८ वैशाख २०८१ शनिबार
समाज

‘बोक्सी भगाउने’ निहुँमा यातना

काठमाडौं - सिंहदरबारभन्दा केही सय मिटर नजिक र नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण हुँदा पनि प्रशासन मौन छ । आफूलाई धर्तीमाताका रुपमा चिनाउने विष्णु कुँवरले सार्वजनिक स्थलमै एक युवतीमाथि बर्बरतापूर्ण यातना दिएकी छिन् । बुटवलबाट काठमाडौं आएकी कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ ।

कुँवरले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको उक्त भिडियोमा देख्न सकिन्छ । प्रत्यक्षदर्शी मन्दिरकी पुजारी रबिना देउलाका अनुसार ‘धर्तीमाता’ कुँवर असार ५ गते ठूलो संख्यामा भक्तजन र अन्य माता लिएर भद्रकाली मन्दिरको दर्शन गर्न आएकी थिइन् । ११ बजेतिर मन्दिरमा प्रवेश गरेकी उनले डेढ घण्टा त्यहीं बिताएकी थिइन् । मानिसको भिडले घेरेकाले उनलाई प्रहरीले सुरक्षासमेत दिएको थियो । कुँवरले आफू बुटवलबाट काठमाडौंका मठमन्दिर दर्शन गर्न आएको र बीस÷बाईस दिन यतै रहने बताएको पुजारी देउलाको भनाइ छ । उनले आफूले पनि माताले एक महिलाको टाउकोमा हातले हिर्काएको भन्ने सुनेको तर के कारणले हो भन्ने जानकारी नभएको बताइन् ।

आफूलाई धर्तीमाताका रुपमा चिनाउने विष्णु कुँवरले सार्वजनिक स्थलमै एक युवतीमाथि बर्बरतापूर्ण यातना दिएकी छिन् ।

भिडियोमा कुँवरको पिटाइको पीडाले ती युवती ‘आइया, आइया, आमा, आमा’ भनेर चिच्चाएको सुनिन्छ । ‘निस्की निस्की, यस्तो गरिस्’ भन्दै चरम यातना दिइरहेको देखिन्छ । ‘कहाँ जाने, छोपिसकेछु मैले, कहाँ जाने हो मैले, चिन् । तेरो मासु खाम्ला, तँ को हो ? मैले देखेसी एकएक चिन्छु, बुझिस्’, कुँवरले उनलाई शारीरिक यातना दिँदै यसो भनेको भिडियोमा सुनिन्छ ।

‘लाने हो भने यत्रो भक्तको अगाडि लैजा ।’ यति भनेपछि कुँवरले ‘त को होस्’ भन्दै युवतीको गालामा थप्पड हान्छिन् । ‘खाने भए यत्रो भक्तको अगाडि खा’ भन्दै थप्पड हानेपछि युवती पीडाले कामेको भिडियोमा देखिन्छ । ‘तँ को होस्, तेरो छाला काडुँला, फेरि भन्छन् नि ‘बाघको छाला काडी डम्फु बजाइदिने’, यातना दिँदै कुँवरले टुक्का हाल्छिन् । कुँवरको पिटाइको असह्य पीडाबाट छटपटाइरहेकी युवतीले आफू १२ मा पढ्ने र बाइस वर्ष भएको भन्दै चिच्चाएको सुनिन्छ । ती पीडित युवती को हुन भनेर खुल्न सकेको छैन । पीडित युवतीको विषयमा पनि खोजी भइरहेको र कुँवरको सम्पर्कमा पुगेपछि मात्र भन्न सकिने प्रहरीको भनाइ छ ।

कानुनले सार्वजनिक स्थलमा हातपात गर्नुलाई अपराध मानेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ । सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ । उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ ।

भिडियोमा बोक्सी भगाउने बहानामा महिलामाथि हातपात गर्दै गरेकी मातालाई प्रहरीका दुई जवानले सुरक्षाका लागि पहरा दिइरहेको देखिन्छ । युवतीमाथि हातपात हुँदा उनको साथमा प्रहरी अधिकारीहरु पनि देखिएकाले सामाजिक सञ्जालमा प्रहरीको व्यापक आलोचनासमेत भएको छ । मातालाई सुरक्षा दिइरहेका प्रहरीमध्ये एकजना सिंहदरबार वृत्तमा कार्यरत जवान कृष्ण विक रहेको खुल्न आएको छ । उनले माताको उपस्थितिले मन्दिर परिसरमा भिडभाड रहेकाले आफू त्यो भिड हटाउन मात्र गएको बताए । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) होबिन्द्र बोगटीले भद्रकाली मन्दिरजस्तो सार्वजनिक स्थलमा भएको कुटपिटको घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको बताए ।

‘थप अनुसन्धान र खोजबिन गरेर प्रक्रिया अघि बढाइनेछ,’ उनले भने । भद्रकाली मन्दिर सिंहदरबार वृत्तको कार्यक्षेत्रमा पर्ने भएकाले त्यहाँबाट खटिएका प्रहरी जवान विक भिडभाड नियन्त्रण गर्न गएको पाइएको बोगटीले बताए । उनले काठमाडौं प्रहरीले कुँवरको व्यक्तिगत सुरक्षाका लागि कुनै पनि सुरक्षाकर्मी नखटाएको स्पष्ट पारे । कुँवरको सुरक्षाका लागि एक प्रहरी महिला हबलदार रहेको सुन्नमा आएको बताउँदै डिएसपी बोगटीले उनलाई बुटवलबाट खटाएको हो या अन्यत्रबाट भन्ने खुल्न नसकेको सुनाए । यस विषयमा बुटवल प्रहरीलाई सम्पर्क गर्दा समेत पत्ता नलागेको उनको भनाइ छ । यसको यथार्थ पत्ता लगाउन महानगरीय प्रहरी परिसर निरन्तर प्रयासमा रहेको बोगटीले जनाए । कुँवरको विषयमा नागरिकले खोजी गरेपछि डिएसपी बोगटी बुधबार सिंहदरबार परिसरमा गएर विस्तृत रुपमा जानकारी लिएका थिए । नागरिकले उक्त घटना हुँदा प्रहरी कृष्ण विक र प्रहरी हबलदार बी खड्का माताको साथमा रहेको जानकारी दिएपछि आफूले प्रहरी जवानलाई समेत भेटेर घटनाको विषयमा यथार्थ बुझेको बोगटीले बताए । बोगटीका अनुसार माताको मात्र नभइ प्रहरीले पीडित युवतीको विषयमा पनि बुझ्ने काम गरिरहेको छ ।

महानगरीय प्रहरी सिंहदरबार वृत्तका प्रमुख प्रहरी नायब निरीक्षक (डिएसपी) कौशलकुमार बुढाथोकीले माताको भिडियो आफूले पनि हेरेको र त्यस विषयमा बुझ्ने काम भइरहेको बताए । त्यसको यथार्थ के हो भन्ने विषयमा जानकारी लिने काम भइरहेकाले विस्तृत रुपमा बुझेर थप प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारे । गलत नै रहेको तथ्य फेला प¥यो भने प्रहरीले माता भनेर उनलाई उन्मुक्ति नदिने डिएसपी बुढाथोकीको भनाइ छ । बुटवल प्रहरीका अनुसार कुँबर बुटवलको कालिकानगर लखनपथमा बस्ने गर्छिन् । कुँवरले त्यहा माताको मण्डप नै तयार पारेको र उनलाई भेट्न÷देखाउन देशका विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । अहिले काठमाडौंमै रहेकी कुँवर नागरिकले सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहिनन् । उनले बोक्दै आएका तीनवटा मोबाइल नम्बरमा बारम्बार सम्पर्कका लागि प्रयास गर्दा सम्पर्क स्थापित हुन सकेन ।

प्रकाशित: १२ असार २०७६ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App