आएका थिए,’ उनले भने । वडावासी ४५ जनाको उपस्थितिमा सर्जमिनका क्रममा सार्वजनिक जग्गा अतिक्रमण गरी बिक्री गर्ने गिरोहलाई कडा कारबाही हुनुपर्ने माग उठेको कुइँकेलले जानकारी दिए । ‘साबिकको कित्ता नं. १, २, ४ र १३ भित्र बाटो जनाइएको, राजकुलो र वडा सिमाना राखिएको छ । सोही आधारमा पनि उक्त प्लटिङमा सार्वजनिक जग्गा रहेको देखिन्छ,’ उनले भने, ‘ती कित्ता नम्बरका जग्गा कुनै हालतमा व्यक्तिका नाममा हुनुहुँदैन भन्ने स्थानीयको आवाज छ ।’

स्थानीयको उजुरीका आधारमा राजकुलो र सार्वजनिक जग्गा मिच्नेहरूलाई कुनै हालतमा कारबाही गरेरै छाड्ने अडान वडाध्यक्ष कुइँकेलले लिएपछि जग्गा कारोबारीहरू यतिखेर तिल्मिलाएका छन् । ‘नगरपालिकाले जग्गा रोक्का राखेपछि प्लटिङवालाहरूले तीन फिटको बाटो छाडिदिने बताएका छन्,’ उनले भने, ‘कतै उजुरी नगर्न र कसैले सोध्यो भने मिलिसक्यो भनिदिनुहोला भन्दै आइरहेका छन् ।’ मालपोत कार्यालय काभ्रेले पनि नगरपालिकाकै पत्रका आधारमा उक्त प्लटिङमा पर्ने सबै २१ कित्ता जग्गा रोक्का गरिदिएको छ । ‘हामीले सबै कित्ता जग्गा रोक्का राखेका छौं,’ मालपोत कार्यालय काभ्रेका सूचना अधिकारी एवं मालपोत अधिकृत जयन्त भट्टराईले भने, ‘यस सम्बन्धमा नगरपालिकाले पनि छानबिन गर्दै छ, हामी पनि सहयोग गर्दै छौं ।’ यसअघि पनि जग्गा कारोबारीहरूको अर्को समूहले धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा पिच सडक नै बिक्री गरेको घटनाको मालपोत कार्यालयले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: १२ असार २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App